बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन् । उनी पहिलो भारतीय मूलका प्रधानमन्त्री हुन् ।
यसअघि प्रधानमन्त्रीको दौरमा कन्जरभेटिभकी लिज ट्रससँग पराजित भएपछि उनी प्रधानमन्त्रीको दौडबाट बाहिरिएका थिए । ट्रस पछि प्रधानमन्त्रीमा नियुक्त भइन् । तर, ४५ दिनमै उनले राजीनामा दिएपछि सुनकको बाटो खुलेको हो ।
सुनक पूर्वीअफ्रिकाबाट बेलायतमा बसाइँ सरेका भारतीय मूलका आमाबाबुका सन्तान हुन् । उनी हिन्दू धर्मावलम्बी हुन् । अक्सफोर्ड र स्ट्यानफोर्ड विश्वविद्यालयका पूर्वछात्र सुनकले इन्फोसिसको संस्थापक प्रख्यात अर्बपति व्यापारी नारायण मूर्तिकी छोरी अक्षता मूर्तिसँग विवाह गरेका छन् ।
ट्रस बेलाइतको इतिहासमा सबैभन्दा कम समय सेवा गर्ने प्रधानमन्त्री बनिन् । उनले ल्याएको नयाँ आर्थिक नीतिको चौतर्फी विरोध भएपछि उनले अर्थमन्त्रीलाई बर्खास्त गरेकी थिइन् । तर, त्यसपछि पनि आलोचना नरोकिएपछि उनले राजीनामा दिएकी हुन् ।
ट्रसले गत बिहीबार राजीनामा दिएपछि ऋषि सुनक र पूर्वप्रधानमन्त्री बोरिस जोन्सन नयाँ प्रधानमन्त्रीको दौडमा थिए । तर, बोरिस जोन्सनले आफूलाई आवश्यक समर्थन रहेको दाबी गरे पनि पछि कन्जरभेटिभ पार्टीको नेतृत्व दौडबाट उनी बाहिरिएका थिए ।