एकपटक गुरु नानक यात्राका क्रममा एउटा नौलो राज्यमा पुगे । त्यहाँका राजा जनतालाई सताउने, उनीहरूको सम्पत्ति हडप्नेजस्ता कार्यमा अलि बदनाम छन् भन्ने उनले सुनेका थिए । राजाले पनि गुरु नानकको नाम र महानताबारे सुनेका थिए । त्यसैले, उनी गुरु नानकलाई भेट्न उनी बसेकै स्थानमा आए ।
कुराकानीका क्रममा गुरु नानकले राजासित केही पत्थर धरौटी राखेर आफूलाई रकम दिन अनुरोध गरे । गुरु नानकको अनुरोध सुनेपछि राजाले भने–हुन्छ महात्मा, तपाईंले भनेजस्तै धरौटी राखेर रकम दिन कुनै समस्या छैन, म व्यवस्था मिलाइदिन्छु । तर, हजुर यी पत्थर लिन कहिले आउनुहुन्छ ?
गुरु नानकले भने– म फकिरजस्तो मानिस, घुम्दाघुम्दै कता पुग्छु पत्तो हुँदैन । म यो फिर्ता लिन आउन भ्याउँदिनँ । म तपाईंभन्दा अगाडि नै यो संसार छाडेर गइसकेको हुनेछु । त्यसैले, जब तपाईं यो संसार छाडेर आउनुहुन्छ अनि मेरा यी पत्थर पनि उतै ल्याइदिनू, म उतै लिउँला नि हुन्न ?
गुरु नानकका कुरा सुनेपछि छक्क पर्दै राजाले भने– हजुर के भन्दै हुनुहुन्छ गुरु ? कहीँ मरेर गएका मानिसले पनि साथमा यी पत्थर, धनसम्पत्ति लिएर जान सक्छन् त ? राजाका कुरा सुनेपछि हल्का मुस्कुराउँदै गुरु नानकले भने– मरेर जाँदा साथमा लान नसकिने भए तपाईं अहिले सम्पत्ति थुपार्न किन यत्रो मरिहत्ते गर्दै हुनुहुन्छ त ? गुरु नानकका कुरा सुनेपछि राजा झसंग भए । उनले गुरु नानकसित माफी मागे र त्यस दिनदेखि उनले जनतालाई कहिल्यै सताएनन् ।