हालै आम आदमी पार्टी (आप) का नेता र दिल्ली सरकारका मन्त्री राजेन्द्र पाल गौतमलाई ५ अक्टोरका दिन अशोक विजयादशमी कार्यक्रममा सहभागिता जनाएका कारण राजीनामा दिन बाध्य पारियो । हजारौँ संख्याका विशेषतः दलित समुदायका मानिस सहभागी सो कार्यक्रममा सहभागीले हिन्दू धर्म त्यागेर बौद्ध धर्म अँगाल्ने शपथ लिएका थिए । विजयादशमीको समारोहले स्वतन्त्र भारतका प्रथम कानुनमन्त्री र संविधान मस्यौदा समितिका अध्यक्ष डा. भीमराव अम्बेडकरको पदचाप पछ्याएका थियो । सन् १९५६ मा यस्तै समारोहमा २२ प्रतिज्ञा लिइएका थिए । बौद्ध धर्म अँगाल्नेहरूले हिन्दू देवी–देवताको पूजापाठ छाडेर मानवतावाद, गैरभेदभाव, इमानदारी, अहिंसा, सत्यजस्ता आदर्श मान्छन् भन्ने अपेक्षा गरिन्छ ।
विडम्बना, राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले अम्बेडकरका २२ प्रतिज्ञाको विरोध गर्छ, तर तिनै अम्बेडकरको फोटोमा माला पहिर्याउँछ । ५ अक्टोबरको कार्यक्रममा सहभागी भएको भन्दै राजेन्द्र पाल गौतमलाई आरएसएस र अन्य सम्बद्ध संस्थाले हिन्दूविरोधी हुन् भन्ने अभियान नै चलायो । त्यसबाहेक दिल्ली सरकारमा रहेको उनको पार्टीले पनि गौतमलाई समर्थन गरेन । गौतमको विरोध गर्ने वा उनलाई असहयोग गर्नेहरू यी दुवै पक्ष अम्बेडकरको पूजा गर्छन् र कार्यालयमा तस्बिर झुन्ड्याउँछन् ।
आरएसएसको राजनीतिक संगठन मानिने सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का कार्यकर्ताले गौतमको घरअगाडि गई नाराबाजी गरेका थिए र भगवान् रामको चित्राकृति भएको गेरुवा रंगको झन्डा गाडेर आएका थिए । सामाजिक सञ्जाल एवं सरकारपरस्त मिडियाले गौतमलाई हिन्दू देवी–देउताको अपमान गरेको आरोप लगाए । भाजपा दिल्लीका अध्यक्षले उनीविरुद्ध प्रहरीमा उजुरी गरेका थिए र प्रहरीले पनि गौतमसित सोधपुछ गरेको थियो ।
आम आदमी पार्टीले चुनावी फाइदाका लागि अम्बेडकरको फोटो प्रयोग गरे पनि उनको सामाजिक आन्दोलनको संघर्षलाई भने अवमूल्यन गरेको छ
चुनाव सम्मुख रहेको गुजरातमा दिल्लीका मुख्यमन्त्री हिन्दूविरोधी हुन् भन्ने आशयका पोस्टर टाँसिएका थिए । केजरीवालले तुरुन्तै आफू कृष्ण जन्माष्टमीमा जन्मिएको र कट्टर हिन्दू भएको बताएका थिए र राजेन्द्र पाल गौतमको २२ प्रतिज्ञाप्रति खेद व्यक्त गरेका थिए । अन्ततः गौतमले राजीनामा दिए । ती प्रतिज्ञा अम्बेडकरले सन् १९५६ मा आफ्ना करिब तीन लाख अनुयायीलाई लिन लगाएका थिए । यी प्रतिज्ञाबारेमा अम्बेडकरले महŒवसाथ लेखेका थिए र आफ्ना अनुयायीलाई हिन्दू देवीदेवताको पूजा नगर्न आग्रह गरेका थिए । यद्यपि कहीँ पनि हिन्दू देवी–देवताको अपमान गरिएको थिएन ।
