
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरू लुम्बिनीबाट ओलम्पिक टर्च र्याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन् । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले ओलम्पियन टर्च शान्तिदीपमा बालेर र्यालीका संयोजक उमेश मास्केलाई हस्तान्तरण गर्दैे खेलाडीलाई सफलताको शुभकामना दिएका छन् ।
नेपाल खोखो संघका महासचिवसमेत रहेका सदस्यसचिव शाक्यले लुम्बिनीको पवित्रभूमिबाट लगिएको ओलम्पियन टर्चले नवौँ राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीमा उत्साह थपिने बताए ।
मास्केको संयोजकत्वमा राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन सात सदस्यीय टोली शान्तिदीपबाट टर्च लिएर शुक्रबार पोखरा पुग्नेछ । खेलाडीले बिहीबार बिहान शान्तिदीपबाट टर्च लिएर लुम्बिनी मायादेवी मन्दिर परिसर परिक्रमा गरी पोखरातर्फ लागेका छन् ।
ओलम्पियन टर्च र्यालीका संयोजक उमेश मास्केले लुम्बिनी शान्तिदीपबाट लगिएको ओलम्पिक टर्चले पोखराका ओलम्पियनहरूमाझ पुर्याएर ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।
लुम्बिनी विकास कोषका सदस्यसचिव शाक्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, पुरातत्व शाखा प्रमुख हिमाल उप्रेती, लुम्बिनीका पर्यटन व्यवसायीले खेलाडीलाई खादा लगाएर स्वागतसहित सफलताको शुभकामना दिए । गण्डकी प्रदेशमा शुक्रबारदेखि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै छ ।