मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ३० आइतबार
  • Thursday, 19 December, 2024
खेम लकाईं
२o७९ असोज ३० आइतबार o८:३१:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

आत्मनिर्भर अर्थतन्त्रमा आन्तरिक पर्यटन र रैथाने खान्की

Read Time : > 4 मिनेट
खेम लकाईं
नयाँ पत्रिका
२o७९ असोज ३० आइतबार o८:३१:oo

जुन दिन मार्सी चामलका परिकार खान जुम्ला र भक्का खान झापाको भ्रमण गर्ने अवस्था आउँछ, नेपालको अर्थतन्त्र बलियो र आत्मनिर्भर बन्छ 

हेलिकोप्टरबाट चामल बाँड्न थालेपछि समृद्ध कर्णालीलाई गरिब र भोकमरीको प्रदेश भनी चित्रण गर्न थालियो । तर, त्यहाँको चिनो, कागुनो, मार्सी चामल र रैथाने ज्ञानको कुरा छाडियो ।

सन् २०२० को कोभिड–१९ महामारीबाट तँग्रिदै गएको विश्व अर्थतन्त्रलाई रुस–युक्रेन युद्धले थप निराशातर्फ धकेलेको छ । विश्व अर्थतन्त्रबाट नेपालजस्तो मुलुक अछुतो रहने कुरै भएन । दक्षिण एसिया, त्यसमा पनि श्रीलंकामा भइरहेको आर्थिक संकटले हाम्रो अर्थतन्त्रमा पनि यस्तै भयावह स्थिति आउन सक्ने आकलन अर्थशास्त्रीले वेलाबखत गरेका छन् । तर, संकट आइसकेपछि यसबाट बचाउन गरिने प्रयासभन्दा पनि भविष्यमा हामी कसरी आत्मनिर्भर हुन सक्छौँ ? हाम्रा उत्पादन बजारमा लगेर कसरी उपभोग गर्ने ? र, परनिर्भर हुने अवस्थाबाट कसरी उन्मुक्ति पाउने ? पर्यटन तथा आतिथ्य सत्कारको विद्यार्थीको हैसियतले आफ्ना केही अनुभव यहाँ राख्न चाहन्छु । 

विगतदेखि नेपालमा भइरहेका कृषि उत्पादन, तिनको सम्भावना र खुला रूपमा आउने खाद्यान्न/खाद्य पदार्थबारे नजिकैबाट नियाल्दै आइरहेको छु । एउटा सन्दर्भ स्मरण गरौँ– दोलखाका केही किसानले किबी उत्पादन थाले । उत्पादनपछि उनीहरूले त्यसको बिक्रीवितरणमा चासो राखेपछि मैले त्यसको बजार व्यवस्थापनका लागि यहाँ बुझ्ने प्रयत्न गरेँ ।

नेपालको स्वादिस्ट किबी त्यसवेला २१५ रुपैयाँ किलो मात्र बिक्री हुने अवस्था देखेर दुःख लाग्यो । केही महिना नबित्दै जब नेपाली किबी सकियो, अनि बजारमा आयातित किबी जताततै देखियो । नेपाली किबीभन्दा आकारमा केही मात्र ठूलो देखिने उक्त आयातित किबीमध्ये चिलेबाट आयात गरिएको किबी प्रतिकेजी साढे ६ सय रुपैयाँमा बिक्रीवितरण भइरहेको थियो ।

यस्तै, एभोकाडो पनि नेपालका विभिन्न भागमा उत्पादन हुन्छ, जुन नेपाली बजारमा स्थापित भइसकेको छ । धनकुटा त झन् यसका लागि पकेट क्षेत्र बनिसकेको छ । सिजनमा धनकुटाजस्तै देशका विभिन्न भूभागमा उत्पादन भएका विभिन्न प्रजातिका एभोकाडो आयातितभन्दा सस्तो मूल्यमा बजारमा बिक्रीवितरण हुँदै आइरहेको छ । तर, दुःखका साथ भन्नुपर्छ, आज बजारमा देखिने एभोकाडो युगान्डाबाट आउँछ । 

