नेपालमा मात्र नभई प्रत्येक वर्ष विश्वभरि नै डेंगु संक्रमण फैलिने गरेको छ । विशेष गरी डेंगु, चिकनगुनिया, जिकार मलेरिया संक्रमण फैलाउने लामखुट्टेको अनुकूल मौसममा प्रत्येक वर्ष लाखौँ मानिस प्रभावित हुने गरेका छन् । हरेक वर्ष लाखौँ मानिस लामखुट्टेको टोकाइबाट सर्ने यी रोगबाट पीडित बन्ने गरे पनि हालसम्म यकिन औषधि र भ्याक्सिन उपलब्ध हुन सकेका छैनन् ।
नेपालमा साउनयता फैलिएको डेंगु संक्रमण दैनिक औसत एक हजारभन्दा बढीमा देखिन थालेको छ । नेपालमा यो वर्ष हालसम्मकै सबैभन्दा धेरैमा डे्ंगु संक्रमण पुष्टि भइसकेको छ भने दैनिक संक्रमणदर निरन्तर उकालो लागिरहेको छ । हाल बागमती र लुम्बिनीमा बढी फैलिइरहेको संक्रमण केही सातापश्चात् तराई क्षेत्रमा फैलिने जोखिम रहेकाले संक्रमण पुससम्मै रहने चिकित्सकहरू बताउँछन् ।
नेपालमा हालसम्म ३२ हजार आठ सय ९० जनामा संक्रमण पुष्टि भएको छ भने संक्रमणबाट ४२ जनाको मृत्यु भएको इपियोडोमोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाउँछ ।
युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलको तथ्यांकअनुसार लामखुट्टे बाँच्न सक्ने मौसमअनुकूल भएको समयमा विश्वका अधिकांश देश डेंगुबाट प्रभावित हुने गरेका छन् । तर, लामखुट्टे नियन्त्रणका लागि लार्भा र प्युपा नष्ट गर्न औषधि छर्किने, विशेष गरी फगिङ (लामखुट्टे फैलिन नदिन हावामा औषधि मिसाउने विधि) अपनाइने हुँदा यसको प्रभाव बढ्न दिइँदैन । इडिसिडीको तंथ्याकअनुसार जुनदेखि हालसम्म विश्वका ३३ देश डेंगुबाट प्रभावित भइरहेका छन् ।
जुनदेखि फैलिएको डेंगु संक्रमणबाट ब्राजिल, भियतनाम, फिलिपिन्स, इन्डोनेसिया र पेरुमा यो वर्ष अति प्रभावित भइरहेको इडिसिडीको तथ्यांकले देखाउँछ । यसबाहेक विशेष गरी दक्षिण एसियाली देशहरूसमेत अति प्रभावितको सूचीमा छन् । हाल नेपालसहित भारत, पाकिस्तान, श्रीलंकामा डेंगु संक्रमण फैलिइरहेको छ ।
भ्याक्सिन उपलब्ध छैन
वर्षौँदेखि डेंगु भाइरस संक्रमण चुनौतीपूर्ण बन्दै आए पनि डेंगुविरुद्धको दीर्घकालीन सुरक्षा दिने भ्याक्सिन अझै उपलब्ध छैन । यसका लागि डेंगु भ्याक्सिन (सिवाइडी–टिडिभी) नामक खोप भए पनि यो सबैलाई सहजै उपलब्ध छैन । यो डेंगुविरुद्धको पहिलो खोप भए पनि केही देशका नौदेखि ४५ वर्ष उमेर समूहमा मात्रै प्रयोग हुँदै आएको छ । यो भ्याक्सिन सन् २०१५ मा ल्याइएको थियो ।
डेंगु भाइरसमा हुने चारवटा सेरोटाइपहरूमध्ये यो भ्याक्सिनले एउटा सेरोटाइपविरुद्ध मात्रै काम गर्छ । यस्तै, यो भ्याक्सिन बालबालिका र वृद्धवृद्धामा समेत प्रयोगका लागि अनुमति दिएको छैन ।
विशेषज्ञका अनुसार एक भाइरल सेरोटाइपविरुद्ध प्रतिरक्षा एन्टिबडी संक्रमित भएमा वा विकास गर्दा बिरामीलाई अर्को सेरोटाइपबाट थप गम्भीर संक्रमण हुन सक्ने भएकाले भ्याक्सिन प्रभावकारी मानिँदैन । भारतको नेसनल सेन्टर फर बायालोजिक साइन्सले डेंगुविरुद्धको डिएनए भ्याक्सिन निर्माण गरिरहेकोे छ । पछिल्लो समय प्रकाशित ट्रायल अध्ययनले भाइरसका चारवटै सेरोटाइपबाट ‘इडिआइआइआई’ नामक सबैभन्दा महत्वपूर्ण भाइरल प्रोटिनको एक भागबाट भ्याक्सिन निर्माण गरेको जनाएको छ ।
औषधि नहुँदा उपचारमा समस्या : डा. शेरबहादुर पुन भाइरोलोजिस्ट
डेंगुलगायतका भाइरल संक्रमणको यकिन औषधि उपलब्ध नभएकाले संक्रमण नियन्त्रणमा समस्या हुने गरेको चिकित्सक बताउँछन् । लक्षणका आधारमा गरिने उपचारले कतिपय अवस्थामा भाइरल संक्रमणको लोड थेग्न नसक्ने हुँदा महामारीको रूपमा फैलिने गरेको भाइरोलोजिस्ट डा. शेरबहादुर पुन बताउँछन् । उनी भन्छन्, ‘भाइरल संक्रमणको यकिन औषधि छैन । डेंगु संक्रमणको उपचारका लागि पनि शरीरका विभिन्न भागको दुखाइको उपचारका लागि सिटामोलको प्रयोग गरिँदै आएको छ । यो प्रत्येक भूगोल र भाइरलको प्रकृतिका आधारमा औषधिको प्रयोग फरक हुन सक्छ । तर, कुनै एउटा औषधि भन्ने यकिन हुँदैन ।’
कमजोरीपन, शरीरका विभिन्न भागको दुखाइ र ज्वरोको उपचारका लागि डेंगु संक्रमितमा सिटामोल मात्रै प्रयोग हुँदै आएको छ । यसबाहेक अन्य दुखाइ कम गर्ने औषधिले साइडइफेक्टको जोखिम रहने भएकाले अन्य औषधिको प्रयोग नगर्न चिकित्सकले सुझाव दिँदै आएका छन् ।