१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
द इकोनोमिस्ट द इकोनोमिस्ट
२०७९ कार्तिक १५ मंगलबार २१:४१:००
Read Time : > 2 मिनेट
दृष्टिकोण डिजिटल संस्करण

ब्राजिल नराम्रोसँग विभाजित मात्रै छैन, आर्थिक संकटसँग पनि जुझिरहेको छ

Read Time : > 2 मिनेट
द इकोनोमिस्ट द इकोनोमिस्ट
२०७९ कार्तिक १५ मंगलबार २१:४१:००

लुइज इनासिओ लुला डी सिल्भा अन्तिमपटक सन् २००३ देखि २०१० को बीचमा सत्तामा रहँदा ‘परमेश्वर ब्राजिलियन’ हुन् भनेर ठट्टा गर्थे । भर्खरै अक्टोबर ३० मा सकिएको राष्ट्रपतीय निर्वाचनको अभियान ब्राजिलको अहिलेसम्मकै कलंक र हिंसाग्रस्तमध्येको रह्यो । यो निर्वाचनमा विश्वभर वामपन्थी भनेर चिनिएका लुलाले १.८ प्रतिशतको झिनो मतान्तरले जित हासिल गरेका छन् । तर, उनका प्रतिद्वन्द्वी दक्षिणपन्थी पपुलिस्ट एवं वर्तमान राष्ट्रपति जयर बोल्सोनारोले अहिलेसम्म निर्वाचनको नतिजा स्वीकार गरिसकेका छैनन् । बोल्सोनारोका थुप्रै सहयोगीले निर्वाचनको नतिजालाई स्वीकार गरिसकेकाले उनले पनि हार स्वीकार गर्न ढिलो गर्नुहुँदैन । मतगणना निष्पक्ष थियो र लुलाले स्पष्ट जित हासिल गरेका छन् । 

राष्ट्रपति बोल्सोनारो महिनौँदेखि आसन्न चुनावमा धाँधली हुने र लुलाले जित्ने एक मात्र उपाय भनेको धाँधली मात्रै भएको भनिरहेका थिए । यदि उनले यही झुटलाई अगाडि बढाए भने उनले अझै खराब राजनीतिक हिंसा भड्काउन र ब्राजिललाई शासन गर्न अझ कठिन बनाउन सक्छन् । यदि आफ्नो हार स्विकारेनन् भने बोल्सोनारोले देशलाई आगोमा झोस्न खोजेको निष्कर्ष निकाल्नुपर्ने हुन्छ । होइन बोल्सोनारोले हार स्विकारै गरे भने पनि लुलालाई ब्राजिलको नेतृत्व सम्हाल्न अघिल्लोपटकको भन्दा निकै सकसपूर्ण हुनेछ ।

राष्ट्रपति बोल्सोनारो महिनौँदेखि आसन्न चुनावमा धाँधली हुने र लुलाले जित्ने एक मात्र उपाय भनेको धाँधली मात्रै भएको भनिरहेका थिए । यदि उनले यही झुटलाई अगाडि बढाए भने उनले अझै खराब राजनीतिक हिंसा भड्काउन र ब्राजिललाई शासन गर्न अझ कठिन बनाउन सक्छन् ।

ब्राजिल उतिवेलाभन्दा अहिले निकै विभाजित छ । आर्थिक अवस्था खराब स्थितिमा छ । चुनावी अभियानमा अभिव्यक्त लाञ्छनाहरूको बाढीले ब्राजिलको विभाजनलाई थप चर्काएको छ । लुलालाई सैतानी कम्युनिस्ट र बोल्सोनारोलाई नरभक्षी बालयौनदुराचारीजस्ता तल्लोस्तरका लाञ्छना लगाइए । आक्रोश केहीपटक नराम्ररी भड्कियो । अगस्टयता राजनीतिक दृष्टिकोणकै कारण सातजना मारिए । एक पूर्वसांसद एवं राष्ट्रपतिका सहयोगीले सर्वाेच्च अदालतका न्यायधीशहरूलाई गाली गरेपछि उनलाई पक्राउ गर्न आएका प्रहरीमाथि नै ग्रेनेड फ्याँके । निर्वाचनको दिन केही ट्राफिक प्रहरी (जसका हाकिम बोल्सोनारोका समर्थक थिए)ले लुला समर्थक राज्यहरूमा सडकमा ट्राफिक अवरोधहरू राखे । यसले मानिसहरूलाई मतदान स्थलसम्म पुग्नमा निकै कठिनाइ भयो । मतदान सकिएको भोलिपल्टसमेत बोल्सोनारोका समर्थक ट्रकचालकले ब्राजिलका ११ राज्यमा सडकमा अवरोध खडा गरे । 

