मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २९ शनिबार
  • Thursday, 19 December, 2024
२o७९ असोज २९ शनिबार o६:२८:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

सुनकोसी–मरिन डाइभर्सन : १३.३ किमि लामो सुरुङ खन्न सुरु

दुई वर्षमा सुरुङ निर्माण गर्ने लक्ष्य, ०८५ भित्र आयोजना पूर्ण सञ्चालनमा ल्याउने योजना

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २९ शनिबार o६:२८:oo

राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गतको १३.३ किलोमिटर लामो सुरुङ खन्न सुरु भएको छ । निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपले अमेरिकी प्रविधिको टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिमार्फत शुक्रबारदेखि उक्त सुरुङ खन्न सुरु गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नेतृत्वमा जलस्रोत तथा सिँचाइसचिव सागरकुमार राई, सहसचिव बाबुराम भण्डारी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, उपमहानिर्देशक रुकमागत खनालसहितको टोलीको उपस्थितिमा सुरुङ खन्ने काम सुरु गरिएको हो । प्राविधिक कठिनाइ नआए दुई वर्षभित्र सुरुङको निर्माण सम्पन्न हुने बताइएको छ । 

तराईको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने र ३१ मेगावाट विद्युत्समेत उत्पादन गर्ने लक्ष्यसहित सरकारले यो आयोजना अघि बढाएको थियो । २० फागुन ०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यस आयोजनाको शिलान्यास पनि गरेका थिए । त्यसको १९ महिनापछि सुरुङको निर्माण सुरु भएको हो । उक्त सुरुङ निर्माण गर्न सिँचाइ विभाग र कम्पनीबीच चैत ०७७ मा १० अर्ब पाँच करोड ६८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तर, अमेरिकामा टिबिएम मेसिन बनाएर नेपालमा ढुवानी गर्न समय लागेपछि निर्माण सुरु गर्न ढिलाइ भएको हो । सरकारले उक्त सुरुङ निर्माण गर्न १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको थियो । तर, उक्त कम्पनीले त्योभन्दा पनि कम लागतमा सुरुङ बनाउने प्रस्ताव गरेको थियो । यसअघि उक्त कम्पनीले भेरी बबई सिँचाइ आयोजनाको सुरुङ निर्माण गरिसकेको छ ।

यस्तै, आयोजनाको अन्य संरचनाको निर्माण पनि चालू आवमै सुरु गर्ने बताइएको छ । आयोजनामा बन्ने जलविद्युत्को हेडवक्र्स, पावरहाउस, हाइड्रो मेकानिकललगायत संरचना निर्माण गर्न टेन्डरमार्फत निर्माण कम्पनीले आवेदन दिइसकेका छन्, चालू आर्थिक वर्ष ०७९/८० मा कम्पनी छनोट गरेर निर्माण सुरु गरिने विभागका महानिर्देशक सुशीलचन्द्र  आचार्यले बताए । 

‘चालू आवमा आयोजनाको अन्य संरचनाको निर्माण कार्य सुरु हुन्छ । समग्रमा ०८५ भित्र आयोजना पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य छ,’ उनले नयाँ पत्रिकालाई भने । आव ०७७/७८ मा आयोजनाको निर्माण सुरु गरेर आव ०८२/८३ मा सम्पन्न गर्ने लक्ष्य थियो । तर, कोरोना महामारीलगायत कारण निर्धारित समयमा निर्माण सुरु हुन नसकेका कारण पूर्व निर्धारित लक्ष्यअनुसार तोकेको समयमा सम्पन्न नहुने विभागको भनाइ छ । 

विशेष गरी सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोसी नदीको पानीलाई सुरुङमार्फत सिन्धुली जिल्लाको मरिन नदीमा खसालिनेछ । साथैै, त्यसलाई हालको बागमती सिँचाइ आयोजनाका संरचनामार्फत मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका करिब एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याइनेछ ।  पानी डाइभर्सन गर्ने क्रममै यसै आयोजनाअन्तर्गत ३१.०७ मेगावाट क्षमताको जलविद्युत् आयोजना पनि बन्नेछ ।

 स्थानीयलाई हुने फाइदा 
आयोजना सञ्चालनमा आएपछि सुनकोसी र तामाकोसी किनारमा बसोवास गर्ने समुदायका निम्ति आयआर्जनको प्रचुर सम्भावना रहेको आयोजना व्यवस्थापन पक्षको भनाइ छ । बहुउद्देश्यीय आयोजना भएकाले त्यस क्षेत्रमा माछापालनदेखि आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य वृद्धि हुने हुनाले मनोरञ्जन तथा ताल–जलाशयमा पर्यटन व्यवसायसमेत फस्टाउने अपेक्षा छ ।  

