मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १५ शनिबार
  • Thursday, 19 December, 2024
पिटर फ्रान्कोपन
२o७९ असोज १५ शनिबार o९:o४:oo
Read Time : > 4 मिनेट
विश्व प्रिन्ट संस्करण

हजार वर्षपछि कस्तो देखिनेछ पृथ्वी ?

Read Time : > 4 मिनेट
पिटर फ्रान्कोपन
नयाँ पत्रिका
२o७९ असोज १५ शनिबार o९:o४:oo

अहिलेको जलवायु परिवर्तनको असर र जैविक परिघटनालाई पार गरेर बाँच्ने हाम्रा सन्ततिहरूले आफूलाई पूर्ण रूपमा भिन्न संसारमा पाउनेछन्, जहाँ कृत्रिम बौद्धिकता, मंगलग्रहमा आधार शिविर, आनुवंशिक रूपमा परिष्कृत बालबच्चाजस्ता कल्पना महत्वहीन हुनेछन् । तिनका लागि अस्तित्वको प्रश्न नै सबैभन्दा बढी ज्वलन्त हुनेछ ।

के हाम्रो मानव प्रजाति अझै एक हजार वर्षसम्म अस्तित्वमा रहला ? पृथ्वीको अस्तित्वको तुलनामा मानिसहरूले यो ग्रहमा टहलिन थालेको धेरै भएको छैन, त्यसैले भविष्यको कुनै बिन्दुमा भावी प्रजातिका लागि मानव प्रजातिको अस्तित्व नामेट हुने तर्क गर्न सकिने केही आधार छन् । पृथ्वीमा हाम्रो समय सन् ३०२२ अगावै सकिने हो भने त्यसबखत पनि संसार आजको भन्दा धेरै फरक देखिनेछैन भनेर कल्पना गर्नु उचितै हुनेछ ।

निःसन्देह, जीवाश्म इन्धनको अनुपस्थितिमा वायुमण्डल सफा हुनेछ । जंगल, फलफूल र झारपातले सहरबजारलाई पुनः ढाक्नेछन् र हरियाली छाउनेछ । मानिसहरू तितरवितर भएपछि प्रकृतिले आफ्नो क्षेत्र फिर्ता लिनेछ । तपाईंले ग्वाटेमालाको टिकल वा कम्बोडियाको अङ्कोरलाई मात्र हेर्दा पनि हुन्छ । त्यहाँका लाखौँ बासिन्दालाई एक हजार वर्षअघि तपाईंले अबको एक हजार वर्षपछि तिमीहरूको सहर भग्नावशेष र पर्यटकले भरिने भविष्यवाणी गर्नुहुन्थ्यो भने उनीहरूले तपाईंको कुरालाई विश्वास गर्ने थिएनन् । उतिवेला ती महानगरहरू विनियमको जटिल सञ्जालको केन्द्र थिए अनि सांस्कृतिक, राजनीतिक र सैन्य महत्वाकांक्षाले परिपूर्ण थिए ।

यी महानगर र राज्यविस्तारै पतन हुदै गएसँगै त्यहाँबाट मानिसहरू तितरवितर भए । त्यसमा जलवायुको पनि आंशिक भूमिका रह्यो । दशकौँ चलेको खडेरीसहित वर्षाको ढाँचामा आएको परिवर्तनले नै सभ्यताहरूको पतन भएको भने होइन । जसै यी जलवायुजन्य दबाबले विद्यमान समस्यालाई चर्काउन थाले प्रतिद्वन्द्विताको भावना बढ्यो, हिंसालाई बढावा मिल्यो, कृषि उत्पादनमा कमी आयो र त्यसले मानव जीवनलाई दुःसाध्य बनाएर त्यहाँको सभ्यतालाई पतनमा पुर्‍याएको थियो ।

यसपटकको कथा भने अलि भिन्न छ । जलवायु परिवर्तनको वर्तमान दर यस्तो छ कि वैज्ञानिकले ‘छैटौँ सामूहिक विलोपन(पतन)’को कुरा गरिरहेका छन्: वातावरणमा मानिसको अतिशय अतिक्रमण र विश्व तापमानसँग सम्बन्धित ह्रासोन्मुख जैविक विविधताले सबै प्रकारका वनस्पति र जीवजन्तुको क्षयलाई साक्षात्कार गरिरहेको छ । यो क्षयीकरण स्केल (परिमाण) र गति दुवैमा आश्चर्यजनक छ । अस्तित्व संकटको सामना गर्न केही जीवजन्तु एवं वनस्पति असफल हुँदा केहीले राम्रैसँग सामना गर्न सक्छन् । तर, मानवले राम्रोसँग सामना गर्न सक्छ भन्नेमा आशंका गर्न सकिन्छ । 

