![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/mobile2022-01-19-09-05-44.jpeg)
विदेशबाट ल्याइएका चार हजारभन्दा बढी मोबाइल सेट मोबाइल डिभाइस म्यानेजम्यान्ट सिस्टम (एमडिएमएस) दर्ता गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा निवेदन परेको छ । विदेशबाट आएका व्यक्तिले साथमा ल्याएको मोबाइल व्यक्तिगत रूपमा दर्ता गर्न प्राधिकरणमा निवेदन दिएका हुन् ।
गत सोमबारसम्ममा चार हजार तीन सय ७२ वटा व्यक्तिगत रूपमा मोबाइल सेट सिस्टममा दर्ता गर्न आवेदन परेको प्राधिकरणले जनाएको छ । जसमध्ये प्राधिकरणले सात सय ३९ निवेदन सिस्टममा दर्ता गरिसकेको छ । तीन सय ३१ वटा भने रद्द भएका छन् । तीन हजार ६ सय ३२ निवेदन भने पेन्डिङमा परेको प्राधिकरणका पूर्वाधार महाशाखा प्रमुख एवं प्राधिकरणका निर्देशक डा. सुरेन्द्रलाल हाडाले बताए ।
उनका अनुसार विदेशबाट ल्याएका मोबाइल सेट दर्ता गर्नेको संख्या उल्लेखनीय रहेको बताए । व्यक्तिले आफैँले अनलाइनमार्फत प्राधिकरणमा निवेदन दिन सक्नेछन् । यसरी दिइएको निवेदनलाई प्राधिकरणले प्रमाणीकरण गरी सिस्टम दर्ता गर्ने गरेको छ । प्राधिकरणका अनुसार एमडिएमएस सञ्चालन गर्नुपूर्व करिब तीन लाख ५० हजार आइएमइआई दर्ता भएका छन् ।
नेपाल सरकारले विदेशबाट आउने व्यक्तिले साथमा एउटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार प्राधिकरणले विदेशबाट आउने व्यक्तिले एउटा मोबाइल दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ । त्यस्तै, सडकमार्ग हुँदै नेपाल भित्रिने व्यक्तिले भन्सारबाट प्रमाणीकरण भएको पत्र पेस गरेर सिस्टममा मोबाइल सेट दर्ता गर्न सकिन्छ । तर, विदेशबाट मोबाइल सेटको खरिद गरिएको बिल हुनुपर्ने प्राधिकरणले जनाएको छ ।
एमडिएमएसबारे सार्वसाधारणमा अन्योल
नेपाल दूरसञ्चार प्राधिकरणले गत असोजदेखि सञ्चालनमा ल्याएको एमडिएमएसबारे सार्वसाधारणमा अन्योल देखिएको छ । प्राधिकरणले ३० भदौदेखि एमडिएमएसमा दर्ता नभएका मोबाइल सेट नेपालभित्र नचल्ने बताएको थियो । तर, सो अवधिअगाडि औपचारिक माध्यमबाट भित्रिएका सबै मोबाइल सेट स्वतः रूपमा एमडिएमएसमा दर्ता भएको बताएको थियो ।
प्राधिकरणले गरेको यस्तो नयाँ व्यवस्थाले सर्वसाधारणले धेरै जिज्ञासा राखेको उनले बताए । विदेशबाट ल्याइएका मोबाइल, म्यासेज नआएको मोबाइल सेटलगायतका विषयमा सर्वसाधारणमा जिज्ञासा देखिएको थियो । एमडिएमएसको विषयमा जानकारी लिनका लागि दैनिक एक सयभन्दा बढी कलसमेत आउने गरेको प्राधिकरणका निर्देशक डा. हाडाले बताए ।
नेपालमा अवैध रूपमा भित्रिँदै आएको मोबाइल सेटलाई प्रतिबन्ध लगाउन, मोबाइल चोरी हुने र हराउनेजस्ता जोखिमलाई न्यूनीकरण गर्न प्राधिकरणले एमडिएमएस लागू गरेको हो । प्राधिकरणले गत भदौ ३० गते यसलाई सञ्चालनमा ल्याएको थियो । तर, दुई महिनापछि पूर्ण रूपमा सञ्चालनमा ल्याइने प्राधिकरणले बताएको छ ।
प्राधिकरणका निर्देशक डा. हाडाका अनुसार म्यासेज नपुगेका मोबाइल सेटका प्रयोगकर्ताले प्राधिकरणको वेबसाइटमा गएर दर्ता गराउन सक्नेछन् ।
अवैध देखिएका मोबाइल सेटलाई प्राधिकरणले सिस्टममा दर्ता गरेको छैन । यद्यपि, अहिले पनि यी मोबाइल सेट प्रयोगमा छन् । तर, यस्तो मोबाइल सेट प्रयोगकर्तालाई जतिसक्दो छिटो सिस्टममा दर्ता गर्न प्राधिकरणले आग्रह गरेको छ । सिस्टममा पूर्ण रूपमा सञ्चालनमा हुँदाका बखत त्यस्ता मोबाइल सेट
स्वतः रूपमा बन्द हुने प्राधिकरणका निर्देशक डा. हाडाले बताए ।