चिले वा युगान्डाबाट नेपालमा भित्रिने किबी/एभोकाडोलाई हामी भण्डारण गर्न सक्दैनौँ ? अवश्य सक्छौँ । यो कुनै ‘रकेट साइन्स’ पनि होइन । प्रविधि पनि उपलब्ध छ । म माध्यमिक तहमा पढ्दाताका स्याउ वर्षैभरि पाइँदैनथ्यो । यसको एउटा निश्चित सिजन हुन्थ्यो । भारतीय बजारबाट आउँथ्यो । नेपाली बजारमा पनि नेपालको स्याउ थोरै मात्र पाइन्थ्यो । तर, आज चीन, अमेरिकालगायतका देशबाट स्याउ आयात हुन्छ । विश्वका विभिन्न मुलुकबाट आयात हुने स्याउ नेपालसम्म आइपुग्दा किन नबिग्रिएको होला ? कारण हो, भण्डारणको तौरतरिका । हामीकहाँ स्याउ भण्डारणलाई कोल्डस्टोरमा राख्ने भनिन्छ । तर, स्याउको उपभोग लामो समयसम्म गर्ने हो भने यसलाई कोल्डस्टोर वा फ्रिजमा नभई अक्सिडेसनबाट बचाउन व्यवस्थित ढंगले राख्नुपर्छ । त्यसो भए मुस्ताङदेखि बझाङसम्मको स्याउ भण्डारणमा त्यस्तो प्रविधि किन अपनाउन सकेनौँ ? 

स्विट्जरल्यान्ड, स्पेनमा बिक्रीवितरण हुने कतिपय तरकारी तथा खाद्यपदार्थ नेपालभन्दा निकै सस्तो मूल्यमा पाइने युरोप भ्रमणमा थाहा पाएँ । दुबईमा नेपालभन्दा सस्तोमा केरा किन्न पाइन्छ भन्दा विश्वास नलाग्न सक्छ । जहाँ केही फल्दैन, त्यही मुलुकमा केरा कसरी सस्तो भयो ? माथिका यी विषयबाट प्रस्ट हुन्छ, हाम्रो सरकारले किसानद्वारा उत्पादित कृषिउपजको भण्डारण तथा, बिक्रीवितरणमा कुनै सहयोग गरेको छैन । त्यसो भए अर्थतन्त्रको यो संकट र महामारीमा देश श्रीलंकाजस्तै पो हुने हो कि ? रेमिट्यान्सजति यस्तै खाद्यपदार्थ आयात गरेरै सक्ने हो कि भन्ने चिन्ता बढ्नु स्वाभाविक हो । संवेदनशील अर्थतन्त्रमा कतिन्जेल यसरी गुुजारा गर्र्ने ? सुधारका लागि के गर्ने ?

व्यापारीले मुनाफाका लागि काम गर्ने भएकाले युगान्डाबाट एभोकाडो, चिलेबाट किबीदेखि विभिन्न देशबाट फलफूल र तरकारी आयात गरिरहेका छन् । यदाकदा हाम्रा नेताले नेपाली आलु नेदरल्यान्डमा आयात गरिदिए हुन्थ्यो भन्ने सुनिन्छ । तर, उनीहरूलाई के थाहा,  त्यहाँ नेपालको भन्दा सस्तो मूल्यमा आलु उपलब्ध हुन्छ । अतः हामीले विश्वबजारमा भएको प्रविधि अवलम्बन गर्नुको विकल्प छैन । यसको सुरुवातस्वरूप हामी उपभोक्ताले पनि सचेततापूर्वक कुन चिज किन्ने, कुन चिज खाने, आवश्यकता के हो भन्ने थाहा पायौँ भने व्यापारीको व्यापार पनि त्यही तरिकाले सन्तुलित हुन्छ ।

