मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका कावासोती
२०७९ असोज २२ शनिबार ०६:३७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वी नवलपरासीमा एक सय ४४ घर डुबानमा    

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, कावासोती
२०७९ असोज २२ शनिबार ०६:३७:००

अविरल वर्षापछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर पूर्वी नवलपरासीका एक सय  ४४ घर डुबानमा परेका छन् । बुधबार रातिदेखि परेको अविरल वर्षापछि जिल्ला हुँदै बग्ने नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर उक्त संख्याका घर डुबानमा परेका पूर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तोष पाठकले जानकारी दिए ।

उनका अनुसार बाढीका कारण गैँडाकोटमा ८०, मध्यबिन्दुमा २०, विनयी–त्रिवेणीमा २८ र हुप्सेकोटमा १६ घर गरेर एक सय ४४ घर डुबानमा परेका हुन् ।    

यसैगरी, लगातार वर्षाले गर्दा खसेको पहिरोका कारण जिल्ला सदरमुकामबाट पहाडी क्षेत्रका स्थानीय तह बौदीकाली र बुलिङटार जोड्ने दलदले–कुमसोत– पोखरी सडकको पांग्रेमा पहिरो जाँदा अवरुद्ध भएको सडक चालू हुन सकेको छैन भने जिल्लाको गैँडाकोटबाट पहाडी क्षेत्र जोड्ने कालीगण्डकी करिडोरमा गएको पहिरोसमेत पन्छाउन नसक्दा कालीगण्डकी करिडोरसमेत अवरुद्ध भएको प्रवक्ता पाठकले जानकारी दिए ।

पहाडी क्षेत्र जोड्ने मुख्य सडकहरू पहिरोले अवरुद्ध हुँदा त्यहाँ पछिल्लो ७२ घन्टादेखि सडक सम्पर्कबाट विच्छेद भएको छ । सडक सम्पर्कविच्छेद भएपछि दसैँ मान्न घर गएकाहरू फर्किन पाएका छैनन् भने बिरामी भएर सदरमुकाम र चितवनसम्म पुग्नुपर्ने बिरामी समस्यामा परेका छन् । पहाडी क्षेत्रलाई जोड्ने सडक अवरुद्ध भएपछि सो क्षेत्रका बासिन्दा सदरमुकाम आउनुपरे तनहुँको भिमान–खैरेनीटार–मुग्लिन–नारायणगढ हुँदै कावासोती आउनुपर्ने बाध्यता भएको छ ।     

लगातार परेको वर्षापछि खसेको पहिरोका कारण जिल्लाको बौदीकाली र बुलिङटारमा दुईवटा घर र बुलिङटारमा एउटा गोठमा क्षति पुगेको प्रहरीले जनाएको छ । त्यस्तै, जिल्लाकै विनयी–त्रिवेणी–१ बगुवनमा नारायणीमा आएको बाढी पस्दा दुई सय हेक्टरभन्दा बढीमा भएकाे पाक्न लागेको धानबालीमा पूर्ण रूपमा क्षति पुगेको छ ।     

नारायणी नदीमा यस वर्षकै उच्च बाढी आएका कारण जिल्लाको नदीतटीय क्षेत्रको जनजीवन पूर्ण रूपमा क्षति भएको छ । गण्डक बाँधमा शुक्रबार साँझ ८ बजे चार लाख १२ हजार पानीको बहाव मापन गरिएको जिल्लाका प्रहरी प्रमुख भूवनेश्वर तिवारीले जानकारी दिए ।