१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ३ सोमबार
  • Wednesday, 03 July, 2024
२o७९ असोज ३ सोमबार १o:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

डा. केसीको स्वास्थ्य जटिल बन्दै

आइतबारदेखि अक्सिजनको सपोर्टमा, रक्तचापसँगै सुगरको मात्रा घटेर ४४ एमजी पुग्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ३ सोमबार १o:४२:oo

स्वास्थ्य र चिकित्सा क्षेत्र सुधारसँग सम्बन्धित सातबुँदे माग गर्दै आमरण अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । अनशन सुरु गरेको सातौँ दिन आइतबार उनको शारीरिक अवस्था कमजोर देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनमा टाउको दुख्ने, रिँगटा लाग्ने, श्वास फेर्न गाह्रो हुने, पेट दुख्ने, शरीरका मांसपेशी दुख्नेजस्ता समस्या देखिएका छन् ।

मुटुको धडकनमा गडबड हुनुका साथै श्वासप्रश्वास दर बढ्दै गएको केसीको उपचारमा संलग्न डा. शेरबहादुर कमरले जानकारी दिए । श्वास फेर्न समस्या हुन थालेपछि आइतबारबाट उनलाई अक्सिजनको सपोर्ट दिइएको कमरले बताए । उपचारमा संलग्न चिकित्सकका अनुसार केसीको शरीरमा अक्सिजनको मात्रा घटेर ९०–९२ पुगेको छ ।  ‘रिँगटा लाग्ने, टाउको र छाती दुख्ने, पेट पोल्ने, मांसपेशी बाउँडिनेजस्ता समस्या देखिएका छन् । उहाँको (केसी) शरीरमा न्युट्रेसनको कमी छ । ग्लुकोज लिन मान्नुभएको छैन,’ कमरले भने, ‘पोषण तत्व र पानीको मात्रा कम भएर जटिलता निम्तिएको छ । यस्तो वेला जे पनि हुन सक्छ ।’ 

उनको मुटुको धडकनमा पनि गडबडी देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । डा. केसीको शरीरमा रक्तचापसँगै सुगरको मात्रा घटेर ४४ एमजी पुगेको अस्पतालले जनाएको छ । केसीको स्वास्थ्य अवस्थाबारे जानकारीसहित विज्ञप्ति जारी गर्दै अस्पतालले शरीरमा पोषण तत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने, कम्पन हुन सक्ने, रोगसँग लड्ने क्षमता कम भई विभिन्न संक्रमण हुन सक्ने, मुटुको धडकन, श्वासप्रश्वास र रक्तचाप गडबड भई अंग वा प्रणालीमा खराबी हुन सक्ने र ज्यान जोखिममा पर्न सक्ने’ भनेको छ ।

 केसी र सरकार पक्षबीचको वार्ता निष्कर्षविहीन
डा. गोविन्द केसी पक्ष र सरकार पक्षबीच भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको वार्तामा कुनै सहमति नभएपछि थप गृहकार्य गरेर सोमबार अर्को चरणको वार्ता गरिने हुने भएको छ । आइतबारको वार्तामा प्रारम्भिक विषयमा छलफल भएको नेपाल चिकित्सक संघका उपाध्यक्ष डा.अनिलविक्रम कार्कीले बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा रहेको वार्ता टोलीमा सरकारको तर्फबाट शिक्षासचिव, स्वास्थ्यसचिव सहभागी थिए । केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय टोली छ ।

सात दिनमा दुई किलो तौल घट्यो
केसी गत सोमबारबाट धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा अनशन बसेका थिए । अनशन बसेको तेस्रो दिन स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । अस्पतालका अनुसार सात दिनको अवधिमा केसीको तौल दुई किलो घटेको छ । केसीले मुखबाट पानी र नसाबाट रिंगर ल्याक्टेटबाहेक कुनै पनि पदार्थ लिन अस्वीकार गरेका छन् । उनले लिखित रूपमै पानी र नसाबाट रिंगर ल्याक्टेटबाहेक अन्य पदार्थ निषेध गरेको उपचारमा संलग्न डा. कमरले बताए ।

सरकारले विगतमा आफूसँग गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने, सबै सरकारी अस्पतालमा शड्ढयाअनुसार चिकित्सकको दरबन्दी बढाउनुपर्ने, सरकारले तोकेको सूचीअनुसार सबै प्रकारका निःशुल्क औषधि सबै स्वास्थ्य संस्थाबाट उपलब्ध गराउनुपर्ने माग उनले गरेका छन् । त्यस्तै, स्वास्थ्य प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्नुपर्ने, दाङलगायत मधेस र गण्डकी प्रदेशमा सरकारी मेडिकल शिक्षण संस्था तुरुन्त निर्माण सुरु गरिनुपर्ने माग केसीले राखेका छन् । स्थानीय तहको कम्तीमा आधा बजेट स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था गर्न पनि उनको माग छ । २०औँपटक अनशन बस्नुअघि धनगढीमा पत्रकारसँग कुरा गर्दै केसीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भागबन्डामा गरिएको नियुक्ति सच्याउन र प्रतिष्ठानका उपकुलपतिलगायत भ्रष्ट पदाधिकारीलाई बर्खास्त गरी कारबाही गर्न माग गरेका थिए । कैलालीको गेटामा मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्नुपर्ने पनि उनको माग छ ।

 

ad
ad
ad
ad