१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज १ शनिबार १०:२५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अछाममा पहिरोमा परेर घाइते भएकाको हेलिकोप्टरबाट उद्धार गर्न गृहमन्त्रीको निर्देशन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज १ शनिबार १०:२५:००

गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि अछामका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परि घाइते भएकाहरु र प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् । 

गृहसचिव टेकनारायण पाण्डे,  सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गर्न निर्देशन दिएका हुन् । 

गृहमन्त्रीले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिएका छन् ।

उनले प्रजिअ मरासिनी र नायब उपरीक्षक डाँगीलाई सरकारको प्रमुख दायित्व नागरिकको जिउ धनको रक्षा गर्नु भएको भन्दै बाढी र पहिरोमा परि घाइते भएकाको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार तथा खाद्यान्नको व्यवस्था गर्न कुनै कसुर बाँकी नराख्न निर्देशन दिए । जिल्लामा भएको स्रोत र साधनले अपुग भएमा मन्त्रालयमा तत्काल लेखि पठाउन समेत निर्देशन दिएका छन्। 

नौ जनाको मृत्यु, २० जना घाइते, ९ जना बेपत्ता
पहिराेका कारण अछामको कमलबजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा गरि अहिलेसम्म नौ जनाको मृत्यु भएको र २० जना घाइते भएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले बताए ।

उनका अनुसार कमलबजार नगरपालिका वडा नं ६ को ठाँटीघाटमा गएको पहिरोमा परेर ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । घाइते मध्य तीन जनाको अवस्था गम्भीर रहेको छ । 

त्यस्तै कमलबजारकै वडा नं ८ मा चाउरे दमाइको घर पुरिँदा परिवारका ५ जनाको मृत्यु भएको जानकारी आएको  उनले बताए । त्यस्तै ढकारी गाँउपालिकामा एक घर पुरिँएर तीन जना घाइते भएको र एक जना पुरिएका छन् ।  

तुर्माखाद गाँउपालिकामा पनि ९ जना बेपत्ता भएको जानाकारी आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिन भइरहेको प्रजिअ मरासिनीले जानकारी दिए ।