पत्रकार सम्मेलनमार्फत ओलीमाथि गम्भीर आरोप
न्यायको रक्षा नगरी अन्याय पराजित हुन सक्दैन । घोषित सिद्धान्त र कार्यक्रमको रक्षा नगरी पार्टीको रक्षा हुन सक्दैन । राष्ट्रिय हित र स्वाधीनताको पक्षमा निर्भीकताका साथ नउभिई बाह्य हस्तक्षेप र षड्यन्त्रलाई रोक्न सकिन्न । यही मान्यताका साथ म आजको बिन्दुसम्म प्रयासरत छु । देश–जनताका हकहितविरुद्धका विचार र गतिविधिविरुद्ध संघर्ष जारी रहनेछ ।
प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाएपछि असन्तुष्ट एमाले नेता भीम रावलले धेरैको अनुमानविपरीत पार्टीभित्रै संघर्ष गर्ने बाटो रोजेका छन् । अध्यक्ष केपी ओलीको आलोचक रहँदै आएका पूर्वउपाध्यक्ष रावलले एमालेको चुनावी अभियानको विद्रोही नेताका रूपमा पार्टीभित्रै संघर्ष गर्ने बाटो रोजेका हुन् ।
४ मंसिरको निर्वाचनमा अछामको निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट सर्वसम्मत सिफारिस भए पनि पार्टी अध्यक्ष ओलीले उनलाई टिकट दिएनन् । त्यसबारे औपचारिक धारणा सार्वजनिक गर्न बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेका रावलले आफ्ना नीतिगत असहमतिका एजेन्डा प्रस्तुत गर्दै एमालेभित्रै रहेर संघर्ष गर्ने बताए ।
जसपा, राप्रपा र कांग्रेसभित्रको विद्रोही उम्मेदवारसँग तालमेल गरेर सत्तारूढ गठबन्धनविरुद्ध चुनौती दिने एमालेको तयारीलाई रावलको कदमले कुनै न कुनै रूपमा प्रभाव पार्ने अनुमान गरिँदै छ । यद्यपि, उनले मूलतः अध्यक्ष ओलीसँग नीतिगत असन्तुष्टि राख्नेबाहेक एमालेका उम्मेदवारलाई हराउने घोषणा भने गरेका छैनन् । ‘मैले कुनै व्यक्तिको विरोध गरेको छैन, पार्टीका नीति, सिद्धान्तविपरीतका कुरा आफू गर्ने अनि टिकट दिने वेला मैले गरेको भन्दै जनता झुक्याउने कुराको खण्डन गरेको छु । यो कुनै व्यक्तिगत विरोध होइन, एमालेको नीति, सिद्धान्त, नेपालको संविधान, कानुन मर्यादाको रक्षाको कुरा गरेको हुँ,’ पत्रकार सम्मेलनमा रावलले भने । तर, तत्कालीन नेकपा एकता हुँदै विभाजनसम्म र त्यसयता ओलीसँगका निरन्तर असहमतिका विषयलाई भने रावलले बुँदागत रूपमै प्रस्तुत गरेका छन् । उनले टिकट वितरणमा ओलीमा निरंकुश र स्वेच्छाचारी प्रवृत्ति देखिएको भन्दै कडा आलोचना गरेका छन् ।
रावलले न्यायको रक्षाका लागि आफूले आवाज उठाएको दाबी गरेका छन् । ‘न्यायको रक्षा नगरी अन्याय पराजित हुन सक्दैन । घोषित सिद्धान्त र कार्यक्रमको रक्षा नगरी पार्टीको रक्षा हुन सक्दैन । राष्ट्रिय हित र स्वाधीनताको पक्षमा निर्भीकताका साथ नउभिई बाह्य हस्तक्षेप र षड्यन्त्र रोक्न सकिन्न । यही मान्यताका साथ म आजको बिन्दुसम्म प्रयासरत छु । देश–जनताका हक–हितविरुद्धका विचार र गतिविधिविरुद्ध संघर्ष जारी रहनेछ ।’ उनले पार्टीभित्रका इमानदार उम्मेदवारप्रति संकेत गर्दै उनीहरूलाई जिताउन आह्वान गरेका छन् । ‘पार्टी कुनै अन्धविश्वास र अन्धभक्तिको मन्त्र जप्ने थलो होइन । देश र जनताको हितमा क्रियाशील रहनुपर्ने गतिशील संस्था हो । आगामी दिनमा राष्ट्रिय राजनीति र पार्टीको गति र मतिअनुरूप नै सर्वोपरी हित र स्वाभिमानको रक्षा एवं संवद्र्धन गर्ने अवसरका रूपमा सदुपयोग गर्दै सोहीअनुरूप उम्मेदवारलाई विजयी तुल्याउन मेरो आग्रह छ ।’
स्वेच्छाचारी, अन्यायपूर्ण र गलत भएको भन्दै उनले ओलीको निर्णयले जनता र पार्टी संगठनको घोर अपमान भएको पनि टिप्पणी गरेका छन् । अछाम १ मा रावलको नाम तलबाटै सर्वसम्मत केन्द्रमा पठाइए पनि ओलीले भने सुदूरपश्चिम प्रदेशका पूर्वअर्थमन्त्री झपट बोहरालाई टिकट दिने निर्णय लिएका थिए । बोहरा पूर्वमाओवादी समूहबाट एमालेमा रहेका नेता हुन् ।आफूलाई टिकट नदिइएपछि अछामका नेता–कार्यकर्ता स्वेच्छाचारी निर्णयविरुद्ध उत्रिएकोमा रावलले धन्यवाद दिएका छन् । उनले नेपालको संविधानको धारा २६९ विपरीत निश्चित दर्शन, सिद्धान्त र विचारबाहिर गएर पार्टीले गठबन्धन बनाएको भन्दै विरोध गरेका छन् ।
राष्ट्रहितविरोधी एमसिसी कार्यान्वयन
रावलले ओलीले एमसिसीसँगको सम्झौताबारे पार्टीबाट गठित कार्यदलको प्रतिवेदनलाई बैठकमा प्रस्तुत गर्न नदिई सो सम्झौतालाई प्रतिनिधिसभामा पेस गरेको आरोप लगाए । ओलीको निर्देशनमा तत्कालीन अर्थमन्त्री (युवराज खतिवडा)ले एमसिसी कार्यान्वयन सम्झौता गरेको र यस्तो गम्भीर विषयमा प्रतिनिधिसभामा छलफल गर्न नदिइएको जिकिर गरे । उनले नेपाल र भारत सम्बन्धको समग्र अध्ययन गर्न बनाइएको प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन बुझ्ने र बुझाउनेतर्फ बेवास्ता गरी राष्ट्रहितविरोधी काम गरेको बताए ।
गोयलसँगको भेटपछि अन्तर्विरोध चर्कियो
रावलले आधा रातमा पार्टी अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री ओलीले भारतीय गुप्तचरका प्रमुख सामन्त गोयलसँग बालुवाटारमा गुप्त भेटवार्ता गरेपछि राष्ट्रिय राजनीति झन् संकटग्रस्त अवस्थामा पुगेको भन्दै त्यसले तत्कालीन नेकपामा अन्तर्विरोध चर्केको पनि चर्चा गरे । उनले ओलीले दुईपटक गरेको प्रतिनिधिसभा विघटन पनि सम्झिए । ‘संविधानसभाबाट नेपालको संविधान बनाउँदा देशमा राजनीतिक स्थायित्व कायम गर्न प्रतिनिधिसभामा सरकार बनाउने विकल्प रहँदासम्म विघटन गर्न नपाइने भनी राखिएको प्रावधानविपरीत पार्टीमा कुनै छलफल नगरी ५ पुस ०७७ मा प्रतिनिधिसभा भंग गरियो,’ लिखित दस्ताबेजमा उनले उल्लेख गरेका छन्, ‘सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि ८ जेठ ०७८ मा पुनः प्रतिनिधिसभा विघटन गरियो ।’
दशबुँदेमाथि हेलाहोचो
