युक्रेनको खार्किभ प्रान्तमा भ्यादिमिर पुटिनका सेनाको नराम्रो हारले रुसले आणविक हतियारको सहारा लिन सक्ने चिन्तालाई पुनर्जीवित गरेको छ । ‘मलाई उनीहरूले अप्रत्याशित रूपमा जवाफी हमला गर्ने हुन् कि भन्ने भय छ,’ नाटोका पूर्वउपमहासचिव गोट्टेमोइलर भन्छिन्, ‘उनीहरूले आम विनाशका हतियारसमेत प्रयोग गर्न सक्छन् ।’ गोट्टेमोइलरले बिबिसीसँग कुरा गर्दै आफू रसियासँग रहेका महासागरहरू पार गरेर धेरै टाढासम्मका सहरहरू ध्वस्त बनाउन सक्ने ठूलो परिमाणका अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलहरूसँग होइन कि ऊसँग रहेका तथाकथित रणनीतिक आणविक हतियारहरूका कारण चिन्तित रहेको बताइन् । रणनीतिक हतियार के हुन्, अनि के पुटिनले युद्ध हार्दै गए यसको प्रयोग गर्न सक्छन् ?
रणनीतिक आणविक हतियार (विज्ञहरू गैररणनीतिक शब्द प्रयोग गर्न रुचाउँछन्) भनेका तुलनात्मक रूपले कम तौल र क्षमताका अस्त्र हुन् । यी हतियारले केही किलोटन वा त्यसभन्दा कम शक्ति उत्पन्न गर्ने क्षमता राख्छन् । बि १६–२१ (क्षमतामा फेरबदल गर्न सकिने अमेरिकी रणनीतिक हतियारलाई जनाउने नाम)लाई रणनीतिक हतियारको रूपमा प्रयोग गर्ने हो भने त्यसले शून्य दशमलव तीन किलोटन जतिको ताप एवं ऊर्जा उत्पन्न गर्छ । त्यो भनेको हिरोसिमामा खसालिएको बमको पाँच भागको एक अंश जति हो । सन् २०२० को अगस्टमा बेरुतमा अलपत्र रूपमा भण्डारण गरिएका केही हजार टन एमोनियम नाइट्रेटको विस्फोटले यस्ता साना विस्फोटसमेत कति भयानक हुन सक्छन् भन्ने देखाइसकेको छ । तर, यी हतियार पूर्णस्तरको आणविक हतियारको आदानप्रदानको तुलनामा भने एकदमै कम विनाशकारी हुन्छन् ।
अमेरिकासँग युरोपका आफ्ना सैन्य हवाई अखडाहरूमा करिब एक सयजति यस्ता रणनीतिक आणविक हतियार छन् । यी मुख्यतः नेटो सहयोगी मुलुकहरूलाई न्युक्लियर डिटरेन्स (आणविक प्रतिभय) प्रदान गर्न यहाँ राखिएका हुन् । तर, रसियासँग यस्ता हतियार हजाराैँको संख्यामा रहेको अनुमान गरिन्छ । उसले यी हतियारलाई उन्नत परम्परागत हतियारमा नेटोको शक्तिको क्षतिपूर्तिका रूपमा हेर्ने गर्छ । यद्यपि, यिनको सैन्य उपयोगिता एकदमै सीमित छ । अहिलेका परम्परागत (गैरआणविक) प्रिसिजन–गाइडेड अस्त्रहरू एकदमै सटिक खालका छन् र गहिरा भूमिगत बंकर एवं कमान्ड पोस्टहरूबाहेकका अधिकांश निसानालाई ध्वस्त पार्ने क्षमता राख्छन् ।
रुसका सटिक हतियारहरूले भने अक्सर आफनो निसाना चुकेको देखिन्छ र उसको शस्त्रागारमा ती सकिँदै पनि गएका छन् । रणनीतिक आणविक अस्त्रहरू व्यावहारिक विकल्प होइनन्, किनभने दीर्घकालीन सैन्य प्रभाव सिर्जना गर्न यी हतियारलाई ठूलो संख्यामा प्रयोग गर्नुपर्ने हुन्छ । भारत–पाकिस्तानको परिदृश्यमा गरिएको एउटा अध्ययनले पाँच किलोटनको एउटा आणविक अस्त्रले यदि छरिएर रहेका छन् भने बढीमा १३ वटा ट्यांकलाई नष्ट गर्न सक्ने निष्कर्ष निकालेको छ । गतिशील लक्ष्यहरू पत्ता लगाउन र सटिक रूपमा निसाना साध्ने सन्दर्भमा रुसको क्षमता निकै कमजोर देखिएको छ ।
रुसले यी अस्त्र दमनको उपकरणका लागि भन्दा पनि युद्धभूमिमा प्रगति गर्ने उपायको रूपमा प्रयोग गर्ने हो कि भन्ने डर छ । सन् २०१८ देखि २०२१ सम्म युरोपका लागि काम गरेका शीर्ष अमेरिकी गुप्तचर अधिकारी क्रिस्टोफर चिभभिस रुस सन् २०१४ बाट क्राइमियालाई आफूमा गाभेपछिका विभिन्न युद्धहरूमा रुसले आणविक परीक्षण वा ठूलो क्षेत्रमा सञ्चार विच्छेद गर्ने गरी उच्च उचाइमा विस्फोटको अवसरहरू खोजिरहेको आशंका पश्चिमका विज्ञ एवं सैन्य अधिकारीको रहेको बताउँछन् । उनी यस्तो विस्फोटले ओस्लोलाई अन्धकार बनाएको कल्पना गर्न भन्छन् । गोट्टेमोइलर भने कृष्णसागर वा युक्रेनी सैन्य संरचनामाथि यस्तो आक्रमणको सम्भावना औँल्याउँछिन् । त्यसको उद्देश्य युक्रेनीहरूलाई आतंकित तुल्याएर आत्मसमर्पण गराउनु हुने उनको बुझाइ छ ।
