मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ३१ सोमबार
  • Thursday, 19 December, 2024
२o७९ असोज ३१ सोमबार o६:४४:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बडू विरासत फर्काउने, ठगुन्ना ‘ह्याट्रिक’को दाउमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ३१ सोमबार o६:४४:oo

सधैँका प्रतिस्पर्धी कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू र एमाले नेता गणेशसिंह ठगुन्ना फेरि आमनेसामने भएका छन् । ४ मंसिरमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा यी दुई नेता दार्चुलाबाट चुनाव लड्दै छन् ।०७४ को निर्वाचनमा समानुपातिकबाट सांसद बनेर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडू ठगुन्नासँग ०७० को हारको बदला लिन चाहन्छन् । त्यसका लागि उनलाई पाँचदलीय गठबन्धनको पनि साथ छ । ०४८ देखि संसदीय राजनीतिमा रहेका बडू प्रत्यक्षतर्फको निर्वाचनबाट दुईपटक र ०७४ मा समानुपातिकबाट एकपटक गरी तीनपटक सांसद बनिसकेका छन् । ०७० देखि सांसदमा निर्वाचित भएका ठगुन्ना भने यसअघिका दुई जितलाई निरन्तरता दिएर ह्याट्रिक गर्ने दाउमा छन् । 

 ०६४ देखि स्थायी प्रतिस्पर्धी
बडू र ठगुन्नाबीच यो तेस्रो भिडन्त हो । बडू ०४८ मै सांसद बने पनि ठगुन्नासँग उनको चुनावी भेट ०६४ को संविधानसभा निर्वाचनमा भयो । तर, यो निर्वाचनमा यी दुवै नेता पराजित भए । त्यतिखेर माओवादीका लक्ष्मणदत्त जोशी निर्वाचित हुँदा ठगुन्ना र बडू क्रमशः दोस्रो र तेस्रोमा खुम्चिएका थिए । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने ठगुन्नाले बडूलाई हार चखाए । बडू दोस्रो स्थानमा झर्दा माओवादी उम्मेदवार तेस्रोमा सीमित बने । 

ठगुन्ना ०७४ को संसदीय निर्वाचनबाट (एमाले–माओवादी गठबन्धन) मार्फत फेरि संसद्मा आउँदा बडू प्रतिस्पर्धाबाटै बाहिरिए । उनी समानुपातिकको भर्‍याङ चढ्दै सांसद बने । ०७४ मा कांग्रेसले महासमिति सदस्य विक्रमसिंह धामीलाई उम्मेदवार बनाए पनि ठगुन्ना २८ हजार नौ सय ९८ मतसहित विजयी बने । धामीले २२ हजार दुई सय ३३ मत मात्र पाए । दुईपटक निरन्तर विजयी भएका ठगुन्ना केपी ओली नेतृत्व सरकारमा पाँच महिना संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसमेत बने । 

 विरासत फर्काउने दाउमा कांग्रेस
दार्चुलामा कुनै वेला कांग्रेसको प्रभाव राम्रो थियो । ०४८ मा दार्चुलामा दुईवटा निर्वाचन क्षेत्र कायम हुँदा बडू क्षेत्र नं. १ बाट विजयी भएर संसद् प्रवेश गरे । बडू ०५६ मा पनि निर्वाचित भए । तर, त्यसअघि कांग्रेस नेतृत्वको सरकार ढलेपछि ०५१ मा भएको निर्वाचनमा भने बडूले पहिलोपटक हार चाखेका थिए । त्यतिखेर एमाले नेता प्रेमसिंह धामीले जित निकाले । 

दार्चुलामा बडू र ठगुन्नाबीच यो तेस्रो प्रतिस्पर्धी भेट हो । बडू दुईपटक प्रत्यक्षतर्फ र एकपटक समानुपातिकबाट सांसद बनिसकेका छन् । ठगुन्नाले ०७० र ०७४ मा लगातार चुनाव जितेका छन् । ०६४ यता लगातार हार व्यहोर्दै आएको कांग्रेस विरासत फर्काउने दाउमा छ भने एमाले ०५१, ०७० र ०७४ को जितलाई निरन्तरता दिने रणनीतिमा छ । 

