![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/mahaprasad-adhikari2022-07-11-02-32-58.jpeg)
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप तथा कर्जा सुरक्षण कोष योजनाविहीन देखिएको बताएका छन्। कोष ४८ वर्ष पुग्दा पनि योजनाविहीन देखिएको भन्दै उनले नयाँ योजनाबाट अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएका हुन्।
मंगलबार कोषको ४९औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोषको काम पैसा संकलन गर्ने मात्रै नभएको स्पष्ट पारे। कोषको इन्स्योरेन्सको डिपोजिट प्रभावकारी नभएको उनको भनाइ छ।
‘कोषको काम पैसा संकलन गर्ने मात्रै होइन। इन्स्योरेन्सको डिपोजिट प्रभावकारी भएन, हामीले आन्तरिक उत्पादन बढाउनेमा केन्द्रित गरेका छौँ, तर बैंकले जोखिम देख्छन्, यसको ब्रिजको काम कोषले गर्नुपर्छ। निक्षेप तथा कर्जा सुरक्षण कोष एकदमै पछाडि छौँ। कोष ४८ वर्ष पुग्दासमेत मैले कुनै नयाँ रणनीति बनाएको पाएको छैन,’ अधिकारीले भने।
गभर्नर अधिकारीले ऐनले दिएको कार्यक्षेत्रभित्र बसेर गर्न मिल्ने नयाँ पाँचवर्षे योजना बनाएर काम गर्नसमेत कोषलाई सुझाव दिए। उनले ऐनले नदिएको भए ऐन संशोधनको प्रस्ताव अघि बढाउन आग्रह गरे।
गभर्नर अधिकारीले अर्थतन्त्रले अहिले आन्तरिक उत्पादन वृद्धि खोजिरहेकाले राष्ट्र बैंकले अर्थतन्त्रको आवश्यकताअनुसार कर्जा नीति बनाउँदै आएको उल्लेख गरे। उनले राष्ट्र बैंकले अहिले बैंकहरूको कुल कर्जा लगानीको १५ प्रतिशत लघु, घरेलु तथा साना उद्योग, कृषिमा र १० प्रतिशत जलविद्युतमा लगानी अनिवार्य गरिएको स्पष्ट पारे।