लामो समयदेखि ऋण उठाइरहेको ब्राजिलको वित्तीय अवस्था राम्रो छैन । तर, युक्रेनमाथिको रुसी आक्रमणपछि कमोडिटीको मूल्यवृद्धि हुँदा ब्राजिलको निर्यातले बढावा पायो । त्यसले ब्राजिललाई केही राहत मिलेको छ । त्यसैले, लुलाको पहिलो प्राथमिकता राष्ट्रिय अशान्तिलाई शान्त बनाउने र देशलाई एकताबद्ध बनाउने हुनुपर्छ । उनले विजयी जुलुसको भाषणबाट आफू सबै ब्राजिलियनको राष्ट्रपति हुने वचनबद्धता जनाएर राम्रो सुरुवात गरेका छन् । तथापि बोल्सोनारोका समर्थकलाई आश्वस्त पार्न उनले संघर्ष गर्नुपर्न सक्छ किनभने लुला आए भने उनले चर्चहरू बन्द गर्नेछन् र भेनेजुवाली शैलीको चरम वामपन्थी निरंकुशता लाद्छन् भनेर उनीहरूलाई रटाइएको छ । लुलाले आफ्नो विजय लोकतन्त्रवादीहरूको व्यापक गठबन्धनको कारण नै सम्भव भएको स्वीकार गरेका छन्, तर उनीले शासन पनि भावनाले गर्न सक्नुपर्छ । 

बोल्सोनारोले हार स्विकारै गरे नै भने पनि लुलालाई ब्राजिलको नेतृत्व सम्हाल्न अघिल्लोपटकको भन्दा सकसपूर्ण हुनेछ

उनको अर्काे कदम विवेकी र विज्ञ अर्थमन्त्री नियुक्त गर्ने हुनुपर्छ । निजीकरणलाई नउल्ट्याउने कुरा उनले दोहोर्याउनुपर्छ, जसको उनले विरोध गरेका थिए । साथै उनले आफ्नो वाचाअनुसारको ठूलो खर्च कसरी जुटाउने हुन्, त्यसको व्याख्या गर्नुपर्छ । यदि उनले सन् २०१६ को मन्दीपछि लगाइएको खर्चको सीमा हटाउने हो भने उपयुक्त वित्तीय नीति ल्याइनेमा बजारलाई आश्वस्त पार्न सक्नुपर्छ । बोल्सोनारोको छत्रछायामा तीव्रता पाएको अमेजनको वनफँडानी रोक्नमा अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्न उनले कस्ता हरित नीतिहरू ल्याउने हो, त्यो पनि स्पष्ट पार्न जरुरी छ । 

लुलाले बोल्सोनारोका सहयोगीहरूको बाहुल्य रहेको संसद्सँग मिलेर काम गर्ने बाटो खोज्नुपर्नेछ । उनको वर्कर्स पार्टीको शासनकालमा फस्टाएको लाभा जातो (कार वास भनिने कुख्यात भ्रष्टाचार काण्ड) जस्ता भ्रष्टाचार नदोहोरिनेमा विश्वास दिलाउन सक्नुपर्छ (लुला आफैँ भ्रष्टाचारको आरोपमा १८ महिना जेल परेका थिए । अदालतले सन् २०२१ मा निर्दाेष साबित गर्दै उनलाई रिहा गराएको थियो । अर्बांै डलरको यो भ्रष्टाचार प्रकरणमा निकै ठूलो संख्यामा अधिकारीहरू दोषी पाइएका थिए) । उनले सरकारी वकिलको कार्यालयको सूचीबाट एक स्वतन्त्र महान्याधिवक्ता नियुक्त गरिहाल्नुपर्छ । साथै, मन्त्रिमण्डल पनि बफादारीका आधारमा भन्दा योग्यताका आधारमा चयन गर्नुपर्छ । 

अबका केही वर्ष उनका लागि चुनौतीपूर्ण हुनेछन् । अमेरिकामा डोनाल्ड ट्रम्पजस्तै ब्राजिलको राजनीतिमा लुलाका हरेक काममा बोल्सोनारोले अड्चन खडा गर्ने निश्चित छ । त्यसैले, सन् २००० को दशकमा दुईपटक भारी बहुमतका साथ सत्तामा आएका लुलाले यसपटकको झिनो मतान्तरलाई मध्यनजर गर्दै विनयी हुन सिक्नुपर्छ । उनले आफूसँग असहमति राख्नेबीच सहमति कायम गर्न आवश्यक छ । यदि उनले व्यावहारिकता र समावेशी भावनाले शासन गरे भने उनलाई ब्राजिलमा सुव्यवस्था फर्काउने र प्रगति गर्ने मौका छ ।