नेपाली हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहारमा तीन दिनको अवधिमा धरानमा दुई करोडको फूलको कारोबार भएको छ।
लक्ष्मी पूजादेखि भाइटीकाको अघिल्लो दिनसम्म धरान– १३ स्थित कृषि उपज बजारबाट दुई करोडबराबरको फूल तथा तयारी मालाको कारोबार भएको हो।
कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार नेपालको सयपत्री फूल गत वर्षभन्दा महँगो भएकाले भारतबाट आएको फूलको माला छिट्टै धेरै संख्यामा बिक्री भएको छ।
लक्ष्मी पूजाको दिन मात्र एक करोडको कारोबार भएको थियो। १५ दिनअघि नै भारतको कोलकाताबाट दुई लाख तयारी माला ल्याइएकाे थियाे। नेपाली फूलका करिब दुई लाख माला बिक्री भएको व्यवस्थापक भट्टराईले जानकारी दिए।
भारतीय डेढ लाख माला ५० रुपैयाँको दरले बिक्री भएको छ भने नेपाली फूलको माला औसत एक सय रुपैयाँ परेको उनले बताए। भारतीय फूलका माला सस्तो भएका कारण नेपाली फूल व्यवसायीलाई असर परेको फूल व्यवसायी भक्त राईले बताए।
‘यसपालि स्थानीय उत्पादन कम भयो। त्यहीँ भएर भारतीय फूलको कारोबार बढ्यो। तर, गत वर्षको तुलनामा मूल्य वृद्धिसँगै कारोबार पनि बढेको छ,’ व्यवस्थापक भट्टराईले भने।
उनका अनुसार गत वर्ष एक करोड १५ लाखको फूलको कारोबार भएको थियो। भारतीय फूल न्यून आएको थियो। तर, यसपटक फूलको कारोबार पनि बढेको छ। भारतबाट पनि धेरै फूल भित्रिएको उनको भनाइ छ। बुधबार साँझसम्म बजारमा फूलको कारोबार हुँदा बिक्री संख्या अझै बढ्ने उनले बताए।
तिहारमा सयपत्री फूलको प्रयोग धेरै हुन्छ । खासगरी लक्ष्मी पूजाको दिन घरलाई सजाउन र भाइटीकामा दिदीबहिनीहरूले माइती दाजुभाइलाई सयपत्री फूलको माला लगाइदिने चलन छ।