रेसुंगाको काखमा निर्माण भइरहेको गर्जुरा पार्क चिटिक्क बन्न थालेको छ। ३.९६ हेक्टर क्षेत्रफलमा फैलिएको पार्कभित्र भ्युटावर, फोटोग्राफी जोन, बालबालिकाका लागि प्ले जोन, पिकनिक स्पट, शौचालय, प्रशासकीय भवन, टिकट काउन्टर र पुलसहितको पोखरी निर्माण भइसकेका छन्।
पाँच करोड ५९ लाख ५३ हजार रुपैयाँ लागतमा धुलिखेल–अर्जुन–न्यु लिजा जेभी तम्घास गुल्मीले पार्क निर्माणको काम गरिरहेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ७० र रेसुंगा नगरपालिकाको ३० प्रतिशत साझेदारीमा पार्क निर्माण थालिएको हो। गर्जुरा पार्कले धार्मिक, ऐतिहासिक, प्राकृतिक एवं पर्यटकीय दृष्टिकोणले सम्पन्न रेसुंगाको सौन्दर्य झनै बढाउने अपेक्षा गरिएको छ।
रेसुंगा नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमका अनुसार अब अब भिर पिङ, दूरबिन र पार्क आइकनसहितका केही काम मात्र बाँकी छ। सम्झौताअनुसार निर्माण व्यवसायीले ६८ प्रतिशत भौतिक प्रगति गरिसकेका छन्। तर, वित्तीय प्रगति भने निकै कम अर्थात् ३३ प्रतिशत रहेको रेसुंगा नगरपालिकाका इन्जिनियर कृष्ण कोइरालाले जानकारी दिए।
उनका अनुसार केन्द्रबाट रकम नै आएको छैन। यसै वर्षको फागुन मसान्तसम्म पार्क निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ। समयमै निर्माण व्यवसायीलाई कामअनुसारको रकम भुक्तानी गरे तोकिएकै समयमा पार्कको काम पूरा हुने उनले बताए।
‘भुक्तानी पाए दुई महिनामा काम सकिन्छ’
पार्क निर्माण गरिरहेका निर्माण व्यवसायी विजय खनालले आफूहरूले ८५ प्रतिशत काम सक्दा ३३ प्रतिशत मात्रै भुक्तानी पाएको गुनासो गरे। समयमै कामको भुक्तानी भएको भए अहिलेसम्म काम सम्पन्न गरी पार्क बुझाउने अवस्था आएको हुने उनको दाबी छ।
‘समाजमा निर्माण व्यवसायीलाई मात्रै दोषी देख्नेहरू धेरै छन्। तर, हाम्रो विडम्बना बुझ्ने कोही छैन,’ उनले भने, ‘कामअनुसारको पैसा पाए दुई महिनामा काम बुझाउँछु।’