व्यास गाउँपालिका वडा नम्बर २ थी बाट दार्चुला आउने क्रममा एक बालकको ढुंगा लागेर मृत्यु भएको छ। भारतले सडक निर्माण गरिरहेको वेला ढुंगा उछिट्टिएर नेपालतिरको बाटोमा हिँडिरहेका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको हो।
महाकाली नदीवारि हिँड्दै सदरमुकाम खलंगा आउने क्रममा ती बालकको ढुंगा लागेर मृत्यु भएको व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिए। थी भन्ने ठाउँबाट दुम्लिङतर्फ आफ्ना बुवा र बहिनीसँगै आइरहेका पवनको सीमापारि भारतबाट आएको ढुंगा लागेर घटनास्थलमै मृत्यु भएको हो।
भारत पिथौरागढ जिल्लाको धार्चुलाअन्तर्गत तवाघाट–लिपुलेक सडकखण्डको लखिमपुरको चट्टानी भू–भागमा सडक निर्माण गरिरहेको गर्ग एन्ड गर्ग निर्माण कम्पनीले सीमा क्षेत्रमा कुनै पूर्वसूचना नदिई विस्फाेट गराउँदा उक्त घटना भएको अध्यक्ष धामीले बताए। उनले भने,‘निर्माण कम्पनीको चरम लापर्बाहीका कारण बालकको ज्यान गएको हो। यसको क्षतिपूर्ति कम्पनीले दिनुपर्छ।’
दुम्लिङदेखि माथिल्लो क्षेत्रमा भारतीय पक्षले निर्माणको क्रममा विगतदेखि नेपालतर्फको सीमा क्षेत्रमा नोक्सान पुर्याउँदै आएको छ। अहिले घटनास्थलमा दुम्लिङबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। घटनाबारे थप अनुसन्धानको लागि जिल्लाबाट समेत टोली परिचालन गरिएको छ।