रुसी आणविक हतियार प्रयोग गर्ने विषयमा पुटिन एकल निर्णयकर्ता होइनन् । आणविक हतियार प्रयोगको निर्देशन दिने कोड रहेको रुसी आणविक ब्रिफकेस तीन रुसी अधिकारीले बोक्छन् । तीमध्ये पुटिन एक हुन् भने बाँकी देशका रक्षामन्त्री सर्गेई सोइगु र चिफ अफ स्टाफ जनरल भ्यालेरी गेरासिमोभ हुन् ।
यसलाई रुसको घोषित नीतिसँग जोडेर हेर्नु गाह्रो हुनेछ । पछिल्ला वर्षमा उसले आणविक अस्त्रको प्रयोगको थ्रेसहोल्डलाई विस्तार गरेको छ । ‘रुसी महासंघको राष्ट्रिय सुरक्षामा गम्भीर अवस्था’ (सन् २०००)आए आणविक अस्त्रको प्रयोग गर्न सकिनेबाट ‘आक्रमकता... वा परम्परागत हतियारहरूबाट समेत मुलुकको अस्तित्वमा खतरा पैदा भएको लागेमा’ (सन् २०१४) समेत यसको प्रयोग गर्न सकिने गरी दायरा बढाएको छ । यद्यपि, पुटिनले आफ्नो सत्तामा कुनै खतरा आएको ठानेको र युक्रेनसँगको हारलाई अस्तित्वको रक्षाका रूपमा लिएको खण्डमा समेत यसको सम्भावना छ । यदि युक्रेनी सेनाले रुसी सेनालाई एकदमै दक्षिणतर्फ धकेल्दै लग्यो र क्राइमियालाई पुनः कब्जा गर्न सक्ने देखियो भने पनि पुटिन जोखिम मोल्न प्रेरित हुन सक्छन् ।
त्यस अवस्थामा समेत जोखिम निकै ठूलो हुनेछ । युक्रेनका आधारहरू अथवा कृष्णसागरमाथि हुने रणनीतिक आणविक आक्रमण निकै ठूलो घटना हुनेछ । किनकि सन् १९४५ पछि संसारमा आणविक हतियार प्रयोग भएको छैन । साथै त्यसले पनि युक्रेनी प्रत्याक्रमणलाई रोक्छ नै भन्ने निश्चित हुनेछैन । सेप्टेम्बर १४ मा एक लेख सहलेखन गर्ने क्रममा युक्रेनका शीर्ष कमान्डर भ्यालेरी जालुझ्नीले भनेका छन्, ‘आणविक आक्रमणले पनि रुसले युक्रेनको प्रतिरोधको चाहनालाई कमजोर बनाउन सक्दैन ।’
आणविक हतियार प्रयोगको निर्णयले रुससँग मित्रवत् रहेका वा पछिल्लो युद्धमा अ–संलग्न रहेका मुलुक भारत र चीन पनि रुससँग टाढिन सक्छन् । उनीहरूबीचको सम्बन्ध धराशयी हुन सक्छ । साथै आणविक हतियारको प्रयोग भएपछि पश्चिमी शक्तिले प्रत्यक्ष रूपमा सेना परिचालन गर्ने बाटो खुल्न सक्छ (विशेषज्ञ रेडियोलोजी टिमकै रूपमा भए पनि), जुन पुटिनले चाहेका छैनन् ।
रुसी आणविक हतियार प्रयोग गर्ने विषयमा पुटिन एकल निर्णयकर्ता पनि होइनन् । आणविक हतियार प्रयोगको निर्देशन दिने कोड रहेको रुसी आणविक ब्रिफकेस तीन रुसी अधिकारीले बोक्छन् । तीमध्ये पुटिन एक हुन् भने बाँकी देशका रक्षामन्त्री सर्गेई सोइगु र चिफ अफ जनरल स्टाफ जनरल भ्यालेरी गेरासिमोभ हुन् । आणविक आक्रमण सुरु गर्नका लागि तीनमध्ये दुई टर्मिनलले कोड पठाउनुपर्छ । आणविक आक्रमण सुरु गर्ने निर्णयमा विरोध हुन्छ वा ऐक्यबद्धता हुनेछ भन्ने कुरा अहिले स्पष्ट भइसकेको छैन । यदि पुटिनको निर्देशन पालना भएन भने त्यो पुटिनको शासनमाथि प्रत्युत्पादक हुनेछ ।
रुसले आणविक हतियार प्रयोग गर्ने वा नगर्ने विषयमा पश्चिमी विज्ञहरू विभाजित छन् । एक पक्षले आणविक आक्रमणको जोखिम एकदम उच्च रहेकाले परिस्थिति नियन्त्रणबाहिर जानुअघि युक्रेनी सरकारलाई वार्तामा बस्न मनाउनुपर्ने पक्षमा छन् । अर्को पक्ष भने पश्चिमले युक्रेनलाई उन्नत हतियार पठाएर रुसको कब्जामा रहेको भूमि फिर्ता ल्याउने डरमा पुटिनले आणविक जोखिमलाई बढाइचढाइ गरेको बताइरहेका छन् । यसको यथार्थ के हो त्यो स्वयं पुटिनबाहेक अरूले भन्न सक्ने अवस्था छैन ।