मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ११ शुक्रबार
  • Wednesday, 18 December, 2024
भक्तपुरको पोएट्री स्क्वायरमा तिहार, छठलगायतका पर्वका लागि तयार पार्दै गरेको माटोका भाँडा । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
२o७९ कार्तिक ११ शुक्रबार o६:३३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

माटोका भाँडाको माग बढ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ११ शुक्रबार o६:३३:oo

छठ पर्व नजिकिएकाले माटोका भाँडाको माग बढेको छ । यहाँको उत्पादनसँगै केही भारतीयसमेत नेपाली बजारमा छठका लागि विभिन्न सामग्रीको बिक्री बढेको छ ।

सीमावर्ती बजारमा भारतीय माटाका भाँडा र भित्री बजारमा स्थानीय उत्पादन भएका माटोको भाँडाको कारोबार बढेको हो । धनुषाको जनकपुरधामसहित महेन्द्रनगर सखुवा, ढल्केबर, वटेश्वर, धारापानी, वीरेन्द्रबजार, सबैला, सहिदनगरको मुख्य चोक र हटियामा अहिले साप्ताहिक हटियाको दिन मात्र नभई दिनहुँजसो माटाका भाँडा बिक्री हुँदै आएका छन् ।

सांस्कृतिक पर्वमा प्रायजसो भाँडा माटाकै प्रयोग गरिने प्रचलनले यस्ता पर्व नजिकिएसँगै माटाका भाँडा बनाउने कुमालेको व्यस्तता निकै बढेको छ । तराई क्षेत्रमा माटाका नयाँ भाँडा कार्य गर्न उत्तम हुने धार्मिक, सामाजिक मान्यताले चाड पर्वमा यसको माग ह्वात्तै बढ्ने गरेको यहाँका उद्यमी, व्यापारी र सर्वसाधारण बताउँछन् ।

विभिन्न स्थान र सीमावर्ती बजारमा छठका लागि माटोका दियो, चौमुखे दीप, पाला, माटोको हात्ती, ढकनालगायतका भाँडाको बिक्री बढेको क्षीरेश्वरनाथ नगरपालिका– ४ हरैयाका विष्णुलाल पण्डितले बताए ।

नेपाली बजारमा हिन्दू धर्मावलम्बीको दसैँ, तिहार, छठलगायतका चाडपर्वमा कलश, गमला, दियो, कोहालगायतका माटोका भाँडा बढी बिक्री–वितरण हुने गरेकामा सबैभन्दा बढी तिहारमा माटोको दियो र छठमा विभिन्न कलात्मक भाँडा बिक्री हुने गरेको क्षीरेश्वरनाथ नगरपालिका– ६ सखुवाका कमल पण्डितले बताए ।

यहाँका पण्डित कुम्भकार (कुमहार)ले यो समयलाई आफ्नो पर्वभरिको आम्दानी गर्ने सिजनका रूपमा समेत लिने गरेका छन् । नेपाली कुम्भकार कम भएको र केहीले पेसा नै छाडेकाले नेपाली बजारमा माटोको भाँडासमेत भारतीय बजारको भर पर्नुपरेको छ । अर्कोतर्फ प्लास्टिक र अन्य धातुका भाँडाको प्रयोग बढेपछि गुजाराको पेसा नै  खुम्चिएको उनीहरूको गुनासो छ । 

अहिले छठका लागि माटोको भाँडोको एक सेट लिन दुईदेखि तीन सय रुपैयाँ तिर्नुपर्ने कुमाल समुदाय जनकपुरधामका कन्हैया पण्डितले जानकारी दिए । उता, केही नेपाली कुमालले पुर्ख्याैली पेसा छाडेका कारण भारतीय उत्पादनले नेपाली बजार लिएको दाबी गर्छन् भने केही कुमालले माटोका भाँडा बिक्रीका लागि तिहार र छठ तथा चौरचन्द नै पर्खनुपर्ने भएकाले संकटमा परेको बताउँछन् ।

धनुषासहित यहाँका अधिकांश पण्डित कुमालले भाँडा बनाउने माटो र मिहिनेतअनुसारको आम्दानी नहुँदा नेपाली कुमाल आफ्नो पुर्ख्याैली पेसाबाट विमुख भएको बताउँछन् । पुस्तौँदेखि गर्दै आएको काम आधुनिकताले संकटमा परेपछि नेपाली कुमाल अहिले जीविकोपार्जन गर्न अन्य पेसा गर्न थालेपछि भारतीय सीमावर्ती बजारका कुमालले माटोका भाँडा नेपाली बजारमा बेच्ने गरेका छन् । रासस