१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २५ मंगलबार
  • Saturday, 06 July, 2024
२o७९ असोज २५ मंगलबार o६:३o:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

को–को विरुद्ध पर्‍यो उजुरी ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २५ मंगलबार o६:३o:oo
  • देउवाको नागरिकता र मतदाता नामावलीमा जन्ममिति फरक रहेको भन्दै उजुरी
  • जेलसजाय भोगिरहेका रेशम चौधरीको उम्मेदवारी रद्द गर्न मागसहित उजुरी
  • सञ्जय गौतमको उम्मेदवारी खारेज गर्न कांग्रेसकै अर्का उम्मेदवारको उजुरी
  • बालुवाटार जग्गा प्रकरणको मुद्दा विचाराधीन रहेकै अवस्थामा उम्मेदवार बनेको भन्दै गच्छदारविरुद्ध उजुरी 
  • गगन थापा र राजन भट्टराईको टिकटको फर्म्याट नमिलेको भन्दै उजुरी

निर्वाचन आयोगले सोमबार प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारविरुद्धको उजुरी दर्ता गरेको छ । आयोगले एक सय ६५ निर्वाचन अधिकृतको कार्यालयमार्फत उजुरी लिए पनि कति संख्यामा परे भन्ने विवरण भने सार्वजनिक गरेको छैन । 

उजुरी प्रधानमन्त्री शेरबहादुर देउवादेखि जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीविरुद्धसम्म परेको छ । आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले परेका उजुरीका सम्बन्धमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जाँचबुझ गरी उम्मेदवारी कायम रहने–नरहनेबारे टुंगो लगाउने बताए । 

‘उम्मेदवारविरुद्ध उजुरी परेका छन् । उजुरीबारे सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले छानबिन गरी उजुरी पुष्टि हुने आधार भेटेमा उम्मेदवारी रद्द गर्ने र नभएमा उम्मेदवारी कायम रहनेबारे टुंगो लगाउनेछ,’ उनले भने, ‘यसको अधिकार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई नै रहन्छ । केन्द्रमा जानकारी गराउनुपर्ने बाध्यता रहँदैन । आयोग केन्द्रमा के–कति संख्यामा उजुरी परे र कस्ता उजुरी परे भन्ने जानकारी आएको छैन ।’

प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को व्यवस्थाअनुसार कुनै उम्मेदवारविरुद्ध अर्को उम्मेदवारले आफैँ या प्रतिनिधिमार्फत उजुरी गर्न सक्ने व्यवस्था छ । परेका उजुरीका सम्बन्धमा छानबिन भइरहेको आयोगले जनाएको छ । आयोगले कार्यतालिकाअनुसार मंगलबार ५ बजे नामावली प्रकाशन गर्ने जनाएको छ । आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ मा उम्मेदवारको अयोग्यताको आधारमा उजुरीको टुंगो लाग्ने बताए । वाग्लेले ऐनमा रहेको व्यवस्थाका आधारमा निर्वाचन अधिकृतले जाँचबुझ गर्ने र त्यसको आधारका अयोग्य घोषणा गर्न सक्ने बताए । 

देउवाविरुद्ध नागरिकता र मतदाता नामावलीमा जन्ममिति फरक रहेको उजुरी

एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवार रहेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नागरिकता र मतदाता नामावलीमा जन्ममिति फरक–फरक रहेको उजुरी परेको छ । उनीविरुद्ध अर्का उम्मेदवार कर्ण मल्लले उजुरी गरेका हुन् । उजुरीमा नागरिकतामा २००३ जेठ ३१ जन्ममिति उल्लेख भएको र मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख गरिएको छ । मल्ल बिपी कांग्रेसबाट उम्मेदवार रहेका छन् । 

