मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ४ मंगलबार
  • Wednesday, 18 December, 2024
२o७९ असोज ४ मंगलबार १७:२७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मूर्ति बिक्री नभएपछि नेपालगन्जका मूर्तिकार चिन्तित, आधा घट्यो माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ४ मंगलबार १७:२७:oo

नेपालगन्ज उपमहानगरपालिका– ८ सदरलाइनका विनय मूर्तिकार यस वर्ष फुर्सदिला छन्। पछिल्ला दुई वर्षको दसैँमा खाना खाने फुर्सदसमेत नपाएका उनी यस वर्ष दुर्गा भवानीका मूर्ति बिक्री नभएपछि फुर्सदिलो भएका हुन्।

उनले अघिल्लो दुई वर्षको दसैँमा ५०/५५ सेट दुर्गाको मूर्ति बिक्री गरेका थिए। यस वर्ष ३० सेट मात्र मूर्ति तयार गरे पनि अहिलेसम्म २३ सेटको मात्र अर्डर आएको उनले बताए। ‘विगतका दुई वर्ष कोरोनाका कारण लकडाउन भई नेपाल–भारत सीमानाका बन्द थियो। दुर्गा मूर्ति खरिदका लागि भारतीय सीमा बजार रुपैडिहा जान नपाएपछि बिक्री राम्रो थियो,’ उनले भने।

मूर्ति बिक्री नभएपछि उनी निराश भएका छन्। विगतका वर्षभन्दा आधा मात्र बिक्री भएपछि आगामी वर्षदेखि नेपालगन्जमा मूर्ति नबनाउने योजना उनले बनाएका छन्। ‘आफ्नो देशका मूर्तिकारले बनाएका मूर्ति नकिनेर भारतीय बजारबाट ल्याउने प्रवृत्तिले निराश बनाएको छ,’ उनले भने। 

विनयजस्तै नेपालगन्ज उपमहानगरपालिका–१० सरस्वती स्कुलटोलका अंकित मिश्र पनि व्यापार घटेपछि निराश भएका छन्। स्थानीयले भारतीय बजारबाट मूर्ति ल्याउन थालेपछि व्यापार ह्वात्तै घटेको नेपालगन्जको त्रिवेणी मोडमा जमिन भाडा लिएर मूर्ति बनाउँदै आएका उनले भने। विगत दुई वर्ष राम्रो माग भए पनि यस वर्ष आधा घटेको उनले सुनाए। उनले पनि ३० सेट मूर्ति तयार पारेका छन्। तर, अहिलेसम्म २० वटा मात्र बिक्री भएको बताए।

‘लकडाउनका वेला हातपाउ जोड्नेहरू यो वर्ष दुर्गा मूर्ति किन्न भारतीय बजार जाँदा उदेक लागेको छ। समस्याका वेला हामीले सहयोग गर्यौं। अहिले नाका खुलेपछि भारततिर धाउने नेपाल र नेपालीको विडम्बना मान्नुपर्छ,’ आक्रोशित हुँदै उनले भने, ‘नेपालीले नेपाली कलाकारलाई प्रोत्साहन गर्ने ठाउँमा हतोत्साहित गराउँदै छन्। अब आगामी वर्ष भारतमा गएर मूर्ति बनाउँछु।’

भारतबाट दुर्गा मूर्ति ल्याउन नेपालगन्ज भन्सार कार्यालयले छुट दिँदै आएको छ। तर, नेपालगन्जका मूर्तिकारले मूर्ति बनाउन प्रयोग हुने सामग्रीमा भने कार्यालयले कर लिने गरेको छ। जसका कारण भारतभन्दा नेपालमा थोरै महँगो हुने गरेको विनयले बताए। ‘भारतको भन्दा यहाँको मूर्ति थोरै महँगो हुन्छ तर ल्याउने भाडा र समयको हिसाब जोड्ने हो भने यहाँ र त्यहाँको मूल्यबराबर नै हुन आउँछ,’ उनले भने, ‘तर, अधिकांश नेपालीहरू भारतीय बजार जान्छन् खै किन हो ?’

मूर्ति आयतमा कडाइ गर्न माग 
नेपाली मूर्तिकारले भारतमा निर्मित मूर्ति ल्याउने प्रवृत्तिका कारण आफूहरूको पेसा संकटमा परेको भन्दै मूर्ति ल्याउन कडाइ गर्न सरकारसँग माग गरेका छन्। नेपालमा नपाए मात्र भारतबाट ल्याउन दिनुपर्ने उनीहरूको भनाइ छ।

मूर्ति बनाउन प्रयोग हुने वस्तु आयात गर्दा भन्सार शुल्क लिएजस्तै मूर्तिको पनि भन्सार शुल्क लिन मूर्तिकार अंकितले माग गरे। ‘मूर्ति बनाउन प्रयोग हुने कच्चा पदार्थ आयात गर्दा भन्सार शुल्क लिइन्छ भने मूर्ति ल्याउँदा पनि शुल्क लिनुपर्यो नि,’ उनले भने, ‘स्वदेशी उत्पादनलाई प्रोत्साहन र विदेशी सामानलाई निरुत्साहित गर्न सरकारले बेलैमा कदम चाल्नुपर्छ। नत्र नेपाली उत्पादन घट्न गई विदेशी उत्पादनमा निर्भर हुनुपर्ने दिन नआउला भन्न सकिन्न।’