Skip This
नवौँ राष्ट्रिय खेलकुद : शिवराजले तोडे २३ वर्ष पुरानो कीर्तिमान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ३० आइतबार
  • Friday, 20 September, 2024
२o७९ असोज ३० आइतबार o६:२९:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नवौँ राष्ट्रिय खेलकुद : शिवराजले तोडे २३ वर्ष पुरानो कीर्तिमान

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ३० आइतबार o६:२९:oo

नवौँ बृहत् राष्ट्रिय खेलकुदअन्तर्गत शनिबार २३ वर्ष पुरानो कीर्तिमान तोड्दै एपिएफका शिवराज पार्कीले एक सय मिटर पुरुष दौडमा स्वर्ण जितेका छन् । पोखरा रंगशालामा भएको दौड शिवराजले १०.५६ सेकेन्डमा पार गरे । सन् १९९९ मा रामकृष्ण चौधरीले बनाएको १०.७१ सेकेन्डको कीर्तिमान पार्कीले २३ वर्षपछि भंग गरेका हुन् । राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्न पाउँदा आफूलाई निकै खुसी लागेको पार्कीले बताए । ‘मिहिनेतको फल प्राप्त भएको छ, निकै खुसी लागेको छ,’ उनले भने, ‘अबको मेरो लक्ष्य दुई सय मिटरमा कीर्तिमान बनाउने र एसियाली खेलकुदमा पदक जित्ने हो ।’ एक सय मिटरतर्फ नै आर्मीका युवराज विक र डिल्ली भण्डारीले क्रमशः रजत र कांस्य पदक हात पारे ।

सरस्वतीको कीर्तिमानी स्वर्ण 
महिलातर्फ सय मिटर दौडमा आर्मीकी सरस्वती चौधरीले १२.१३ सेकेन्डमा निर्धारित दौड पूरा गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् । लुम्बिनीकी निशा चौधरी १२.२२ सेकेन्डसहित दोस्रो भइन् । शनिबारै यही स्पर्धाको हिट राउन्डमा निशाले १२.१५ सेकेन्डमा दौड पूरा गर्दै देवीमाया पनेरुको नाममा रहेको २३ वर्ष पुरानो राष्ट्रिय किर्तिमान तोडेकी थिइन् । तर, केही समयमै निशाको कीर्तिमानलाई सरस्वतीले तोडिन् । निशा भने फाइनल राउन्डमा आफ्नै कीर्तिमान जोगाउन नसक्दा रजतमै सीमित भइन् । आर्मीकी रमिता थारूले यस स्पर्धामा कांस्य जितिन् । एथलेटिक्सअन्तर्गत नै १५ सय मिटरको पुरुषतर्फको दौडमा आर्मीका मुकेश पालले स्वर्ण पदक जितेका छन् । मुकेशले निर्धारित दूरी ३ मिनेट ५२.२१ सेकेन्डमा पार गर्दै आर्मीलाई स्वर्ण जिताए । एपिएफका अजित यादवले रजत पदक जित्दा पुलिसका नागेश्वर अहिरले कांस्य पदक जिते ।

त्यसैगरी, महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ ३६ मिनेट १२.३६ सेकेन्ड टाइमिङका साथ स्वर्ण जित्न सफल भइन् । पुलिसकी राजपुरा पछाईले ३६ मिनेट २९.४५ सेकेन्डमा निर्धारित दूरी पूरा गरेर रजत तथा एपिएफकी पुष्पा भण्डारीले ३७ मिनेट ४.०२ सेकेन्डमा दौड पूरा गर्दै कांस्य पदक जितिन् ।

पुरुष एक हजार पाँच सय मिटर दौडमा त्रिभुवन आर्मी क्लबका मुकेश पालले ३ मिनेट ५.२१ सेकेन्डमा दूरी पूरा गरेर स्वर्ण पदक जिते । सो इभेन्ट्समा एपिएफका अजित यादवले ३ मिनेट ५३.११ सेकेन्ड तथा पुलिसका नागेश्वर अहिरले ३ मिनेट ५६.५ सेकेन्डमा निर्धारित दूरी पार गरेर क्रमशः रजत र कांस्य पदक जिते ।

त्यस्तै, महिला १ हजार ५ सय मिटर दौडमा एपिएफकी फुलमती रानाले ४ मिनेट ३८.१९ सेकेन्ड टाइमिङका साथ स्वर्ण पदक जितिन् । आर्मीकी सरस्वती भट्टराईले ४ मिनेट ४१.०० सेकेन्डमा दूरी पार गरेर रजत तथा आर्मीकै रेखा लिम्बूले कांस्य पदक जितिन् । 