रेशम चौधरीको उम्मेदवारी रद्द गर्न भन्दै उजुरी
कैलालीको टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीको उम्मेदवारी खारेज हुनुपर्ने भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । डिल्लीबजार कारागारमा रहेका चौधरीले आफ्नो बाबु लालवीर चौधरीमार्फत बर्दिया– २ मा उम्मेदवारी दर्ता गराएका थिए । उनीविरुद्ध माओवादी उम्मेदवार सुरेश पन्थले फौजदारी अभियोगमा जेल सजाय काटिरहेको चौधरी उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी गरेका हुन् ।

चौधरी नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका थिए । सोही क्षेत्रमा रेशमका बाबु लालवीरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कैलाली ४ बाट नागरिक उन्मुक्ति पार्टीका तर्फका उम्मेद्वारी दिएका लक्ष्मण थारुबिरुद्ध पनि उजुरी परेको छ । टिकापुर घटनामा अदातलबाट दोषी ठहर भएका थारुलाई उम्मेद्वार नबनाउन भन्दै उजुरी परेको हो। 

सञ्जय गौतमको उम्मेदवारी खारेज गर्न कांग्रेसकै अर्का उम्मेदवारको उजुरी
बर्दिया– १ मा कांग्रेस उम्मेदवार सञ्जय गौतमविरुद्ध अरुणप्रकाश राठोरले उजुरी दिएका छन् । सो क्षेत्रमा कांग्रेसले राठोर र गौतम दुवैलाई टिकट दिएपछि राठोरले आफू नै कांग्रेसको आधिकारिक उम्मेदवार रहेको भन्दै उजुरी दिएका हुन् । कांग्रेसले टिकट दिएपछि दुवैले आइतबार मनोनयन दर्ता गराएका थिए । मनोनयनका क्रममा गौतमले राठोरभन्दा अघि उम्मेदवारी दर्ता गराएका थिए । कांग्रेसबाटै दुईजनाको नाम लिखित रूपमा दर्ता भएको थियो । तर, आयोगले नाम प्रविष्ट गर्ने क्रममा एकै पार्टीबाट दुई उम्मेदवार हुन नसक्ने व्यवस्थाका कारण कम्प्युटर इन्ट्रीमा भने राठोरको नाम समावेश भएको थिएन । यसबारे राठोरले आयोगलाई जानकारी गराएका थिए । 

बालुवाटार जग्गा प्रकरणको मुद्दा विचाराधीन रहेको अवस्थामा गच्छदारविरुद्ध आयोगमा उजुरी 
सुनसरी– ३ मा कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारविरुद्ध बालुवाटार जग्गा प्रकरणको मुद्दा विचाराधीन रहेको अवस्थामा गच्छदारविरुद्ध आयोगमा उजुरी परेको छ । उनीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा भने कुनै उजुरी नपरेको निर्वाचन अधिकृत उमाकान्त पौडेलले बताए । तर, गच्छदारविरुद्ध एक व्यक्तिले निर्वाचन आयोगमा उजुरी दिएका छन् । यसबारे अनौपचारिक जानकारी आफूले पाएको निर्वाचन अधिकृत पौडेलले बताए । 

गगन थापा र राजन भट्टराईविरुद्ध टिकटको फर्म्याट नमिलेको भन्दै उजुरी
काठमाडौं–४ मा कांग्रेसबाट उम्मेदवार रहेका गगन थापा, एमालेका राजन भट्टराई र राप्रपाका ठाकुरमोहन श्रेष्ठले मनोनयनका क्रममा पेस गरेको टिकटको फर्म्याट नमिलेको भन्दै उजुरी परेको छ । काठमाडौं– ४ की निर्वाचन अधिकृत शारदादेवी पौडेलका अनुसार तीनजनाविरुद्ध एकै नेपालका लागि नेपाली पार्टीका उम्मेदवार दीपककुमार पोखरेलले उजुरी दिएका हुन् । ‘पार्टीको लेटरप्याडमा राख्दा अनुसूची ७ बमोजिमका ढाँचा नमिलेको भन्दै एकै निवेदनमा तीन उम्मेदवारविरुद्ध उजुरी परेको छ,’ पौडेलले नयाँ पत्रिकासँग भनिन् ।
 

ad
ad
ad
ad