उनले दशबुँदे सहमति गरी पार्टीको एकता जोगाउन भूमिका खेल्नेलाई ‘दशबुँदे र दश भाइ’ भनी हेलोहोचो गरिएको चर्चा गरे । ‘त्यति मात्र होइन उनीहरूलाई आमनिर्वाचनमा उम्मेदवारीबाट समेत वञ्चित गराउनु अन्यायपूर्ण प्रतिशोध भएको घामजत्तिकै छर्लंग छैन र ?’ रावलले प्रश्न गरे ।
यस्तै, दसौँ महाधिवेशनका क्रममा अन्याय भएको पनि जिकिर गरे । ‘विधान महाधिवेशनबाट निर्णीत दुई सय २५ सदस्यीय केन्द्रीय कमिटीको संख्या तीन सय एक पुर्याइनु, विद्युतीय मतदानका लागि प्रयोग मेसिनलाई राति २ बजे मतदान सुरु गर्ने समय राखेर तिनको निरीक्षण गर्न नदिने स्थिति सिर्जना गरिनु, यन्त्रमा प्रयोग गरिने मतपत्रलाई गुटका मानिसहरूको हातहातमा पुर्याई फलानोलाई मत नदिनू भनी खुला प्रचार गरिनु, कसैलाई पनि उम्मेदवार भई प्रतिस्पर्धा गर्न नदिन दबाबपूर्ण स्थिति सिर्जना गरिनु र मेरोविरुद्ध नाराबाजी गरिनुजस्ता क्रियाकलाप नेकपा एमालेको कुन विधान, पद्धति, अनुशासन र पराम्पराअनुरूप थिए ?’ उनको प्रश्न छ ।
झन्डै दुईतिहाइ बहुमतको पीडा पार्टीले व्यहोर्यो
पार्टी अध्यक्षकै कारण झन्डै दुईतिहाइको बहुमत प्राप्त पार्टीले तीन वर्ष बित्दा–नबित्दै संघ र प्रदेशमा सरकारबाट बाहिरिनुपर्ने अवस्था आएको रावलको आरोप छ । ‘पार्टीलाई व्यवस्थित गरी एकताबद्ध बनाउने र बहुमत प्राप्त सरकारलाई बुद्धिमत्तापूर्ण किसिमले पार्टीको सिद्धान्त र कार्यक्रमको मार्गमा पूरा अवधि चलाउने जिम्मेवारी पार्टी अध्यक्ष र प्रधानमन्त्रीको होइन र ? अरू कसैको टाउकोमा दोष थुपारेर इतिहासले क्षमा दिन सक्छ र ? टेकेका पाइलाहरू इतिहासमा नमेटिने गरी अंकित भइसकेका छन्,’ उनले भनेका छन्, ‘झन्डै दुईतिहाइको बहुमत प्राप्त पार्टीले तीन वर्ष बित्दा–नबित्दै संघमा र प्रदेशमा सरकारबाट बाहिरिनु परेको पीडा देश, जनता पार्टीपंक्तिले व्यहोरेको छ ।’
मेरो उम्मेदवारीमा विदेशी चलखेल भो
उनले विदेशी चलखेलका कारण आफूलाई उम्मेदवार बन्न नदिइएको आरोप पनि लगाए । ‘यहाँ मैले उम्मेदवारी पाएँ कि पाइनँ भन्ने विषयभन्दा नेकपा (एमाले) को घोषित दर्शन, सिद्धान्त, नीति र कार्यक्रमविपरीत दक्षिणपन्थी शक्ति र व्यक्तिहरूसँगको साँठगाँठ तथा स्वदेशी र विदेशी प्रतिक्रियावादीसँग सामीप्य र चलखेलले उम्मेदवारीमा दखल भएको त होइन भन्ने चिन्ता हो । नेपालको राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमान, अखण्डता र तथा विधि एवं सुशासनको पक्षमा उठ्ने आवाजलाई संसद्मा कमजोर बनाई दमन गर्ने खेलबाट नेपालको भविष्यमा पर्ने नकारात्मक असरप्रतिको सरोकार हो । मेरो उम्मेदवारी रोकिनुमा स्वदेशी तथा विदेशी प्रतिक्रियावादीले गाँज्दै आएको राजनीतिक परिवेशका वाहक जिम्मेवार रहेको सर्वत्र चर्चा छ,’ उनको दस्ताबेजमा उल्लेख छ ।
ओलीमाथि रावलका प्रश्न
‘होली वाइन’ र जसपाससँग संविधानविपरीत तालमेल किन ?
