मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कांग्रेस पार्टी कार्यालय सानेपामा धर्ना दिइरहेका शेखर–गगन समूहका नेता–कार्यकर्ता । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १३ बिहीबार ०५:५८:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज डिजिटल संस्करण

सत्तागठबन्धनको मुद्दा बन्यो कांग्रेस विवाद

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १३ बिहीबार ०५:५८:००

सिट बाँडफाँडलाई लिएर सत्तारूढ दल कांग्रेसभित्र उत्पन्न विवाद गठबन्धनकै मुद्दा बनेको छ । कांग्रेसको असन्तुष्ट समूहले आफ्नै पार्टी र अन्य दलमाथि दबाब बनाएपछि गठबन्धनभित्रै यस विषयले प्रवेश पाएको हो । 

कांग्रेसको असन्तुष्ट समूहले सिट बाँडफाँडमा आफ्नो समूहलाई नसमेटे गठबन्धनलाई असहयोग गर्ने चेतावनी दिन थालेपछि राजनीतिक तरंग पैदा भएको छ । आन्दोलनमा उत्रेको कांग्रेसको संस्थापनइतर समूहका नेताले पार्टी नेतृत्व र गठबन्धनका अन्य नेताहरूसँग पनि छलफल गरेका छन् । 

इतर समूहका नेताले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहितका पार्टी नेता र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटेर छलफल गरेका छन् । बुधबार बिहान कांग्रेस महामन्त्री गगन थापाले खुमलटार पुगेर कांग्रेस विवाद र गठबन्धनमा पर्न सक्ने असरबारे छलफल गरेका छन् । 

माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसको आन्तरिक विवाद र निर्वाचनमा गठबन्धनको विषयमा चासो राखेका थिए । ‘पार्टीभित्रको आन्तरिक आयाम नमिलाईकन दलका बीचमा मात्रै गठबन्धन गर्दा त्यसले परिणाम नदिने’ थापाको भनाइ थियो । ‘पार्टीभित्रको आन्तरिक आयाम नमिलाईकन दलका बीचमा मात्रै गठबन्धन गर्दा त्यसले परिणाम दिँदैन,’ महामन्त्री थापाको भनाइ थियो । 

भेटमा महामन्त्री थापाले गठबन्धनमा सहमति भएका भनिएका अधिकांश स्थान आफ्नो समूहले दाबी गरेका र जित्ने आधार भएका स्थान रहेकाले त्यसको असर निर्वाचनमा पर्न सक्नेतर्फ संकेत गरेका थिए । ‘हाम्रो नेतृत्व विकास भएका स्थानहरू माओवादी र एकीकृत समाजवादीलाई दिइएको छ,’ महामन्त्री थापाको भनाइ थियो, ‘यसलाई सम्बोधन नगरी जाँदा निर्वाचनमा असर देखिन सक्छ ।’

थापासँगको भेटमा प्रचण्डले आफूले यसबारे सभापति देउवासँग छलफल गर्ने बताएका थिए । त्यसलगत्तै प्रचण्ड र देउवाबीच भेट भएको थियो । देउवाले आफूले पार्टीको आन्तरिक विवाद मिलाएर जाने भन्दै गठबन्धनमा कुनै असर नपर्ने भन्दै प्रचण्डलाई आश्वस्त पारेका थिए । 

प्रचण्डसँगको भेटपछि देउवाले महामन्त्री थापालाई बालुवाटारमा बोलाएर आफू पार्टीभित्रको समस्या समाधान गरेर जान तयार रहेको भन्दै गठबन्धनलाई असर पर्ने गतिविधि नगर्न सचेत गराएका थिए । जवाफमा महामन्त्री थापाले आफ्नो समूहलाई निर्वाचनमा न्याय नगरे अपेक्षाकृत परिणाम नआउने भन्दै अडान कायम रहेको बताएका थिए । 

असन्तुष्ट समूहका नेतासँगको भेटमा कांग्रेस सभापति देउवाले सबै पक्षलाई मिलाएर जान आफू तयार रहेको बताएका छन् । ‘गठबन्धनबाहिर जानेछैन । पार्टीभित्रका सबै समस्या मिलाएर नै गठबन्धन गर्ने हो । गठबन्धन गर्दा नै हामीलाई फाइदा हुन्छ । गठबन्धनलाई असर पुर्‍याउने गरी गतिविधि नगर्नूस् । मैले सबै मिलाएरै गर्ने भनेकै छु,’ भेटमा देउवाले भनेको उद्धृत गर्दै कांग्रेसका एक नेताले भने । 

इतर समूहका नेता डा. शेखर कोइरालाले संवाद भएका र वार्ताको परिणाम हेरेर आगामी रणनीति तय गरिने बताएका छन् । ‘मैले पनि संवाद गरेको छु, अरू पदाधिकारीले पनि छलफल गरिरहनुभएको छ । बन्दसूचीलाई सकारात्मक बनाउने, पार्टीका साथीहरूको भावना समेट्ने र प्रतिनिधित्व गर्ने विषयमा छलफल भइरहेको छ,’ डा. कोइरालाले निकट नेताहरूको भेलामा भने, ‘१४ गते साँझसम्म यसलाई राम्रो बनाएर आयोगलाई सूची बुझाउन सार्थक प्रयत्न गर्छौँ । गर्न सकेनौँ भने १५ गते सँगै बसेर कसरी अगाडि बढ्ने भन्ने छलफल गरौँला । तपाईंहरूको भावनाविपरीत जाने छैन । साथीहरूलाई अन्यायमा पर्न दिनेछैन । हिँड्दै जाऔँ, कहाँ पुगिन्छ ।’