केही अध्ययनअनुसार जलवायु दबाब उच्चतम बिन्दुमा पुगिसकेकाले तत्कालै सम्पूर्ण उत्सर्जन रोकिए पनि तापक्रम उल्लेख्य मात्रामा बढ्नेछ । यसको अर्थ हामी सन् २०१५ को जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताका लक्ष्यहरू हासिल गर्न सक्दासमेत समुद्रको सतहमा ११ देखि ३० इन्चसम्मको वृद्धि हुने अवस्थामा पुगिसकेका छौँ । अधिकांश उष्णकटिबन्धीय क्षेत्रहरूमा गर्मीको स्तर ५० देखि १०० प्रतिशतले बढ्नेछ । केही त भविष्यलाई लिएर एकदमै निराशावादी सुनिन्छन्– एउटा नयाँ अध्ययनले विश्वव्यापी औसत तापमान परिवर्तनलाई पेरिस लक्ष्यमा सीमित राख्न सकिने सम्भावना ०.१ प्रतिशत मात्र देखाएको छ । यसले जनसंख्या उष्णप्रदेशीय क्षेत्रबाट सुदूरउत्तर र दक्षिणतर्फ धकेलिने सम्भावनालाई अवश्यंभावी देखाउँछ । व्यापक दायराको मोडलिङ(अध्ययनको प्रारूपं)ले सन् २५०० सम्ममा अमेजन मरुभूमिमा परिणत हुने देखाउँछ । तापक्रम निरन्तर बढ्दै जाँदा समुद्रको सतह दशौँ मिटरले बढ्नेछ र हामीले अहिले देखेको विश्वको ठूलो हिस्सालाई पानीले ढाक्नेछ । 

तपाईंले ग्वाटेमालाको टिकल वा कम्बोडियाको अङ्कोरका लाखौँ बासिन्दालाई एक हजार वर्षअघि आगामी एक हजार वर्षपछि तिमीहरूको सहर भग्नावशेष हुनेछ भन्ने भविष्यवाणी गर्नुहुन्थ्यो भने उनीहरूले तपाईंको कुरालाई विश्वास गर्ने थिएनन् । उतिवेला ती महानगरहरू विनियमको जटिल सञ्जालको केन्द्र थिए अनि सांस्कृतिक, राजनीतिक र सैन्य महŒवाकांक्षाले परिपूर्ण थिए ।

तापक्रम विश्वभर समान रूपमा वृद्धि हुनेछैन । यसको बोझ उष्णप्रदेशीय क्षेत्रका न्यून आय भएका देशका विपन्नमा सबैभन्दा बढी पर्नेछ । हाम्रा सामु कस्ता विपत्ति आउँदै छ भन्ने प्रक्षेपण डरलाग्दा छन् । हामी यसको झल्को यसै वर्षका विपत्तिमा देखिसक्यौँ । बेलायतमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्यो । चीनमा पनि अहिलेसम्मकै कडा हिटवेभ(तातो लहर) दर्ज भएको छ । पाकिस्तानमा सामान्यभन्दा करिब ८०० प्रतिशत बढी वर्षा भएको कारण करोडाैँ मानिस प्रभावित भए, देशको एकतिहाइ भूभाग पानीमा डुब्न पुग्यो । दक्षिणी गोलाद्र्धमा हिउँदको तापक्रम दक्षिण अमेरिकामा ४५ डिग्री सेल्सियसभन्दा माथि पुग्यो । अन्टार्टिकाको केही भागमा पनि तापक्रम औसतभन्दा ४० डिग्री सेल्सियसमाथिसम्म पुग्यो । अचानक आएको बाढीले अमेरिकाको डेथ भ्याली प्रभावित भयो, जहाँ वार्षिक औसतको एकतिहाइ वर्षा तीन घन्टामा भएको थियो । हामीले यसलाई कसरी सामना गर्छाैं र आफूलाई अनुकूलन गर्छौँ, त्यो नै २१औँ शताब्दीको प्रश्न हुनेछ भने यसै प्रश्नको उत्तरले अर्को सहस्राब्दीलाई आकार दिनेछ । 

हामी यसलाई सुधार्न सक्छौँ भनेर आशावादी हुन सकिने केही कारण छन् । एउटा कुरा, केही नयाँ प्रविधिले हामीले प्राकृतिक वातावरणमा पुर्‍याउने क्षतिलाई रोक्न सक्छन् । अर्काे कुरा, विशेष गरी उच्च र मध्यम आय भएका देशहरूमा जन्मदर घट्नुको अर्थ भाविष्यमा जनसंख्या कम हुनेछ । यसले उपभोगको ढाँचा निरन्तर नबढ्दासम्म सीमित स्रोत–साधन र नवीकरणीय स्रोतहरूमाथिको दबाबलाई कम गर्नेछ । अहिले जुन दरमा प्राकृतिक स्रोत खर्च भइरहेका छन्, त्यसको अर्थ तिनीहरूको प्रतिस्थापन भइरहेको छैन भन्ने पनि हो । यसकारण पनि जनसंख्याको कमी निकै महत्वपूर्ण सवाल हो । हालैको एउटा रिपोर्टअनुसार आजको जीवनस्तर कायम राख्न मानवजातिलाई अहिले १.६ वटा पृथ्वी चाहिन्छ । आगामी शताब्दीमा विश्वको जनसंख्यामा तीव्र गिरावट आयो भने त्यसमा परिवर्तन हुन सक्छ । हामी के प्रयोग गर्छाैँ र कसरी प्रयोग गर्छाैँ भन्ने सवालमा अझ किफायती हुनेछौँ ।

