कांग्रेस चितवनका सबै कार्यक्रम स्थगित
‘दानकी देवी’को उपमा पाएकी पूर्वसांसद मैयादेवी श्रेष्ठको ९५ वर्षको उमेरमा निधन भएको छ । उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा गएराति १:१० बजे निधन भएको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए । करिब १० वर्षदेखि उनी सहयोगीकै सहाराले हिँडडुल गर्थिन् । बुढ्यौलीले गर्दा उनको स्मरणशक्ति पनि हराइसकेको थियो । उनी पार्किन्स रोगबाट समेत पीडित थिइन् ।
कांग्रेस चितवनले विज्ञप्तिमार्फत उनको निधनले आज एक दिनका लागि कांग्रेसको सबै कार्यक्रम स्थगित गरिएको जनाएको छ । मैयादेवीको पार्थिव शरीर अहिले घरमा लैजाने र बिहान आठ बजे मैयादेवी कलेजमा राखिनेछ । दिउँसो १ बजे देवघाटमा उनको अन्तिम संस्कार गरिने बताइएको छ । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले उनको निधनले देशलाई नै ठूलो क्षति भएको बताएका छन् ।
को हुन् मैयादेवी ?
वि.सं. १९८५ असोज ५ गते फूलपातीका दिन तनहुँको बन्दीपुरमा जन्मिएकी मैयादेवीले २००३ सालमा बिपी कोइरालाबाट कांग्रेसको सदस्यता लिएकी थिइन् । २००७ सालको क्रान्तिमा बन्दीपुरमै सक्रिय भएकी मैयादेवी ०१४ को भद्रअवज्ञा आन्दोलनमा जेल परिन् ।
०१७ सालमा राजा महेन्द्रले सत्तापलट गरेपछि भारत पलायन भएकी उनले ०१८ देखि ०२० सालसम्म ऋषिकेशमा कांग्रेसको राजनीति गरिन् । लामो समय महिला संघको चितवन जिल्ला अध्यक्ष रहेकी उनी ०४८ सालमा गोरखा २ बाट सांसदमा निर्वाचित भइन् । उनी ०५६ सालमा राष्ट्रिय सभामा मनोनीत भएकी थिइन् । ०६२–६३ को जनआन्दोलनपछि पुनर्स्थापित संसदमा पनि उनी सांसद बनिन् ।
पिता वीरबहादुर श्रेष्ठ र आमा गणेशकुमारी श्रेष्ठकी दोस्रो सन्तान हुन् उनी । त्यसवेला वीरगञ्जमा डिठ्ठा रहेका वीरबहादुरले १९८० सालतिरै चितवनको नारायगढमा थुप्रै जमिन जोडेका थिए । छोरीलाई मुम्बईमा राखेर आइए पढाएका श्रेष्ठदम्पतीले सम्पत्ति पनि दुई सन्तानलाई भाग लगाइदिएका थिए । सम्पन्न परिवारमा जन्मिएकी मैयादेवीले भने आफूलाई जीवनभरि नै समाजसेवा र राजनीतिमा लगाइन् ।
‘दानकी देवी’
उनले नेपाल तरूण दलको केन्द्रीय कार्यालय, कांग्रेसको चितवन जिल्ला कार्यालयको जग्गा दान गरेकी थिइन् । मैयादेवीले नै १५ धुर जग्गा दान गरेपछि चितवनको प्रेस युनियनको भवन बनाउने कार्य अघि बढेको थियो ।
कांग्रेस पार्टीका लागि मात्रै मैयादेवीले करिब सात करोडबराबरको जग्गादान गरेको ‘मैयादेवी ट्रस्ट नेपाल’को तथ्यांकले देखाएको छ । मानव सेवा आश्रम, भरतपुर शाखाको भवन निर्माणका लागि बेलचोकको करिब २० करोड पर्ने जग्गा दिएकी थिइन् । उनले जीवनभरि ४० जनाभन्दा बढीलाई जमिन दान दिएको उनका धर्मपुत्र टंकनाथ पौडेलले यसअघि नै बताएका थिए । यी जग्गाको मूल्य अहिले करोडमाथि पर्छ ।
मैयादेवी श्रेष्ठले ओम शान्ति मैयादेवी ट्रस्ट र मैयादेवी ट्रस्टका नाममा करोडाैँका मूल्यका घरजग्गा र नगद राखेर अक्षय कोष स्थापना गरेकी थिइन् । नारायणघाट बजारको आफ्नै तीनतले घर पनि उनले ट्रस्टकाे नाममा पास गरेकी थिइन् । ट्रस्टले शिक्षा, स्वास्थ्य, महिलालगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
मैयादेवीले महिलाको उच्च शिक्षाका लागि भरतपुरमा मैयादेवी कन्या कलेज स्थापना गरिन् । ०५७ सालमा १६ कठ्ठा जमिनमा बनेको कलेजमा व्यवस्थापन, मानविकी र नर्सिङ पढाइ हुन्छ । मैयादेवीले नारायणगढ बजारको बालकुमारी कन्या स्कुललाई पनि १० कठ्ठा जग्गा दिएकी छिन् । अविवाहित मैयादेवीका चार धर्मपुत्र छन् । उनले ती सबैलाई सम्पत्ति दान दिएकी छिन् ।