सत्यवती गाउँपालिका–८, भार्सेका ५५ वर्षीय यमबहादुर थापा सात वर्षदेखि किवीको व्यावसायिक उत्पादन गर्दै आएका छन् । पाँच रोपनीमा एक सय २० बोट किवी लगाएको उनको बारी किवीले ढाकिएको छ ।
लगाएको तीन वर्षबाटै किवी फल्ने भएकाले पछिल्लो चार वर्षदेखि उनले किवी बेच्न थालेका हुन् । गत वर्ष त्यति नफले पनि उनले डेढ लाखको किवी बिक्री गरेका थिए । यस वर्ष १५ क्विन्टल किवी बिक्री गर्ने उनको योजना छ । एउटै बोटमा ६० देखि ७० किलो फल्ने किवी साढे दुई सयदेखि तीन सय रुपैयाँ प्रतिकिलोमा घरबाटै बिक्री हुने थापाले बताए ।
यमबहादुर थापाले अहिले किवी रोपेको बारीमा पहिले गहुँ, मकै र भट्ट रोप्थे । लेक भएकाले बढीमा तीन जातको खेती वर्षमा हुन्थ्यो । त्यसमाथि बाँदर, बँदेल र चराचुरुंगीबाट जोगाउन मुस्किल पथ्र्यो ।
वर्षमा सबैतिरबाट जोगिए ५० हजारको समेत खाद्यान्न उत्पादन हुँदैनथ्यो । तर, किवीबाट थापाले वर्षमा १० देखि १५ लाख आम्दानी गर्छन् । सिजनमा आठ–दशजनाले काम पाउँछन् । बाँदर र बँदेलको चिन्ता भएन । उनले बिस्तारै किवी विस्तारको योजना पनि बनाएका छन् । ‘मैले सबैथोक त्यागेर किवी खेती गरेको छु । हावापानी हेरेर किवी रोपे पेन्सन हो,’ उनले भने, ‘सुरुको वर्ष लगानी गरेपछि वर्षौँ उत्पादन दिन्छ ।’
गाउँभरि किवी खेतीको लहर
सत्यवती गाउँपालिका–८, भार्सेमा किवीको लहर चलेको करिब एक दशक भयो । अहिले गाउँका लगभग सबैले किवी रोपेका छन् । त्यसबाहेक समूहमा पनि किवी रोपिएको छ । ठूलोपोखरी कृषि समूहमा ३० जना छन् । यो समूहले आठ वर्षदेखि किवी उत्पादन गर्दै आएका छन् । ठूलोपोखरी कृषि समूहले दुई सय ७५ बोट किवी रोपेका छन् । समूहका सदस्य धनबहादुर काउछाका अनुसार सुरुमा बिरुवा, तारपोल खरिद गर्ने, खाडल खन्ने र बिरुवा रोप्ने गर्दा एक बोटबराबर पाँच हजार लगानी हुन्छ । समूहले वार्षिक ५० हजारमा जग्गा भाडामा लिएको छ । गत वर्ष समूहको एकजनाको भागमा एक सय ४१ किलो परेको काउछाले बताए । अहिले ३०–३५ क्विन्टल उत्पादन हुने अनुमान छ ।