जलवायु परिवर्तनको सिइला (ग्रिक पौराणिक कथामा वर्णित विपत्तिकी प्रतिमूर्ति)बाट बच्न सकियो भने पनि मानव सिर्जित र प्राकृतिक प्रकोपको करिवड्स (ग्रिक पौराणिक कथामा राक्षसनीको रूपमा चित्रित सिसिलीको तटमा रहेको एउटा भुमरी) अर्थात् महाविपत्तिहरूले हामीमध्ये धेरैलाई निल्न सक्छ । सैन्य टकरावको सम्भावना जीवितै र पर्याप्त रहेको याद दिलाइरहन नपर्ला । युक्रेन, ताइवान र द्वन्द्वका अन्य सम्भावित क्षेत्रका समाधान फेला पार्न सकिएछ नै भने पनि आउँदा शताब्दीमा आणविक हतियारको प्रयोग नहोला भन्न सकिने स्थिति छैन । बरु सवाल यसले कत्तिको ठूलो प्रभाव पार्छ र मानव प्रजातिको अस्तित्वलाई नै नामेट त पार्दैन भन्ने हो । नयाँ जलवायु मोडल (अध्ययन)ले के देखाउँछ भने आणविक हतियारको सीमित प्रयोगले समेत वायुमण्डलमा यति धेरै प्रदूषण (धैमल) घोलिदिन्छ कि थुप्रै क्षेत्र कैयाैँ वर्ष खेतीका लागि अनुपयुक्त हुनेछन् । त्यसको दुष्प्रभावस्वरूप अन्ततोगत्वा पूर्णस्तरको ‘न्युक्लिअर विन्टर(आणविक ठन्डी)’ उत्पन्न भएर आफ्नो दायरामा मानव जीवनलाई नै चुनौती दिनेछ ।

रोगको वातावरणमा आइरहेको परिवर्तनलाई विचार गर्दा कोभिड– १९ महामारीजस्ता परिघटना आम हुँदै जाने देखिन्छ । एउटा अनुसन्धानले जलवायु परिवर्तनले यो शताब्दीको अन्त्यसम्ममा विश्वको ९० प्रतिशत जनसंख्यालाई मलेरिया र डेंगुको जोखिममा पार्ने देखाएको छ । विकसित देशहरूमा स्वास्थ्य प्रणाली राम्रो हुँदै गएको भए पनि जारी कोरोना भाइरसको महामारीले उपचारको मागमा आकस्मिक वृद्धिले प्राथमिक स्वास्थ्य सेवा–सुविधा, स्वास्थ्य कर्मचारी र उपकरणमा नाटकीय प्रभाव पार्न सक्छ भन्ने देखाएको छ । करिब ६० प्रतिशत संक्रामक रोग बाढी, खडेरी वा समुद्री वातावरणमा बदलावजस्ता जलवायु विपत्तिले फैलाउने गरेका छन् । मानव जातिले एन्टिबायोटिकको बढ्दो प्रतिरोधको पनि सामना गर्नुपर्नेछ, जसको परिणामस्वरूप सन् २१०० सम्ममा करोडौँ मानिसको मृत्यु हुनेछ । यदि नयाँ औषधि र प्रविधि फेला परेनन् भने सम्भवतः त्यसपछि झन् धेरैको मृत्यु हुनेछ ।

यी जलवायु र जैविक परिघटनालाई पार गर्ने हाम्रा सन्ततिले आफूलाई पूर्ण रूपमा भिन्न संसारमा पाउनेछन्, जहाँ कृत्रिम बौद्धिकता, मेसिन–लर्निङ, उड्ने कार, मंगल ग्रहमा आधार शिविर, आनुवंशिक रूपमा परिष्कृत बालबच्चा र काल्पनिक विज्ञानका उत्पादन कम रोचक र कम महत्वका हुनेछन् भने अस्तित्वको प्रश्न सबैभन्दा बढी ज्वलन्त हुनेछ । हामीमध्ये (यदि कोही बाँकी रह्यौँ भने) कतिजना सन् ३०२२ लाई हेर्न बाँकी रहनेछाैँ भन्ने नै एउटा उपयुक्त प्रश्न हुन्छ । यद्यपि, हामी जुन दरमा अघि बढिरहेका छौँ, त्यसलाई हेर्दा संसार अहिलेको टिकल (माया सभ्यताको एउटा परिवार) र अङ्कोर (कम्बोडियाको प्राचीन पर्यटकीय क्षेत्र) जस्तै शान्त हुनेछ, तर त्यसलाई हेर्न पर्यटकहरू भने हुनेछैनन् । 

 (पिटर फ्रान्कोपन अक्सफोर्ड विश्वविद्यालयमा विश्व इतिहासका प्राध्यापक छन् । उनी प्रकाशोन्मुख पुस्तक ‘क्लाइमेट ः अ लस्ट हिस्ट्री’ (ब्लुम्सबरी, २०२३)का लेखक पनि हुन् ।) द इकोनोमिस्ट