मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २९ शनिबार
  • Wednesday, 18 December, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o७९ असोज २९ शनिबार ११:१४:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोकमा सत्तागठबन्धनका दल मिल्दा जित सहज

Read Time : > 2 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o७९ असोज २९ शनिबार ११:१४:oo

सत्तागठबन्धनमा रहेका ठूला दल कांग्रेस र माओवादी मिलेर जाँदा सिन्धुपाल्चोकमा जित निकाल्न सहज हुने अवस्था छ। दुवै पार्टीको आन्तरिक पंक्ति मिल्दा जित सुनिश्चित देखिन्छ। यद्यपि, माओवादीभित्र समस्या नभएपनि कांग्रेसमा दुवै गुट मिलेर जाने सम्भावना भने कम देखिन्छ।

प्रतिनिधिसभा र प्रदेश सभामा बराबरी सिट लिएका कांग्रेस–माओवादीको आन्तरिक पंक्ति नमिल्दा केही हदसम्म प्रतिपक्ष एमालेलाई फाइदा पुग्नेछ। निर्वाचन क्षेत्र परिवर्तन गरेर २ बाट उम्मेदवारी दिएका कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आन्तरिक पंक्ति मिलाउँदा गठबन्धनले सहज जित निकाल्न सक्छन्।

०७४ मा क्षेत्र नं. १ बाट एमालेसँग मिलेर चुनाव लडेका पूर्वसभामुख अग्निप्रसाद सापकोटाले ४१ हजार मत ल्याएर बस्नेतलाई पराजित गरेका थिए। बस्नेतले २८ हजार मत ल्याएका थिए। अहिले पूर्वसभामुख प्रतिस्पर्धामा छैनन्। सत्ता गठबन्धनबाट ४० वर्षीय माओवादी पोलिटव्युरो सदस्य माधव सापकोटा सुवोधले उम्मेदवारी दिएका छन्। पुरानो क्षेत्रबाट टिकट नपाएपछि बस्नेत क्षेत्र नं. २ बाट चुनावी प्रतिस्पर्धामा छन्।

स्थानीय निर्वाचन ०७९ को मत परिणामअनुसार क्षेत्र नं. १ मा सत्तागठबन्धन धेरै अगाडि छ। तीन स्थानीय तह प्रमुख, ६ उपप्रमुखसहित ३४ वडा जितेको कांग्रेसले पाएको मत ३३ हजार नौ सय छ। तीन स्थानीय तह प्रमुख र पाँचवटा वडा जितेको माओवादीको मत २० हजार रहँदा एक प्रमुख र १४ वडामा जित निकालेको एमालेले २६ हजार मत कटाएको छ।

कांग्रेस र माओवादी राम्ररी मिल्दा यस क्षेत्रमा गठबन्धनको जित सुनिश्चित छ। तर, कांग्रेसको किचलोले सत्तागठबन्धनलाई अप्ठ्यारो पार्ने देखिन्छ। पुरानो क्षेत्र छोडेका बस्नेतले आफ्नो खास टिमलाई हालसम्म कुनै निर्देशन दिएका छैनन्। त्यसैले बस्नेतनिकट कार्यकर्ता अलमलमा देखिन्छन्। यस क्षेत्रमा बस्नेतइतर ठूलो समूह निर्णायक शक्ति हो। जसले सापकोटालाई सघाउने देखिन्छ। एमालेका उम्मेदवार सरेश नेपाल कांग्रेस फकाउने रणनीतिमा छन्। जिल्ला सभापति, बाग्मती प्रदेशको मन्त्रीसमेत भइसकेका पार्टी अध्यक्ष ओलीनिकट नेपाललाई पार्टीभित्र १० बुँदे पक्षधर नेताकार्यकर्ताले धेरै सहयोग नगर्ने अवस्था छ। दुई हजार तीन सय मतभार रहेको एकीकृत समाजवादी गठबन्धनमा प्रतिबद्ध छ भने एक हजार दुई सय मत ल्याएको राप्रपाको मत आफ्नै उम्मेदवारलाई जाने देखिन्छ। सरसती हेर्दा युवा र नयाँ स्वादको सापकोटाको उम्मेदवारी नेपालविरुद्ध हाबी हुने देखिन्छ।

