विश्वव्यापी मन्दीको जोखिम दिनप्रतिदिन बढ्दै गएको छ । विश्व व्यापार संगठन (डब्लुटिओ)का प्रमुखदेखि नोबेल पुरस्कार विजेता अमेरिकी अर्थशास्त्री पाउल क्रुुगम्यानसम्मका विज्ञले विश्वव्यापी मन्दीको सम्भावनाबारे सचेत गराएका छन् । केही दिनअघि स्विट्जरल्यान्डस्थित विश्व आर्थिक मञ्चले जारी गरेको २२ अग्रणी निजी तथा सार्वजनिक क्षेत्रका अर्थशास्त्रीहरूको एउटा नमुना सर्वेक्षणमा १० मध्ये सात उत्तरदाताले सन् २०२३ मा विश्वव्यापी मन्दीको सम्भावना रहेको बताएका थिए ।
यसैगरी, विश्वव्यापी मन्दीको सम्भावना अध्ययन गर्ने ‘ग्लोबल रेसेसन प्रोब्याबिलिटी मोडल’का लागि प्रख्यात फ्लोरिडास्थित अनुसन्धान केन्द्र नेड डेभिस रिसर्चले पनि आगामी वर्ष विश्वव्यापी मन्दीको सम्भावना ९८ दशमलव १ प्रतिशत रहेको देखाएको छ । अर्थात्, सन् २०२३ मा विश्वव्यापी मन्दीको सम्भावना एकदमै उच्च छ । यो सम्भाव्यता सन् २०२० को कोभिड–१९ महामारी सिर्जित मन्दी र सन् २००८–२००९ को विश्वव्यापी वित्तीय संकटपछिकै उच्च हो । युक्रेन युद्ध, चीनको महामारीसम्बन्धी कठोर नीति र उच्च मुद्रास्फीतिले आर्थिक परिदृश्यलाई धमिलो बनाइरहेको समयमा अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)को आक्रामक ब्याजदर वृद्धिको तयारीबीच लगानीकर्ताहरू अमेरिकासँगै बाँकी विश्व पनि मन्दीतर्फ धकेलिनेतर्फ चिन्तित छ ।
आर्थिक वृद्धिलाई गम्भीर धक्का नदिई ब्याजदर बढाउन सकिँदैन भन्ने फेडलगायत विश्वका अधिकांश केन्द्रीय बैंकले विगतको अनुभवबाट देखिसकेका छन् । ब्याजदर वृद्धिले ऋणका साथै लगानी र घरपरिवारको खर्चको समेत लागत बढाउँछ । आर्थिक वृद्धि लगातार दुई त्रैमास ऋणात्मक रहे त्यसलाई मन्दीको परिभाषा दिने गरिएको छ । सन् १९८० को दशकको डब्लू आकारको मन्दीलगायतका विगतका मन्दीका लागि फेडको मुद्रास्फीति नियन्त्रणको प्रयासलाई दोष दिने गरिन्छ । जेरोमी साइगेललगायतका अर्थशास्त्रीहरूले यसपटक फेडले ब्याजदर वृद्धिका लागि धेरै लामो प्रतीक्षा गराएको र पहिलेको अकर्मण्यताको परिपूर्ति गर्न एकैपटक उच्च वृद्धिको सहारा लिएको भनेर आलोचना गरेका छन् । अर्थतन्त्रको ‘सहज अवतरण’को आशा राख्दै फेड अध्यक्ष जेरोमी पावेल मुद्रास्फीतिमा लगाम लगाउने केन्द्रीय बैंकका अधिकारीहरूको प्रयासले मन्दीतर्फ लैजान्छ वा लैजाँदैन, लग्यो भने पनि त्यो कत्तिको घातक हुनेछ भन्नेबारेमा आफूहरूलाई ‘थाहा नभएको’ स्वीकार गर्छन् ।
विश्व व्यापार संगठनका प्रमुख पाउल क्रुगम्यानलगायतका अर्थविद्ले विश्वको आर्थिक परिदृश्यलाई लिएर चिन्ता व्यक्त गर्न थालेका छन् । मन्दीको जोखिम बढेको बताउने अर्थशास्त्रीको संख्या बढ्दै गएको छ ।
