कर्णाली नदीमा पानीकाे बहाव बढेपछि बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा बाढी पसेकाे छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले सो क्षेत्रका सयौँ घर डुबानमा परेका छन् ।
कर्णाली नदीको बाढीले बर्दियाको राजापुर नगरपालिकाको वडा नं. १, ३, ४, ६ का विभिन्न गाउँका करिब आठ सयभन्दा बढी घर प्रभावित भएको प्रारम्भिक तथ्यांक आएको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए । कर्णाली नदीमा रहेको पानीको सतह खतराभन्दा माथि १२ मिटर पुगेपछि सो क्षेत्रमा गएरातिदेखि बाढी पसेको स्थानीय लोकराज ढुंगाना बताए ।
यस्तै, गेरुवा गाउँपालिकाको वडा नं. १, २ र ३ का गाउँमा पानी पसेको छ । पूर्वजानकारी गराएको कारणले धेरै धनजनको क्षति हुन नपाएको गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले बताए । क्षतिको विवरण र प्रभावितकाे विवरण संकलन कार्य जारी रहेको उनले बताए ।
कर्णाली नदी व्यवस्थापन आयोजनाले निर्माण गरेको ड्यामसहितको तटबन्धमाथिबाट पानी छल्किएर गाउँतर्फ पसेको स्थानीयवासीले जनाएका छन् । बाढी प्रभावित क्षेत्रमा अहिले उद्धारको कार्य भइरहेको छ । बाढी प्रभावितलाई सुरक्षित स्थानमा सारेर राखिएको छ । बाढी प्रभावितको तथ्यांक संकलन र प्रभावितको विवरण संकलन गर्ने कार्य भइरहेको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।