१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २४ सोमबार
  • Saturday, 21 September, 2024
२o७९ असोज २४ सोमबार १o:४३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवन कांग्रेस : दिनेश कोइरालासहित जगन्नाथ पौडेल र राजेन्द्र बुर्लाकोटी ‘बागी’ उम्मेदवार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २४ सोमबार १o:४३:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। चितवन– ३ बाट प्रतिनिधिसभा सदस्य दाबी गरेका कोइरालालाई पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । ०७४ को स्थानीय चुनावमा उनले नेपाली कांग्रेसबाट भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए। तर, पछि उनले फिर्ता लिए ।

भरतपुरमा कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने निर्णय केन्द्रबाटै भएपछि रेनु दाहाललाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिनुपरेको थियो। अघिल्लो निर्वाचनमा ३ नम्बर अन्तर्गतको प्रदेश सभा (क)बाट पराजित भएका थिए। पार्टीभित्र उनी शेखर कोइरालानिकट मानिन्छन्। गएको स्थानीय निर्वाचनमा पनि कोइरालाले मेयरको आकांक्षा राखेका थिए । उनले पार्टी कसैको निजी नभएको भन्दै पार्टीलाई अनुशासनमा ल्याउन आफ्नो उम्मेदवारी रहेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको ३ नम्बर छोडेपछि नेकपा माओवादी केन्द्रबाट डा. भोजराज अधिकारीलाई साझा उम्मेदवार बनाइएको छ ।  केन्द्रीय सदस्य कोइरालाले पहिलेदेखि नै चितवन– ३ मा कांग्रेसको उम्मेदवार हुनुपर्ने बताउँदै आएका थिए । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा भरतपुर महानगरको मेयर पदमा कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेल पुनः प्रतिनिधिसभामा पनि उठ्ने भएका छन्। नेपाली कांग्रेसले स्थानीय चुनाव पार्टी मर्मविपरीत गएको भन्दै उनलाई कारबाही गरेको थियो । 

उनी स्थानीय चुनावमा गठबन्धनकी उम्मेदवार रेनुविरुद्ध मेयरका उम्मेदवार बनेका थिए । उनले १४ हजारभन्दा बढी मत ल्याएका थिए । यसपटक पनि रूख चिह्नको  उम्मेदवारलाई भोट हाल्न पाउनुपर्ने माग गर्दै आएका उनले चितवन– ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिए ।

चितवन– १ मा नेपाली कांग्रेसले अन्तिम समयमा डा. विश्व पौडेललाई उम्मेदवार बनाएपछि कांग्रेसका पुराना नेता राजेन्द्र बुर्लाकोटीले बागी उम्मेदवारी दिएका छन् ।

यसअघिका दुई निर्वाचनमा एमाले नेता सुरेन्द्र पाण्डेसँग पराजित भएका बुर्लाकोटीले यसपटक  ‘जित्न सजिलो’ ठानेर अन्तिम युद्ध लड्न तयार थिए । तर, अन्तिममा उम्मेदवारी नपाएपछि स्वतन्त्र उम्मेदवारी दिए । पार्टीमा योगदान नै नभएका व्यक्तिलाई टिकट दिँदा कार्यकर्ता र समर्थक निराश भएको भन्दै उनीहरूको मन राख्न आफ्नो उम्मेदवारी रहेको बुर्लाकोटीले बताए ।