नेपालको संविधानको धारा २६९ ले पार्टीलाई निश्चित दर्शन, सिद्धान्त र कार्यक्रमको आधारमा चल्न निर्देशित गरेको छ । युनिफिकेसन चर्चसँग आबद्ध होली वाइन भनी चिनिएका एकनाथ ढकालको समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य सुनिश्चित गर्ने, निरंकुश व्यवस्थामा नेकपा (एमाले)का नेता र कार्यकर्ता प्रताडित गर्ने व्यक्ति कमल थापालाई हेटौँडामा उम्मेदवार बनाउने, आफैँले प्रतिक्रियावादी भनेको राप्रपा तथा अध्यक्ष ओली र माधव नेपालको राजविराजमा हत्याको दुष्प्रयास गर्ने जसपासँग चुनावी साँठगाँठ गर्ने, लोसपाका मानिसहरूलाई बिहान पार्टी प्रवेश गराएर दिउँसो उम्मेदवार बनाउने, धन र सत्ताका अनेकौँ कर्म र कुकर्म गरेकाहरूलाई धमाधम उम्मेदवार बनाउने कार्य पार्टीको कुन सिद्धान्त, विधि र अनुशासनभित्र पर्छ ? के यस्तै पार्टी र व्यक्तिलाई प्रश्रय दिएर समाजवाद आउँछ ? जनताको बहुदलीय जनवाद भनेको यही हो र ?
ओलीले टिकट पाउने, मैले नपाउने किन ?
पार्टी अध्यक्षकै कुरा गर्ने हो भने संसद्मा अत्यन्त संवेदनशील विषयमा समेत सहभागी नहुने, आफूलाई बोल्न मन लागेको वेला मात्र अरूलाई उपस्थित हुन उर्दी जारी गरेर झुल्किने, झन्डै दुईतिहाइको प्रधानमन्त्री हुँदा आधाभन्दा बढी समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउनेले उम्मेदवार हुन पाउने, तर देश र जनताका हित एवं सरोकारका विषयमा निरन्तर संसद् र संसदीय समितिमा सक्रियताका साथ आवाज उठाउने र कानुन निर्माणमा क्रियाशील रहनेले क्षेत्र, जिल्ला र प्रदेशबाट सर्वसम्मत एकल सिफारिस हुँदा पनि उम्मेदवार हुन नपाउने किन ?
रावल कसैको रणनीतिअन्तर्गत बोल्दै हुनुहुन्छ : विष्णु रिमाल उपमहासचिव, एमाले
भीम रावलका आरोपबारे अहिले धेरै चर्चा गर्नुपर्ने आवश्यकता छैन । उहाँ पार्टीको अनुशासनभित्र हुनुहुन्न । त्यसैले अनुशासनबाहिर रहेर कसले के बोल्छ, कसको रणनीतिअनुसार केका लागि बोल्छ, कसका लागि बोल्छन्, त्यसका पछाडि लागेर पार्टीले खण्डन गर्दै हिँड्दैन । उहाँले आफूलाई पार्टीमै रहेको बताउनुभएको छ । पार्टीमा रहेकाले त पार्टीभित्र, अनुशासनभित्र रहेर बोल्नुपर्ने हो । तर, अहिले उहाँ पार्टीको इक्युभ्यालेन्ट होइन । पार्टीमा रहने कि स्वतन्त्र नागरिक सदस्यको हैसियतमा रहने, बोल्ने ?