नेकपा (माओवादी केन्द्र) छाडेर भर्खरै एमाले प्रवेश गरेका हुम्लाका छक्कबहादुर लामाले उम्मेरदवारी मनोनयनको अघिल्लो दिन 'राजनीतिक छक्का' हानेका छन्।
एमाले जिल्ला कमिटी हुम्लाले सर्वसम्मत सिफारिस गरेका छिमी लामा (आसाकर)लाई व्याक गर्दै छक्कबहादुरले प्रदेश सभा (ख)को टिकट पाएका छन्। शुक्रबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास गएका उनी प्रदेश सभातर्फ (ख)को टिकट हात पार्न सफल भएका हुन्।
‘पार्टीको पछिल्लो निर्णयअनुसार हुम्लामा प्रतिनिधिसभामा दल रावल, प्रदेश सभा (क)मा दल फडेरा र प्रदेश सभा (ख)मा छक्कबहादुर लामालाई उम्मेरदवार बनाउने अन्तिम निर्णय भएको हो,’ हुम्लाका एक एमाले नेताले भने, ‘पार्टीका अर्का नेता छिमी दोर्जी लामालाई अब उचित व्यवस्थापन गर्ने सल्लाह हुँदै छ।’
प्रदेश निर्वाचन क्षेत्र (ख)को उम्मेदवारका लागि तयार गरेर अन्तिममा व्याक हुनुपरेपछि छिमी असन्तुष्ट छन्। पार्टीले आफूसँग कुनै सल्लाह नै नगरी निर्णय लिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।
लामो समयदेखि आफूलाई पार्टीले पेलेको महसुस गर्दासमेत चुपचाप बसेको प्रतिक्रिया दिँदै छिमीले अब कसरी अघि बढ्ने भन्नेबारेमा आन्तरिक सल्लाह गरिरहेको बताए।