क्षेत्र नं १ को प्रदेश सभा (क)मा कांग्रेसकी उम्मेदवार मसिना खड्का भण्डारी र एमालेबाट युद्धविक्रम तामाङ प्रतिस्पर्धामा छन्। यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको मत १९ हजार र एमालेको १० हजार छ। त्यसैगरी प्रदेश सभा (ख)मा गठबन्धनको ३४ हजार र एमालेको १६ हजार मत छ। यहाँ पनि माओवादी उम्मेदवार सरल सहयात्री पौडेल एमाले उम्मेदवार होमनारायण श्रेष्ठमाथि हाबी देखिन्छन्।

यता क्षेत्र नं. २ मा पूर्वमन्त्रीद्वय मोहन बस्नेत र शेरबहादुर तामाङको प्रतिस्पर्धा रोचक हुने देखिन्छ। ०७४ मा यस क्षेत्रमा कांग्रेसको उम्मेदवार थिएन। कांग्रेसको समर्थनमा उठेका राप्रपा पूर्वअध्यक्ष पशुपतिशमसेर राणा एमालेका तामाङसँग पराजित भएका थिए। तामाङले ३८ हजार र राणाले ३१ हजार मत ल्याएका थिए। यसपटक गठबन्धनको साथमा क्षेत्र परिवर्तन गरेर मैदानमा आएका कांग्रेस उम्मेदवार बस्नेत एमालेका तामाङका लागि ठूलो चुनौती हुन्।

०१५ सालयता यो क्षेत्रमा कांग्रेसले जित निकाल्न सकेको छैन। कांग्रेसमा प्रभावशाली मानिने नेता बस्नेत आएकाले यस क्षेत्रका कांग्रेस नेता कार्यकर्ता उत्साही छन्। गठबन्धनका सहयात्री माओवादी र एकीकृत समाजवादीले बस्नेतलाई बलियो साथ दिने अवस्था छ। तर, पार्टीको आन्तरिक विषय मिलाउनुपर्ने चुनौती छ। यस क्षेत्रमा कोइराला पक्षको वर्चश्व छ। बस्नेत संस्थापन पक्षका नेता हुन्। स्थानीय निर्वाचनअनुसार ३१ हजार सात सय मतसहित एमाले अगाडि छ। कांग्रेसको २९ हजार, माओवादी केन्द्रको १६ हजार र राप्रपाको ६ हजार मत छ। एकीकृत समाजवादीको एक हजार ६ सय मत मात्र छ। गठबन्धनको मत जोड्दा उम्मेदवार बस्नेतको पक्षमा ४६ हजार मत छ। राप्रपाको आफ्नै उम्मेदवार भएपनि उसको केही मत कांग्रेस र एमालेलाई जाने देखिन्छ।

बस्नेतलाई माओवादी र एकीकृत समाजवादीले राम्ररी सहयोग गर्ने अवस्था छ। एमाले उम्मेदवार तामाङले ०७० र ०७४ मा राप्रपाका राणालाई पराजित गरेका थिए। यसपटक क्षेत्र परिवर्तन गरेर आएका बस्नेतसँग प्रतिस्पर्धा गर्न तामाङलाई कठिन पर्ने देखिन्छ।

क्षेत्र नं. २ को प्रदेश सभा (क)मा माओवादी पोलिटब्युरो सदस्य युवराज दुलाल शरद र एक महिनाअघि माओवादी छोडेर एमाले गएका अमानसिंह तामाङबीच प्रतिस्पर्धा हुँदैछ। बाग्मती प्रदेशको सामाजिक विकासमन्त्री हुँदा कार्यसम्पादन राम्रो गरेकाले दुलाल यो क्षेत्रमा लोकप्रिय छन्। माओवादीबाट चुनाव जितेर चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर चलाएका तामाङ टिकटकै लागि एकाएक एमाले प्रवेश गरेकाले नगरवासी रुष्ट छन्। यो प्रदेशमा कांग्रेसको १३ हजार र माओवादीको ११ हजार पाँच सय मत छ। दुलालको कांग्रेससँगको सहकार्य पनि राम्रो छ। एमालेको १३ हजार र राप्रपाको दुई हजार आठ सय मत छ। स्थानीय चुनावको मतअनुसार तामाङमाथि दुलाल हाबी छन्।

त्यसैगरी प्रदेश सभा (ख)मा कांग्रेस, माओवादी र समाजवादीको मत जोड्दा २१ हजार छ। एमाले एक्लैको १८ हजार मत छ। कांग्रेसबाट युवा उम्मेदवार कृष्णकुमार तामाङ र एमालेका हस्तबहादुर पण्डित यस क्षेत्रको चुनावी प्रतिस्पर्धामा छन्। पण्डित एमालेका पूर्वजिल्ला अध्यक्ष हुन्।