मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस गोरखा
२०७९ असोज ११ मंगलबार १०:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मनास्लु हिमपहिराे : एकजनाको मृत्यु, १० को सकुशल उद्धार

Read Time : < 1 मिनेट
रासस, गोरखा
२०७९ असोज ११ मंगलबार १०:२३:००

उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिराेमा परी बेपत्ता भएकामध्ये एकजनाको मृत्यु भएको छ भने १० जनाको सकुशल उद्धार गरिएको छ । मृत्यु हुनेमा संखुवासभाका अनुप राई रहेकाे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए । 

मृतक राईको शव आधार शिविरबाट उद्धार गरेर काठमाडौंको टिचिङ अस्पताल लैजाने तयारी भइरहेको उनले बताए । हिमपहिराेमा परेका अन्य १० जनाको भने सकुशल उद्धार गरिएको प्रहरी उपरीक्षक खनालले जानकारी दिए ।  सोमबार अबेरसम्म चारजनाको उद्धार गरिएको र थप ६ जनाको मंगलबार बिहान उद्धार गरिएको उनले बताए । 

आज बिहानैदेखि हेलिकोप्टरमार्फत पुगेको उद्धार टोलीले हिमपहिराेमा परेका निमादोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ, निमा शेर्पा र फुर्ते शेर्पाको उद्धार गरेर सामागाउँ ल्याइएको प्रहरी उपरीक्षक खनालले जानकारी दिए । ‘सामागाउँसम्म ल्याइएका सबै घाइतेलाई उपचारका लागि बिहानै काठमाडौं पठाइएको छ,’ उनले भने, ‘उनीहरूको राजधानीस्थित करुणा अस्पतालमा भर्ना गरी उपचार सुरु भएको छ ।’

पहिरोमा परी उद्धार गरिएका दुईजनाको अवस्था भने सामान्य भएकाले उनीहरू आधार शिविरमा नै बसेर काम गरिरहेको उनले बताए । हिमपहिराेमा परेकाहरूको उद्धारका लागि आज बिहान सिम्रिक एयरको दुईवटा, कैलाश र एभरेस्ट एयरको एक–एक गरी चार हेलिकोप्टर परिचालन गरिएको थियो ।