भेलामा महामन्त्री गगन थापाले वार्ता सकारात्मक भएको र अझै एक–दुई दिन हेर्नुपर्ने बताएका छन् । ‘अहिलेसम्म भएका छलफल सकारात्मक छन् । बन्दसूची सच्याउन १४ गते ५ बजेससम्म समय छ । यस अवधिमा परिणाम आउनुपर्‍यो, वार्ता परिणाममुखी हुनुपर्‍यो,’ उनले भने, ‘नतिजा आयो, परिणाममुखी भयो भने त्यसपछि प्रत्यक्षतर्फको छलफल अगाडि बढ्छ । खबरदारी अभियानको औचित्य सकिन्छ । परिणाम आएन भने १५ गतेबाट हामी पनि सँगै हुन्छौँ, अडान फेरिनेछैन ।’

समानुपातिकको बन्दसूचीको विषयलाई लिएर पछिल्लो समय इतर समूहले दबाबमूलक गतिविधि गर्दै आएको छ । यसैको निरन्तरतास्वरूप बुधबार इतर समूहका दोस्रो तहका नेताहरूको सहभागितामा पार्टी कार्यालय सानेपामा एक घन्टा मौन धर्ना भएको थियो । 

धर्नामा सहभागी नेता गुरुराज घिमिरेले न्यायका लागि आफ्नो विचार समूहले दबाब दिइरहेको बताए । उनले १४ गते साँझसम्म बन्दसूचीलाई न्यायोचित रूपमा परिमार्जन नगरिए १५ गतेबाट अर्को चरणको आन्दोलन थाल्ने चेतावनी दिए । इतर समूहले आन्दोलनकै क्रममा आज गौशालामा आफ्नो समूहको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम राखेको छ । पछिल्लो समय इतर समूहको विरोध कार्यक्रमलाई पदाधिकारी र शीर्ष नेताबाहेक दोस्रो तहका नेताले नेतृत्व गरिरहेका छन् । 

शेखर–गगन समूहले पछिल्लो समय देउवालाई थकाउने, थर्काउने र अडान नछाड्ने रणनीति लिएको नेताहरू बताउँछन् । यसैअनुसार समूहले धर्ना र वार्ता सँगसँगै अगाडि बढाएको छ । इतर समूहले बुधबार पार्टी कार्यालयमा धर्ना दिएको छ । धर्नापछि नेताहरूलाई बोलाएर डा. कोइराला, महामन्त्री थापा र सहमहामन्त्री बद्री पाण्डेले पार्टीमा भइरहेको छलफलबारे नेताहरूलाई जानकारी गराएका थिए । 

केन्द्रीय सदस्य कोइरालाले देउवालाई भने– समानुपातिक सिट भनेको पत्नी तथा परिवारलाई दिइने अंश होइन

इतर समूहका नेता तथा केन्द्रीय सदस्य दिनेश कोइरालाले समानुपातिक सूचीमा समानुपातिक निर्वाचन मर्मविपरीत नाम समावेश भएको भन्दै विरोध गरेका छन् । सभापति देउवालाई ६ बुँदे सुझावसहितकोे पत्र लेख्दै उनले समानुपातिक सिट कुनै वंशका लागि आरक्षण नभएको टिप्पणी गरेका छन् । उनले संघ तथा प्रदेश संसद्मा एकाघर परिवार तथा दम्पतीबाट एकजनाभन्दा धेरैलाई अवसर नदिन र समानुपातिक उम्मेदवार चयन गर्दा आर्थिक रूपमा विपन्नलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

‘समानुपातिक सूची आरक्षित सिट हो । आरक्षण पाउन लायक जाति, समुदाय, क्षेत्र तथा व्यक्तिहरूलाई समानुपातिक उम्मेदवारका रूपमा प्रस्ताव गरिनुपर्ने हो । त्यसविपरीत समानुपातिक निर्वाचन प्रणालीको आदर्श र मर्मको गला रेटेर पहुँचवाल, नातागोता, वंश, परिवार, आसेपासे तथा अर्थबलले सुसज्जित पात्रहरूलाई प्रस्ताव गरिएको देखिन्छ,’ कोइरालाले पत्रमा उल्लेख गरेका छन्, ‘समानुपातिक उम्मेदवार चयन गर्दा पार्टीभित्रको खास गुट, खास परिवार र खास नेताहरूको ताबेदारीहरूलाई प्राथमिकता दिइएको छ ।

समानुपातिक सिट भनेको पत्नी तथा परिवारलाई दिइने अंश होइन, समानुपातिक सिट भनेको आफ्नो वंशका लागि आरक्षण होइन भन्ने सन्देश नेपाली कांग्रेसले देशव्यापी रूपमा दिनुपर्ने अवस्थामा त्यसविपरीत काम गरिएको छ ।’