‘अमेरिकामा सन् २०२२ को अन्तिम महिनाहरूमा पनि स्फीति घट्ने संकेत देखिएन भने त्यसले फेडलाई सन् २०२३ को पहिलो त्रैमाससम्म आक्रामक ब्याजदर वृद्धिलाई जारी राख्न बाध्य पार्नेछ । मेरो विचारमा त्यस बखत अर्थतन्त्र मन्दीमा जानेछ,’ जर्ज वासिङ्टन विश्वविद्यालयका अर्थशास्त्रका सहायक प्राध्यापक पाओ–लिन टिएन एक अन्तर्राष्ट्रिय समाचार संस्थासँग भन्छन्, ‘आफ्नो मुद्राको रक्षा गर्न होस् वा मुद्रास्फीतिलाई नियन्त्रण गर्न, केन्द्रीय बैंकहरू आक्रामक रूपमा दरहरू बढाउन बाध्य भए भने विश्वका अन्य देशमा पनि यही अवस्था लागू हुन्छ । त्यसो हुँदा मन्दी अपरिहार्य बन्छ ।’
ड्युक विश्वविद्यालयको फुक्वा स्कुल अफ बिजनेसका प्राध्यापक क्यम्पवेल आर हार्वे चाहिँ फेडको कार्यले अमेरिकाको अर्थतन्त्रलाई सहजै मन्दीमा धकेल्न सक्ने, तर स्फीतिलाई घटाउन मन्दी एकदमै प्रभावकारी हुने बताउँछन् । ‘यद्यपि, मन्दी निकै पीडादायी हुन्छ,’ हार्वे भन्छन्, ‘कोही पनि लामो समयसम्म बेरोजगार रहन वा सरकारी सहायतामा जीविका चलाउन चाहँदैन ।’ अमेरिकी ऋणपत्र बजारको प्रतिफलका आधारमा मन्दीको प्रक्षेपणका लागि उनी अग्रणी मानिन्छन् । तथापि, पछिल्लो आठ मन्दीको भविष्यवाणी गर्न प्रयोग गरिएको ऋणपत्रमा लगानीको प्रतिफलको वक्रले आसन्न मन्दीलाई संकेत नगर्ने हार्वे बताउँछन् ।
युरोप र एसियामा जोखिम
अमेरिकाबाहिर आर्थिक संकट अझ सन्निकट देखिन्छ । मुख्यतः युक्रेनमा रुसी हमलापछि उत्पन्न ऊर्जा आपूर्तिको समस्याका कारण युरोपका तीन ठूला अर्थतन्त्र जर्मनी, इटाली र बेलायत आगामी वर्ष लामो मन्दीबाट गुज्रने अनुमान आर्थिक सहयोग तथा विकास संगठन (ओइसिडी)ले गरेको छ । सन् २०२३ मा युरोजोनले औसतमा शून्य दशमलव ३ प्रतिशत मात्रै वृद्धि हासिल गर्ने ओइसिडीको आकलन छ । उसका अनुसार आगामी वर्षभरि नै युरोपमा मन्दी रहनेछ ।
जब कि एसिया प्रशान्त क्षेत्र संकुचनबाट बच्ने अपेक्षा गरिएको छ । तर, चीनको ‘शून्य कोभिड’ नीति यो क्षेत्रको विकास सम्भावनामा गम्भीर बाधा बनिरहेको छ । केही दिनअघि विश्व बैंकले एसिया प्रशान्त क्षेत्रको आर्थिक वृद्धिको प्रक्षेपण ३ दशमलव २ प्रतिशतले कटौती गरेको छ । चीनको वृद्धि प्रक्षेपणलाई पनि विश्व बैंकले झन्डै आधा घटाएर २ दशमलव ८ प्रतिशतको प्रक्षेपण गरेको छ ।
हङकङस्थित नाटिक्सिक्सका वरिष्ठ अर्थशास्त्री ट्रिन्ह न्गुएनका अनुसार एसियाली अर्थतन्त्रहरू पनि बढ्दो ब्याजदरको प्रभावबाट मुक्त हुनेछैनन् । यद्यपि, यो क्षेत्रले ‘मन्दी नभई सुस्ती’ साक्षात्कार गरिरहेको छ ।‘स्फीति विश्वव्यापी घटना हो । स्फीतिमा वृद्धि अक्सर मन्दीसँग सम्बन्धित हुन्छ,’ हार्वे भन्छन्, ‘युरोप मन्दीमा गइसकेको अवस्थामा यदि अमेरिका पनि मन्दीमा गयो भने त्यसले मन्दीलाई विश्वव्यापी बनाउनेछ ।’