साहसिक मनोरञ्जनात्मक खेल ‘पाराग्लाइडिङ’ उडान सुरक्षित र व्यवस्थित बनाउन उच्चस्तरीय अध्ययन समिति गठन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का उपमहानिर्देशक हंशराज पाण्डेको संयोजकत्वमा हवाई खेलकुद संस्था, राष्ट्रिय खेलकुद परिषद्, चिकित्सा क्षेत्रको समेत प्रतिनिधित्व हुने गरी बुधबार समिति गठन गरिएको हो । समितिलाई यथाशीघ्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा क्रसकन्ट्री पाराग्लाइडिङ प्रतिस्पर्धाको क्रममा २६ वर्षीय निसिम थापाको निधन भएपछि क्यानले देशैभर पाराग्लाइडिङ बन्द गरेको छ । त्रिभुवन आर्मी क्लबमा आबद्ध उनको सराङकोट डाँडाबाट उडेलगत्तै सय मिटरमाथिबाट ग्लाइड जमिनमा खसेर मृत्यु भएको थियो । नेपालमा साहसिक खेलकुदमध्ये पर्यटकमाझ सर्वाधिक आकर्षण बनेको पाराग्लाइडिङ उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउन अध्ययन समिति गठन गरेको क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताए ।
क्यानले अकस्मात् देशैभरका पाराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेपछि चौतर्फी आलोचना भइरहेको छ । पर्यटकीय नगरी पोखराको मुख्य आकर्षण भनेकै पाराग्लाइडिङ उडान हो । दैनिक सयौँ स्वदेशी तथा विदेशी पर्यटकले पोखरामा पाराग्लाइडिङ उडान गर्दै आइरहेका छन् । पोखराका अलावा काठमाडौं उपत्यका र धरानमा पनि व्यावसायिक रूपमा पाराग्लाइडिङ उडान हुने गरेको छ । त्यसो त पछिल्लो समय स्थानीय तहहरूले अग्लो डाँडो देख्नेबित्तिकै पाराग्लाइडिङको परीक्षण उडान गरिरहेका छन् । पर्याप्त अध्ययनविना पैसाकै जोडबलमा जहाँ पायो त्यहाँ पाराग्लाइडिङ उडान गर्दा जोखिम बढ्ने विज्ञ बताउँछन् ।
पाराग्लाइडिङ उडानका साढे दुई दशक
नेपालमा व्यावसायिक रूपमा पाराग्लाइडिङ उडान सुरु भएको साढे दुई दशक पुगेको छ । सन् १९९६ मा पहिलोपटक सन्राइज पाराग्लाइडिङले व्यावसायिक उडान सुरु गरेको थियो । त्यसयता पाराग्लाइडिङ दुर्घटनामा १७ जनाले ज्यान गुमाएको क्यानको तथ्यांक छ । यस अवधिमा भएका १७ ठूला दुर्घटनामा १७ जना ग्लाइडरकै निधन भएको हो । नेपालमा व्यावसायिक पाराग्लाइडिङ उडानभन्दा पनि सोलो उडान बढी दुर्घटनामा परेको देखिन्छ । सिकारु पाइलट र खेलकुद प्रतियोगितामा प्रतिस्पर्धाको क्रममा सोलो उडान दुर्घटनामा परेका हुन् । नेपालमा पहिलोपटक सन् २०१० मा पाराग्लाइडिङ दुर्घटनामा परेको थियो । त्यसयता १३ वर्षको अवधिमा १७ सोलो पाराग्लाइडिङ उडान दुर्घटनामा परेका हुन् ।