मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असोज २५ मंगलबार ०६:१८:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

नागढुंगा सुरुङमार्ग तोकिएको समयमा नबन्ने : निर्माण कम्पनीले माग्यो थप नौ महिना

मुख्य सुरुङको लम्बाइ २६ सय ८८ मिटर रहेकोमा हालसम्म १,५४३ मिटर मात्रै निर्माण

Read Time : > 2 मिनेट
२०७९ असोज २५ मंगलबार ०६:१८:००

निर्माणाधीन नागढुंगा सुरुङमार्गको निर्माण कार्य निर्धारित समयमा नसकिने पक्का भएको छ । आयोजनाको पछिल्लो भौतिक प्रगतिअनुसार निर्माण कार्य ४२ प्रतिशत मात्रै सम्पन्न भएको छ । त्यस्तै, वित्तीय प्रगति भने ४७ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । तर, आयोजना सम्पन्न गर्नुपर्ने समय अब एक वर्ष पनि बाँकी छैन । सोहीकारणले समयमा शतप्रतिशत निर्माण कार्य सकिने सम्भावना नरहेको आयोजनाका सहायक प्रमुख माधव अधिकारीले बताए । 

सडक विभाग र जापानिज निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसनबीच भएको सम्झौताअनुसार अप्रिल ०२३ भित्र आयोजना निर्माण सम्पन्न गर्नुपर्नेछ । तर, बीचमा कोरोनाका कारण काम नभएपछि ८६ दिन म्याद थपिएको थियो । थपिएको समयअनुसार जुलाई ०२३ भित्र उक्त आयोजना बनिसक्नुपर्नेछ । तर, त्यस अवधिमा पनि आयोजना निर्माण नसकिने अधिकारीको भनाइ छ । 

सुरुङमार्ग डिसेम्बर ०२० (पुस ०७७) देखि निर्माण कार्य सुरु भएको थियो । काम सुरु गरेको ४२ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । कोरोनाका कारण त्यसमा ८६ दिन म्याद थप भइसकेको छ । तर, अहिले समयमै नसकिने भन्दै निर्माण कम्पनीले थप आठ–नौ महिना समय मागेको अधिकारीले बताए । ‘अहिलेसम्म काम आधा पनि भएको छैन । तर, बाँकी समय भने एक वर्ष पनि छैन । सोहीअनुसार आयोजनाको निर्माण कार्य समयमै नसकिने पक्कापक्की भएको छ,’ अधिकारीले भने, ‘निर्माण कम्पनीले हामीसँग थप आठ–नौ महिना समय मागेको छ । त्यसमा हामी छलफल गर्दै छौँ ।’

विशेष गरी सुुरुङमा पहिरो जाने समस्याका कारण निर्माणमा ढिलाइ भएको उनको भनाइ छ । ‘हामीले पहिला जुन साइजको सुरुङ बनाउने भनेका थियौँ, त्यहीअनुसार सुरुङ खन्यौँ । त्यसलाई रक बोल्टिङ, क्लाउटिङ गर्ने काम पनि गर्‍यौँ,’ उनले भने, ‘तर, पछि जमिन सर्ने (पहिरो जाने) समस्या देखिन थाल्यो । अहिले पनि त्यसलाई दैनिक १२ पटक (दुई घन्टाको अन्तरमा) विशेष निगरानी गर्नुपर्छ । त्यसले गर्दा अहिले हामी पर्ख र हेरको अवस्थामा छौँ । त्यसले गर्दा आयोजनाको निर्माण कार्य सोचेअनुरूप अघि बढ्न सकेको छैन ।’

थप समय मागेको छ 
माधव अधिकारी, सहायक प्रमुख, नागढुंगा सुरुङमार्ग आयोजना 

काम सुरु गरेको ४२ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । कोरोनाका कारण त्यसमा ८६ दिन म्याद थप भइसकेको छ । तर, अहिले समयमै नसकिने भन्दै निर्माण कम्पनीले थप आठ–नौ महिना समय मागेको  छ ।

जाइकाको सहयोगमा नेपाल सरकारले ०६९ देखि ०७२ सम्म यस आयोजनाको सर्वेक्षण गरेको थियो । यसलाई नेपालको पहिलो आधुनिक सुरुङमार्गको रूपमा लिइएको छ । यद्यपि, पहिलो सुरुङमार्ग भने राजाको पालामा हेटौँडामै बनेको थियो । आयोजनामा मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ८८ मिटर रहेको छ  । त्यसमा हालसम्म १,५४३ मिटर सुरुङ निर्माण भएको छ । पूर्व (काठमाडौं)बाट सात सय ८३ मिटर र पश्चिम (नागढुंगा)बाट सात सय ६० मिटर सुरुङ खनिसकिएको छ । 

यस्तै, इभ्याकुएसन सुरुङको कुल लम्बाइ दुई हजार पाँच सय ५७ मिटर रहेको छ । त्यसको भने एक हजार सात सय १५ मिटर सुरुङ खनिएको छ । त्यसमा पूर्वबाट नौ सय ३६ मिटर र पश्चिमबाट सात सय ७९ मिटर सुरुङ खनिएको छ । वर्किङ अडिटको शतप्रतिश अर्थात् एक सय २६ मिटर नै काम सम्पन्न भएको छ । क्रस–प्यासेजको भने ७४ मिटर निर्माण भएको छ । त्यसको कुल लम्बाइ एक सय २८ मिटर रहेको छ । 

यस्तै, सुरुङमार्गअन्तर्गतको तीनवटा अन्डरपासमध्ये दुईवटाको निर्माण सम्पन्न भइसकेको छ । यस्तै, आयोजनामा बन्ने चारवटैै बक्स कल्भर्ट (माथि गाडी, तल पानी बग्ने संरचना) निर्माण सम्पन्न भएको छ । यस्तै, आयोजनामा हुने एउटा अन्डरपास, तीनवटा पुलको पनि निर्माण सम्पन्न भएको छ । योबाहेक एक फ्लाइओभर पनि निर्माणको चरणमा रहेको आयोजाको भनाइ छ ।

आयोजनाको कुल लागत २२ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । पहिला २० अर्ब ६० करोड रुपैयाँमा उक्त अयोजना बन्ने भनिएको थियो । तर, जापानिज येन बलियो भएका कारण लागत बढेको हो । त्यसमा जाइकाले १६ अर्ब ६३ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउनेछ । बाँकी पाँच अर्ब ८५ करोड रुपैयाँ भने नेपाल सरकारको हुनेछ । नेपाल सरकारले उपलब्ध गराउने रकम जग्गाको मुआब्जा, संरचना र अन्य प्रशासनिक कार्यमा खर्च हुनेछ  । जाइकाले दिएको रकम भने ठेक्कामार्फत आयोजना निर्माणमा खर्च भइरहेको छ ।आयोजनामा २६ जनाको उच्च व्यवस्थापन जापानिज नेतृत्वमा रहेको छ भने करिब ५० जना नेपाली इन्जिनियर संलग्न छन् । कुल कामदार संख्या ६ सयको हाराहारीमा भएको आयोजना कार्यालयले जानकारी दिएको छ ।