मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २० बिहीबार
  • Tuesday, 17 December, 2024
२o७९ असोज २० बिहीबार १९:३७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजमार्गमा जताततै पहिरो, सिस्नेखोलामा सडक अवरुद्ध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २० बिहीबार १९:३७:oo

धादिङको पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको विभिन्न स्थानमा पहिरो र बाढीका कारण राजमार्गमा यातायात साधन सञ्चालनमा समस्या आएको छ । त्रिभुवन राजपथअन्तर्गत धुनीबेँसी नगरपालिकाको सिस्नेखोला सुरुङमार्ग क्षेत्रमा लगातारको पहिरो हटाउनसमेत समस्या भएको छ । लगातारको वर्षाले सडकमाथिबाट अनियन्त्रित रूपमा पहिरो झरिरहेको छ । डोजर र एक्स्काभेटर तयारी अवस्थामा राखिए पनि पहिरो हटाउन समस्या आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए । 

पृथ्वी राजमार्ग क्षेत्रमाथि गाउँमा स्थानीय सरकारले जथाभावी सडक खनेका कारण पहिरो आउने, लेदो बग्ने र काठमाडौं भित्रिने राजमार्ग अवरुद्ध हुने गरेको छ । तीन दिनदेखिको लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको आदमघाटमा सडकमाथिबाट पहिरो र रूखसमेत आएर राजमार्ग अवरुद्ध भएको छ । सुरक्षाकर्मीले सडकमा आएको पहिरो र रूख हटाएर यातायात सञ्चालन गराएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी श्यामबहादुर खत्रीले बताए । 

गल्छी गाउँपालिका महेशदोभान बैरेनी क्षेत्रमा सडकमाथिबाट लेदो आएर सडकमा यातायात अवरुद्ध भएको छ । गल्छी बजारमा सडकमाथिबाट आएको पहिराेका कारण सवारीसाधनको राजमार्गमा लामो जाम लागेको छ । डोजरको सहायताले पहिरो पन्छाउने काम भइरहेको भए पनि लगातारको पहिराेले यातायात सञ्चालनमा कठिनाइ आएको छ । धादिङबेँसीबाट उत्तरी नाकामा पर्ने रुविभ्याली र खनियाबास क्षेत्रसँग आउने–जाने बाटो अवरुद्ध भएको छ ।

ठाउँठाउँमा पहिरो गएपछि यातायातका साधन दुई दिनदेखि चल्न छाडेका छन् भने मानिससमेत आवतजावत गर्न कठिनाइ भएको खनियाबासका इमान तामाङले जानकारी दिए । लगातारको वर्षाले खोला तथा नदीमा बहाव बढेको छ भने पहिरो जाने सम्भावना भएका क्षेत्रमा समेत सतर्क रहन गाउँवासीलाई जिल्ला विपत् व्यवस्थापन समितिले आग्रह गरेको छ ।

जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सूचना जारी गर्दै जिल्लाका १३ स्थानीय तहलाई विपत् पूर्वतयारीमा रहन र विपतमा परेकाकाे राहत र उद्धारमा लाग्नसमेत आग्रह गरेका छन् ।