पुरुष सटपुटमा आर्मीका तिलक विकले १२.८५ मिटर फाल्दै स्वर्ण पदक जिते । १२.६४ मिटर फ्याँकेका आर्मीकै चित्रबहादुर वलीले रजत तथा बागमती प्रदेशका ललित रावतले ११.९५ मिटर पर फालेर कांस्य पदक जिते ।सटपुट महिलामा नेपाल पुलिस क्लबकी चन्द्रकला लाम्गादेले स्वर्ण, लुम्बिनी प्रदेशकी संगीता अधिकारीले रजत र नेपाल पुलिसकी वसन्ती चौधरीले कांस्य पदक जिते ।

हक्की खेलाडीलाई डेंगु पजिटिभ 
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एक महिला खेलाडीलाई डेंगु संक्रमण भएको छ । गण्डकी प्रदेशकी हक्की खेलाडी साहारा खतिवडालाई डेंगु संक्रमण भएको हो । शुक्रबार बेलुकीबाट अत्यधिक ज्वरोले च्यापेपछि गण्डकी मेडिकल कलेजमा चेकजाँच गर्दा उनलाई डेंगु पोजिटिभ देखिएको प्रशिक्षक राजन नेपालीले बताए । नेपालीका अनुसार डेंगु पजिटिभ देखिएपछि साहारालाई आराम दिइएको छ । साहारा सम्मिलित गण्डकीको टिमले प्रदेश–१ र लुम्बिनीलाई हराउँदै दुई खेल जितेको छ । 

आयोजक गण्डकीलाई पहिलो स्वर्ण
पुरुष ह्यान्डबलमा गण्डकीले स्वर्ण पदक जितेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको फाइनलमा गण्डकीले आर्मीलाई ४३–३६ ले पराजित गर्दै स्वर्ण जितेको हो । नवौँ राष्ट्रिय खेलकुदमा आयोजक गण्डकीले जितेको यो पहिलो स्वर्ण हो । यसअघि, आठौँ राष्ट्रिय खेलकुदमा पनि गण्डकीले ह्यान्डबलमा स्वर्ण जितेको थियो । प्रतियोगिताअन्तर्गत कांस्य पदकका लागि भएको खेलमा एपिएफले लुम्बिनीलाई पराजित गरेको छ । यता, महिला ह्यान्डबलमा आर्मीले स्वर्ण पदक जितेको छ । आर्मीले फाइनलमा एपिएफलाई १७–१६ ले हरायो । एपिएफले रजत पदक जित्दा गण्डकी प्रदेशले प्रदेश–१ लाई २२–७ ले पाखा लगाउँदै कांस्य पदक प्राप्त ग¥यो । 
 
साइक्लिङमा आर्मीलाई दुई स्वर्ण
साइक्लिङको डाउनहिल विधामा नेपाल आर्मीले दुई स्वर्ण जितेको छ । पुरुषतर्फ आर्मीका राजेश मगरले १४ सय मिटरको दूरी १ मिनेट ४९.१० सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते । त्यसैगरी, बागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.१० सेकेन्डमा निर्धारित दूरी पूूरा गर्दै रजत जिते भने एपिएफका प्रचित थापामगरले कांस्य पदक पाए । महिलातर्फ आर्मीकै निस्मा श्रेष्ठले २ मिनेट २३.५८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण पदक जितिन् । आर्मीकै उषा खनालले रजत प्राप्त गर्दा गण्डकी प्रदेशकी जमुना थापाले कांस्य पदक जितिन् । साइक्लिङमा डाउनहिल, क्रस कन्ट्री, रोड रेस इन्डिभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधा रहेको छ । 

सुटिङमा आर्मीका नारायणसिंहलाई अग्रता 
सुटिङ प्रतियोगिताको दोस्रो दिन शनिबार पुरुष व्यक्तिगत १० मिटर एयर राइफलमा आर्मीका नारायणसिंह दोङले ६००.५ अंकका साथ अग्रता बनाएका छन् । नेपाल पुलिसका धनबहादुर विक ५८६.१ अंकसहित दोस्रो तथा लुम्बिनीका अर्नव घिमिरे ५७८.४ अंक बटुल्दै तेस्रो स्थानमा छन् । १० मिटर एयर राइफलको महिलातर्फ बागमतीकी सुस्मिता नेपाल ६१३.५, आर्मीकी सिल्सा भण्डारी रायमाझी ६१०.२ र मधेस प्रदेशकी निशा तामाङ ५९३ अंक बटुल्दै क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । पुरुष व्यक्तिगत १० मिटर एयर पेस्तोलमा बागमतीका कुवेर केसी ५४६, आर्मीका खेमराज ओली ५२८ र प्रहरीका अनिल ठकुरी ५०१ अंकसाथ क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । सोही स्पर्धाको महिलातर्फ आर्मीकी ज्योतिका दाहाल ५५५ अंक जोड्दै शीर्ष स्थानमा छिन् । 

टेनिसको फाइनलमा आर्मी र गण्डकी 
टेनिसको पुरुष टिम इभेन्टमा आर्मी र गण्डकी फाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको खेलमा आर्मीले प्रहरीलाई २–१ तथा गण्डकीले एपिएफलाई ३–० को सेटमा पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएका हुन् ।