१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ५ बुधबार
  • Friday, 05 July, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o७९ असोज ५ बुधबार o८:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

बैंकको कर्जा उपभोगमा खर्च गर्ने प्रवृत्ति चार गुणा वृद्धि

उपभोगमा कर्जा विस्तार आठ खर्ब ७२ अर्ब नाघ्यो, साउनमै घरजग्गामा १२ अर्बभन्दा बढी कर्जा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ५ बुधबार o८:१५:oo

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर उपभोगमा गर्ने प्रवृत्ति अत्यधिक बढेको छ । गत आर्थिक वर्षमा ०७/७९ मा उपभोग क्षेत्रमा आठ खर्ब ६७ अर्ब ४८ करोड कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्यांक छ । गत आवमा कुल ४७ खर्ब सात अर्ब कर्जा भएको थियो । यसलाई आधार मान्दा कुल लगानीको १८ प्रतिशत उपभोगमा खर्च भएको देखिन्छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै चार गुणा बढी हो । अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा यस्तो कर्जाको आकार दुई खर्ब ३३ अर्ब रुपैयाँ थियो । दुई वर्षअघिसम्म यस्तो कर्जा ३.७७ प्रतिशतले घटेको राष्ट्र बैंककै तथ्यांकले देखाउँछ । 

नेपाल राष्ट्र बैंकको चालू आवको पहिलो महिनाको तथ्यांकले पनि बैंक तथा वित्तीय संस्थाहरूको कर्जा उपभोगमै खर्च भएको देखाएको छ । राष्ट्र बैंकले सवारीसाधन, घरजग्गा, सुन तथा चाँदी धितो, मुद्दती निक्षेप धितो, ग्यारेन्टी बन्ड, क्रेडिट कार्डलगायतका कर्जालाई उपभोग शीर्षकमा राख्ने गरेको छ  ।पछिल्ला केही महिनायता सरकारले महँगा गाडी र विलासिताका वस्तु आयातमा कडाइ गरे पनि यस्तो क्षेत्रमा जाने कर्जा घटेको छैन । साउनमा बैंक तथा वित्तीय संस्थाहरूले पाँच अर्ब ५१ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरिसकेका छन् । आयातमा केन्द्रित उपभोग प्रणालीकै कारण यस्तो कर्जाको आकार ठूलो हुने गरेको छ । कुल कर्जाको ठूलो हिस्सा थोक तथा खुद्रा क्षेत्रमा छ । राष्ट्र बैंकको तथ्यांकअनुसार यसमा नौ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । यो शीर्षकमा पर्ने अधिकांश सामान पनि उपभोगमै पर्छन् । 

छिमेकी मुलुकमा भारतले उपभोगमा भइरहेको वृद्धिलाई आर्थिक पुनरुत्थानका रूपमा लिएका छन् । त्यसैले बैंकहरूले व्यक्तिगत कर्जा प्रवाह बढाएर उपभोगमा वृद्धि हुन थालेपछि आर्थिक सुधारको सूचकका रूपमा हेरिएको छ । तर, नेपाललाई भने सोही प्रवृत्तिको कर्जा विस्तार प्रत्युत्पादक बनिरहेको छ । नेपालका बैंक तथा वित्तीय संस्थाहरूसँग वित्तीय स्रोतको अभाव हुनु । कोभिडभन्दा अगाडिको जस्तो रेमिट्यान्स नआउँदा बैंकहरूमा वित्तीय स्रोत अभाव देखिएको अर्थशास्त्रीहरू बताउँछन् ।  अर्थशास्त्री केशव आचार्यका अनुसार स्रोतको ख्यालै नगरी कर्जा विस्तार गर्नुको परिणाम अहिले बैंकहरूले भोगिरहेका छन् । 

 एक महिनामै घरजग्गामा १२ अर्बभन्दा ठूलो कर्जा
 ०७६ असारसम्म बैंक तथा वित्तीय संस्थाले घरजग्गा क्षेत्रमा (व्यक्तिगत घरकर्जासहित) तीन खर्ब ८४ अर्ब लगानी गरेका थिए । तीन वर्षपछि असार ०७९ मा त्यस्तो कर्जा रकम बढेर पाँच खर्ब ६६ अर्ब पुगेको छ । यो बैंक तथा वित्तीय संस्थाको कुल कर्जाको १२ प्रतिशत हो । साउनमा मात्रै १२ अर्ब ६२ करोड घरजग्गा क्षेत्रमा लगानी भएको छ । त्यसबाहेक ओभरड्राफ्ट र अन्य शीर्षकमा लिएका ऋणको ठूलो हिस्सा पनि घरजग्गा क्षेत्रमा जान्छ । बैंक तथा वित्तीय संस्थाले ओभरड्राफ्ट शीर्षकमा मात्रै साउनसम्ममा सात खर्ब २४ अर्ब ऋण दिएका छन् । यो कुल कर्जा रकमको १५ प्रतिशत हुन्छ । एक वर्षकै बीचमा ओभरड्राफ्ट २४.३६ प्रतिशतले बढेको छ ।  

वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरूले गरेको कर्जा प्रवाह माछापालन क्षेत्रमा मात्रै ४७ दशमलव ७६ प्रतिशत बिन्दुले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७/७८ मा माछापालनका लागि आठ अर्ब ९५ करोड हाराहारीमा कर्जा प्रवाह भएको थियो । तर, गत आवको सोही अवधिमा यो १३ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कृषि तथा वनसम्बन्धी क्षेत्रमा तीन खर्ब ३७ अर्ब कर्जा प्रवाह भएको छ । 

ad
ad
ad
ad