भारतमा महात्मा गान्धीले कसरी ‘आत्मनिर्भर भारत’ अभियान चलाए ? भारतीय नागरिक जिन्स पाइन्ट किन्न काठमाडौं न्युरोडमा आएको प्रसंग पुरानो भइसकेको छैन । जब आफ्नो अर्थतन्त्र कमजोर हुन्छ, आमनागरिकमा चेतना जरुरी हुन्छ । हालको बजेटमा हेटौँडा कपडा उद्योगका कपडा लगाउनेजस्ता लोकप्रिय नारा नआएको होइन, तर यो कुनै मन्त्रीले, नेताले, पार्टीले भनेर मात्रै हुँदैन । हाम्रो आवश्यकता के हो, के खाँदा हुन्छ भन्नेबारेको हाम्रो चेतनास्तरलाई माथि उठाउन ढिला भइसकेको छ । 

एकछिनका लागि प्रकृतिमा फर्किऔँ । प्रकृतिले मानवलाई चाहिने सबै कुरा सँधैभरि दिन्न । हरेक सिजनमा फरक–फरक उपज दिन्छ । लिची र आँपको सिजन दुई–तीन महिना मात्रै रहन्छ । आँपपछाडि बिस्तारै स्याउ र अम्बा आउँछ । त्यसैले हामीले नेपालमा जुन वेला स्याउ फल्छ, त्यहीवेला खाऊँ । वर्षको बाह्रै महिना स्याउ खाने रहरबाट हामी मुक्त हुनैपर्छ । यसरी विभिन्न तरिकाले भण्डारण गरेका रसायनयुक्त, विषादीयुक्त विनासिजनका फलफूल आदिले हाम्रो स्वास्थ्यलाई मात्रै होइन, अर्थतन्त्रलाई पनि गडबड गरिरहेको हुन्छ । 

खाद्यविज्ञ एवं वैज्ञानिकले प्रतिरक्षा प्रणाली (इम्युन) बढाउन सिजनमा फल्ने तरकारी, फलफूल, अन्न, सकेसम्म स्थानीय/रैनाथे खानेकुरा खान सुझाव दिँदै आइरहेका छन् ।हेलिकोप्टरबाट चामल बाँड्न थालेदेखि हाम्रो समृद्ध कर्णालीलाई गरिब र भोकमरीको प्रदेश भनी चित्रण गर्न थालियो । त्यहाँ भएको चिनो, कागुनो, मार्सी चामल, जडीबुटी र त्यहाँको रैथाने ज्ञानको कुरा छाडियो ।

खुसीको कुरा के छ भने आमनेपालीमा हिजो गरिब–दुःखीले खाने भनेको कोदो र फापर आज स्वस्थ रहन मानिसले खोजीखोजी खान थालेका छन् । हिजो खान नमान्ने जुम्लाको मार्सी चामल महँगो तिरेर खान थालिसके । 

जुम्लाको दाल, लुक्लाको सिमी प्रख्यात भइसकेको छ । जुन ठाउँमा जे पाइन्छ, त्यसको परिकार बनाउन जान्ने हो भने आत्मनिर्भर हुने बाटोको सुरुवातसँगै पर्यटकका लागि पनि नेपाल एउटा आकर्षक र उपयुक्त थलो बन्छ । त्यसो भए यस्तो अभियान, सोच आजैबाट किन थालनी किन नगर्ने ? कुन ठाउँमा के पाइन्छ, त्यसलाई त्यहीँ उपयोग गरौँ । यसो भएमा कर्णालीमा भएको मार्सी चामल आज काठमाडौंमा आएर खान जरुरी नहोला, बरु जुन दिन मानिसले मार्सी चामलका परिकार खानका लागि जुम्ला भ्रमण गर्ने अवस्था आउँछ, त्यसवेला नेपालको अर्थतन्त्र पनि बलियो र आत्मनिर्भर हुन्छ । भक्का मन पर्छ भने झापा भ्रमण गरौँ । अमादी (आँपहलेदो) सिरहा, सप्तरीमा पाउँछ भने त्यसको परिकार त्यहीँ बनाएर पस्कौँ । पश्चिम नेपालमा पाउने खाद्यान्न र परिकारका स्वाद लिन त्यहीँ भ्रमण गरौँ ।