यस आयोजनाले मरिन नदी नियन्त्रण तथा मरिन नदी–किनारका कृषक कुलोहरूको पुनस्र्थापना गर्ने गरी गुरुयोजनासमेत तयार गरेको छ । आयोजनाको कार्यान्वयनसँगै गुरुयोजनाको समेत कार्यान्वयन हुनेछ । मरिन नदीआसपासका बासिन्दालाई समेत यस आयोजनाबाट लाभ पाउने आश्वासन दिइएको छ । यसैगरी, आयोजनाको हेडवक्र्स निर्माणपश्चात् सुनकोसी र तामाकोसीतर्फ डुबानमा पर्ने जग्गाको सुरक्षाका लागि विस्तृत इन्जिनियरिङ डिजाइन कार्य सुरु गरिएको छ । यसले डुबानमा पर्ने जग्गाको सुरक्षाका साथै हात्तीटारस्थित करिब २७ हेक्टर जग्गाको उकास गरी वर्षौँदेखि भोगचलन गरिरहेका माझी समुदायलाई नै हस्तान्तरण गरिने योजना छ ।

आयोजनाको आवश्यकता किन ? 
देशको तराई क्षेत्रमा विकास भई सञ्चालन भइरहेका सिँचाइ आयोजनाहरू नदी वहाब प्रणालीमा आधारित छन् । महाभारत र चुरे क्षेत्रबाट उत्पत्ति भएका नदीहरूबाट विकास भएका अधिकांश सिँचाइ प्रणालीमार्फत वर्षायाममा सबै संरचना विकास भएको जमिनमा सिँचाइ सुविधा पुग्ने गरेको छ । तर, स्रोतमा पानीको उपलब्धता नहुँदा हिउँद र वसन्तमा थोरै जमिनमा मात्र सिँचाइ सुविधा पुग्ने गरेको छ । त्यसैले वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउन पानी बढी भएको हिमाली नदीबाट पानी नपुग भएको क्षेत्रमा डाइभर्सन गरेर पानी लैजानुपरेको आयोजनाले जनाएको छ । 

यस्तो हुनेछ जलविद्युत् आयोजना
आयोजनाबाट तराईमा सिँचाइ मात्र नभएर ३१ मेगावाटको विद्युत् उत्पादन गर्ने योजना छ । यसका लागि सिन्धुलीको खुर्काेट बजारदेखि करिब दुई किलोमिटर माथितिर र सुनकोसी र तामाकोसीको दोभानदेखि करिब एक सय ५० मिटर तलतिर सुनकोसी नदीमा एक सय ५८ मिटर लामो ब्यारेज निर्माण गरिनेछ । साथै, विद्युत् उत्पादनका लागि आवश्यक इन्टेक, डिसेन्डर तथा १३ दशमलव तीन किलोमिटर टनेल निर्माण गरिनेछ । टनेलको मोटाइ र लम्बाइ ५ दशमलव पाँच मिटर व्यासको रहनेछ । उत्पादन भएको विद्युत् ४२ किलोमिटर प्रसारण लाइन निर्माण गरेर सर्लाहीको नवलपुरमा निर्माणाधीन सबस्टेसनमा जोडिनेछ ।

 अनुमानभन्दा कम लगानी 
सरकारको आफ्नै लगानीमा निर्माण हुन लागेको यो आयोजना अनुमान गरेभन्दा कम लागतमा बन्ने भएको छ । पहिला यसमा ४६ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको थियो । त्यसमा सुरुङतर्फ १५ अर्ब लगानी लाग्ने उल्लेख थियो । तर, सुरुङ निर्माणमा अनुमानित लगानीभन्दा पाँच अर्ब कममा ठेक्का सम्झौता भएको छ ।

साथै, अन्य संरचना बनाउन टेन्डर दिएका कम्पनीले पनि अनुमानित लागतभन्दा कम रकममा प्रस्ताव पेस गरेका छन् । त्यसअनुसार अनुमानित लगानीभन्दा निकै कम रकममा आयोजना बन्ने महानिर्देशक आचार्यले बताए । विभागका अनुसार हालसम्म यस आयोजनाको भौतिक प्रगति ८.८० प्रतिशत र वित्तीय प्रगति ८.४२ प्रतिशत पुगेको छ । 

यसका अलावा भेरी बबई डाइभर्सन सिँचाइ आयोजनामा पनि सुरुङ रहेको छ । त्यसको निर्माण कार्य भने सम्पन्न भइसकेको छ । अन्य संरचनाहरू भने निर्माणको चरणमा रहेका छन् । यसका अलावा थुपै्र डाइभर्सन आयोजनाहरू अध्ययनका चरणमा रहेको महानिर्देशक आचार्यले बताए ।