यस परिघटनाले आरएसएस–भाजपा र आपको जटिल रणनीति सतहमा ल्याइदिएको छ, अर्थात् दलितलाई पार्टीमा आकर्षित गर्ने अत्यधिक प्रयास पनि हुन्छ र सँगसँगै दलित समुदायका सर्वोच्च नेताको अवमूल्यन पनि हुन्छ । आरएसएस अम्बेडकरलाई प्रातः स्मरणीय भन्छ र आरएसएस पृष्ठभूमिका प्रधानमन्त्री मोदीलगायत ठूला नेता पनि अम्बेडकरको समानता एवं न्यायबाट प्रभावित भएको बताउँछन् । तर, यही आरएसएस भारतलाई हिन्दू राष्ट्र बनाउन चाहन्छ, जुन स्वतः अम्बेडकरको अवधारणाविरुद्ध जान्छ । हिन्दू राष्ट्र चाहियो भन्ने आरएसएसले ब्राह्मण सर्वोच्चता भएको सुनौलो मिथकीय इतिहासलाई आदर्श मानेर प्रशंसा गथ्र्यो र मनुको उपदेश मान्थ्यो । समयक्रमसँगै आरएसएसले आफ्नो रणनीति एवं भाष्य परिवर्तन गर्न थाल्यो । आरएसएसले हिन्दू राष्ट्रको आवधारणा कायम नै राख्यो, तर भारतको धर्मनिरपेक्ष लोकतन्त्रका खिलाफ जाने हिन्दू राष्ट्रको योजना बुन्यो ।
अम्बेडकरले दुवै धार्मिक राष्ट्रवादको औचित्यमाथि प्रश्न गरेका थिए र सामाजिक न्यायमा आधारित धर्मनिरपेक्ष मुलुकका पक्षमा आफ्नो मत जाहेर गरेका थिए । उनले ब्रिटिस भारतको विभाजनबाट नयाँ मुलुक सिर्जना गर्ने कदमको विरोध गरेका थिए, किनभने सो विभाजनले बचेको हिस्सालाई हिन्दू राष्ट्र बनाउने बाटो खोल्थ्यो । अम्बेडकरले धर्म–आधारित राज्य अनुसूचित जात (दलित) र जाति (आदिवासी) का लागि अभिशाप हुने बताएका थिए । ठिक विपरीत आरएसएसले पश्चिमा विचार अँगालेको र पवित्र हिन्दू ग्रन्थलाई उपेक्षा गरेको भन्दै अम्बेडकरको मस्यौदा संविधानको आलोचना गरेको थियो ।
अम्बेडकर जातको विनाश नै होस् भन्ने चाहन्थे । उनले सिर्जना गरेको भारतको संविधानले आरक्षण नीतिलाई स्थापित गरेको थियो, जसले कालान्तरमा जात आधारित भिन्नता र विभेद अन्त्य गर्ने अवस्था सिर्जना गर्नेछ । आरक्षणविरुद्ध कैयौँपटक वर्चश्वशालीले समुदायले दलितविरोधी हिंसा मच्चाएका छन् । आरक्षण नीतिलाई मूर्तरूप दिन जब मण्डल आयोगको सुझाबलाई स्वीकार गरियो, तब आरएसएसले बाबरी मस्जिद भएको ठाउँमा राम मन्दिर बन्नुपर्छ भन्ने आन्दोलन चर्कायो ।
भाजपा पूर्वनेता एवं भारतका प्रधानमन्त्री अटल बिहारी वाजपेयीले राम मन्दिर आन्दोलनको परिघटनालाई मण्डलको कमण्डल (हिन्दू धर्म) बाट दिएको भन्ने अभिव्यक्तिसमेत दिएका थिए । अर्थात् आरएसएस दलित र पिछडा वर्गलाई दिइने आरक्षणको अवमूल्यन गर्छ । केही वर्षअघि आर्थिक विपन्नतालाई आधार बनाएर प्रस्ताव गरिएको आरक्षण नीतिले यो अवमूल्यन पुष्टि गर्छ । आरएसएसले हाल दलित, पिछडा र आदिवासी समुदायलाई सहवरण गरिसकेको छ, जसलाई ‘सामाजिक इन्जिनियरिङ’ भन्ने गरिन्छ ।
आरएसएसले सीमान्तकृत समुदायका नायकलाई चुनी–चुनी मुसलमानको ऐतिहासिक प्रतिद्वन्द्वी वा शत्रु देखाउने प्रयास गर्छ । पासी दलित समुदायका राजा सुहेलदेव यसका पछिल्लो उदाहरण हुन्, जहाँ उनलाई मुसलमानविरोधी सन्तका रूपमा चिनाइन्छ । सन् २०१४ को यता भाजपाले दलित नेतालाई सत्तानजिक पुर्याएको छ र आरएसएसले दलितको ‘सेवा’ पनि गर्ने गरेको छ, तर त्यसले आरक्षणको नीतिलाई अवमूल्यन गर्छ । गौतमलाई पार्टीले साथ नदिँदा केही अचम्म भयो र ? यो कुनै अनौठो कुरो होइन, वास्तवमा आपले चुनावी फाइदाका लागि अम्बेडकरको फोटो त प्रयोग गर्यो, तर उनको सामाजिक आन्दोलनको संघर्षलाई अवमूल्यन गरेको छ ।
(पुनियानी मानवअधिकार अभियन्ता र आइआइटी बम्बेका पूर्वप्राध्यापक हुन्) न्युजक्लिक