
हुलाकी सडकअन्तर्गत नेपालगन्ज–गुलरिया सडकको २२ किलोमिटर चार लेन निर्माण हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले उक्त सडकको शिलान्यास गरेसँगै सडक चार लेन बन्ने भएको हो । कुल ३५ किलोमिटर सडकमध्ये २२ किलोमिटर चार लेन र १० किलोमिटर दुई लेनको निर्माण गर्न लागिएको मन्त्री राईले बताए । उनले भने, ‘सहर तथा बस्ती भएको २२ किलोमिटर सडक चार लेन र १० किलोमिटर सडक दुई लेन निर्माण गर्न टेन्डर आह्वान भइसकेको छ ।’
असोज अन्तिम साताभित्र ठेक्काको टुंगो लाग्छ । कात्तिकदेखि निर्माणको काम सुरु हुनेछ ।’ उनले हुलाकी सडकअन्तर्गत नेपालगन्ज–सिधनियाघाट सडक पनि चार लेन निर्माण गर्न लागिएको बताए । उक्त सडकमा पनि बस्ती भएको ठाउँमा चार लेन र अन्य क्षेत्रमा दुई लेनको निर्माण हुने मन्त्री राईको भनाइ छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले जनसंख्या र सवारीसाधनको चाप बढेसँगै नेपालगन्ज–गुलरिया सडक साँघुरो भएकाले स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको बताए । उनले तीन वर्षभित्र सक्ने गरी टेन्डर आह्वान गरिएको जानकारी दिए ।
सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले नेपालका अधिकांश जिल्ला सडक सञ्जालसँग जोडिएको बताउँदै नौ सय ७५ किलोमिटर लामो हुलाकी सडक निर्माण पूरा भएसँगै स्तरोन्नतिको काम अगाडि बढाएको बताए । उनले नेपालमा एक हजार २४ किलोमिटर महेन्द्र राजमार्ग, १३ सय किलोमिटर मदन भण्डारी राजमार्ग, १७ सय किलोमिटर मध्यपहाडी राजमार्ग रहेको बताए ।
त्यसैगरी, हुलाकी राजमार्गअन्तर्गत ३१ वटा सहायक राजमार्ग र नेपालगन्ज–सुर्खेत जोड्ने रत्न राजमार्ग, पृथ्वी राजमार्ग पनि नेपालमा रहेको उनको भनाइ थियो ।