०५६ मा तेस्रोपटक चुनाव भिडेका बडूूले एमालेका वीरबहादुर ठगुन्नालाई हराएका थिए । ०६४ पछि भने दार्चुलामा कांग्रेसको प्रभाव घट्दै गयो । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका लक्ष्मणदत्त जोशी निर्वाचित भए । त्यसयता दार्चुलामा कांग्रेसले कहिल्यै चुनाव जितेको छैन । ०६४ मा चुनाव जितेको माओवादीले जित दोहोर्‍याउन सकेको छैन ।

४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा माओवादीको साथ कांग्रेसका बडूलाई छ । एमाले भने लगातार तेस्रो जित निकाल्ने दाउमा छ । दार्चुलाबाट एमालेले ०५१ मा प्रेमसिंह धामीलाई मन्त्री बनाएयता ठगुन्नालाई ०७७ मा मन्त्री बनाएको थियो । बडू भने पटक–पटक राज्यमन्त्री हुँदै अहिले मन्त्री बनेका छन् ।दार्चुलाबाट ०५६ पछि जित हासिल गर्न नसकेको कांग्रेस दुई दशक पुरानो विरासत फर्काउने दाउमा छ । ०४८ यता दार्चुलामा बडूकै वरिपरि कांग्रेसको राजनीति घुमेको छ । उनले संसदीय चुनावमा हारमा भने ह्याट्रिक व्यहोरेका छन् । बडूले ०५१, ०६४ र ०७० मा चुनाव हारेका छन् । 

स्थानीय तह निर्वाचनमा गठबन्धनविरुद्ध जित हासिल गरेको एमाले यसपटक पनि हौसिएको छ । ‘एमाले सांगठनिक रूपमा बलियो छ, जस्तोसुकै गठबन्धन भए पनि केही फरक पर्दैन,’ एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खड्क बडालले भने । सत्तारूढ गठबन्धन पनि स्थानीय तहको निर्वाचनमा भोगेको हारको बदला लिने रणनीतिमा छ । कांग्रेस जिल्ला सचिव पुलेन्द्रबहादुर कार्कीले भने, ‘स्थानीय तहमा गठबन्धन मजबुत बनाउन सकेनौँ, अहिले हामी एक भएर लागेका छौँ । जित सुनिश्चित छ ।’ नौ पालिकामध्ये एमालेले शैल्यशिखर र महाकाली नगरपालिका तथा मालिकार्जुन, दुहुँ र व्याँस गाउँपालिका प्रमुख जितेको थियो । माओवादी केन्द्रले अपी–हिमाल, लेकम, नौगाडग र मार्मा गाउँपालिकामा जित निकाल्दा कांग्रेसले कुनै पनि स्थानीय तहमा प्रमुख जित्न सकेन । 

प्रतिनिधिसभामा बडू र ठगुन्नासँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रसिंह धामी, राप्रपा नेपालका देवबहादुर बम, नेपाल मजदुर किसान पार्टीका विश्वराम दुवाल, नेसनल पिपुल्स पार्टीका धर्मसिंह दयाली, नागरिक उन्मुक्ति पार्टीका तारादत्त जोशी, संघीय लोकतान्त्रिक मञ्चका रमेशराम लुहार र राष्ट्रिय स्वतन्त्र पार्टीका रवीन्द्रसिंह धामी चुनावी प्रतिस्पर्धामा छन् । यी नौ उम्मेदवारको भविष्यको फैसला ४ मंसिरमा ८९ हजार एक सय ५४ मतदाताले गर्नेछन् । चुनावका लागि दार्चुलामा एक सय १२ मतदानस्थल र एक सय ४१ मतदान केन्द्र तय भएका छन् ।