मेरो अनुभवका आधारमा अर्थतन्त्रमा बलियो योगदान आन्तरिक पर्यटकले नै दिने हो । उदाहरणका लागि चीनमा ६० देखि ७० प्रतिशत पर्यटक आन्तरिक हुन्छन् । भारतमा पनि अन्तरराज्य भ्रमण गर्ने स्वदेशी पर्यटकको अनुपात निकै ठूलो छ । जापानमा पनि यस्तै छ । जब देशको ठूलो हिस्सा आन्तरिक पर्यटनमा निस्कन्छ भने जिडिपीमा बाहिरी पर्यटकबाट हुने आयभन्दा बढी योगदान यसबाट पुग्छ र फलस्वरूप अर्थतन्त्र बलियो बन्छ ।

अन्त्यमा एउटा उल्लेख गर्नैपर्ने प्रसंग भनेको हामीकहाँ तरकारी, फलफूल एकैपटक आउँछ । काँचो कटहरकै कुरा गरौँ । राम्रोसँग बनायो भने काँचो कटहर मासुको विकल्प हुन्छ, स्वाद र पौष्टिकता दुवै हिसाबले । तर, यो कति समय रहन्छ ? तर, यसलाई भ्याकुम प्याक गरेर भण्डारण गर्न सकियो भने वर्षैभरि खान सकिन्छ । किसानले पनि भरपूर मूल्य पाउँछन् । तर, विडम्बना ! सिजनमा जतासुकै कटहर हुन्छ, किसानले मूल्य पनि पाउँदैनन् । त्यसपछि फेरि सर्टेज हुन्छ । 

गत वर्ष प्रतिकिलो १४ सय रुपैयाँसम्म पर्ने कुरिलो अहिले ३०० रुपैयाँमा झरेको छ । बजारमा प्रतिकेजी ३०० मा बिक्री हुने कुरिलोको मूल्य किसानले आधा पनि पाउँदैनन् । यदि किसानलाई नै कसरी संकलन गर्ने र वर्षभरि राख्ने भनेर सिकाइयो भने उनीहरूले सही मूल्य पनि पाउँछन् र उपलब्ध पनि वर्षभरि नै हुन्छ । हामी गर्वसाथ भन्न सक्छौँ, काब्रोको अचार, सिप्लिकानको अचार, गुन्द्रुकका विभिन्न परिकार, सिन्की, थारूहरूको घुँघीको परिकार, ताप्लेजुङतिरको तोङ्बालगायतका चिजलाई सुकाएर वा  भ्याकुम प्याक गरेर राख्न सक्दा वर्षैभरि तातोपानी हालेर खान सक्ने परिकार बन्छन् । 

यसैगरी, पर्यटकलाई नभईनहुने आयातमा हामीले अवरोध किन गर्ने ? पर्यटकले ठूलो मूल्य तिरेर उपभोग गर्दा राज्यले कर पाउने विषयमा हामी कैँची नचलाऊँ । यदि चलाउनैपर्ने हो भने हामी उपभोक्ताले खाए पनि नखाए पनि हुने खालका चिजमा चलाऊँ । यसो गर्न सकेको खण्डमा मात्रै हामी आत्मनिर्भरताको बाटोमा अगाडि बढ्न सक्छौँ । हाम्रो अर्थतन्त्र समुन्नत, सन्तुलित र दिगो हुन्छ । 

लकाईं पर्यटन तथा आतिथ्य सत्कारविद् हुन् ।