जुटखेती झन्झटिलो र मिहिनेत धेरै लाग्ने भएपछि कृषकको आकर्षण अन्य खेतीतर्फ
झापा गौरादह–८ का बाबुराम राजवंशी एक दशकअघिसम्म दुई बिघा खेतमा जुटको खेती गर्दै आएका थिए । उनी पछिल्लो समय चार कठ्ठामा मात्र यसको खेती गर्दै आएका छन् । चार कठ्ठामा पनि संस्कृति जोगाउन मात्र उनले खेती गरेका हुन् । ‘हामी आदिवासीलाई प्रत्येक वर्ष एकपटक तिहारको समयमा जुट चाहिन्छ । हुक्काहुक्की खेल्नका लागि सन्ठी चाहिने भएकाले मात्र रोपेको हुँ,’ उनी भन्छन्, ‘सन्ठी अरूकोमा माग्ने कुरा हुँदैन ।’
झन्झटिलो र मिहिनेतअनुसार मूल्य नपाउँदा जुटको खेती क्रमशः घट्दै गएको राजवंशीको भनाइ छ । ‘मिहिनेत एकदमै धेरै छ । झन्झटिलो पनि हुन्छ । तर, मिहिनेतअनुसार दाम पाइँदैन,’ उनले भने, ‘पहिला खेतभरि जुट हुन्थ्यो । अहिले त खेती देख्नै मुस्किल छ ।’
जुटभन्दा धानखेती सजिलो हुने भएका कारण पनि जुट मासिँदै गएको उनी बताउँछन् । ‘जुटको दाम मनको चार हजार छ । मिहिनेत ८ हजार प्रतिमन दिँदाको भन्दा धेरै लाग्छ,’ उनी भन्छन्, ‘धानमा धेरै मिहिनेत पनि लाग्दैन । त्यही कारण जुटभन्दा धानखेती नै बढेको छ ।’
जुटखेती खासगरी झापाको दक्षिणी भेगमा हुँदै आएको छ । जुटको बिउ फागुन–चैतमा छरिन्छ । यसलाई बीचमा गोडमेलको पनि आवश्यक पर्छ । यो साउनमा निकाल्ने वेला हुन्छ । त्यसपछि खाडीमा पानीमा डुबाएपछि निकालेर सुकाई जुट तयार गरिने गौरादह–६ का कृषक देवीप्रसाद राजवंशी बताउँछन् । ‘श्रम धेरै खर्च हुन्छ । मूल्य पाइँदैन । त्यही भएर खेती हुन छाड्यो,’ उनले भने, ‘जनशक्ति पनि पाइँदैन । यो खेतीमा अरू खेतीभन्दा धेरै परिश्रम चाहिन्छ । त्यही भएर खेती घट्यो । आदिवासी समुदायमा सन्ठी चाहिन्छ, त्यही भएर बाध्य भएर मात्र खेती गरिरहेका छन् ।’
गौरीगन्ज–६ का कृषक सत्यनारायण गनगाईका अनुसार विगतमा यो समयमा जुट धुन भ्याइनभ्याई हुन्थ्यो । तर, अहिले जुटको खेती घट्दै गएको उनी बताउँछन् । ‘अहिले त खेती नै देखिँदैन,’ उनी भन्छन्, ‘पर्वमा सन्ठी चाहिन्छ । अनि घरमा बेरा लगाउन पनि सन्ठी चाहिन्छ । घरायसी कामका लागि मात्र जुटखेती भइरहेको छ ।’
कृषि ज्ञानकेन्द्र झापाका निमित्त प्रमुख सागर विष्टका अनुसार पछिल्लो एक दशकमा झापामा जुटखेती ९० प्रतिशत घटेको छ । एक दशकअघिसम्म करिब दुई हजारदेखि २५ सय हेक्टरमा जुटखेती हुने गरेको उनी बताउँछन् । तर, हाल करिब तीन सय हेक्टरमा मात्र खेती हुँदै आएको उनले बताए । ‘एक दशकअघिसम्म जुटखेती व्यावसायिक बाली थियो । अहिले धेरै घटेको छ । श्रम र लगानी धेरै हुन्छ । झन्झटिलो छ । छर्ने, गोडमेल गर्ने, काट्ने, भिजाउने, धुने गर्दा मिहिनेत धेरै लाग्छ,’ विष्टले नयाँ पत्रिकासँग भने, ‘तर, मूल्यचाहिँ केजीको एक सय रुपैयाँ मात्र छ । जुटभन्दा अरू बालीमा फाइदा भएपछि अरू बालीमै कृषक आकर्षित भएका छन् ।’
विगतमा यो वेला जुटको धेरै बिक्री हुने गरेको थियो । हाल जुट नै कम देखिने गरेको उनी बताउँछन् । ‘एक दशकअघिसम्म यो वेला धेरै जुटको बिक्री हुने गरेको थियो । कृषकले जुट बेचेर दसैँ मनाउँथे । तर, अहिले खेती नै लोप हुने अवस्थामा पुग्यो,’ प्रमुख विष्टले भने ।
भारतबाट अर्बाैँको जुट आयात
नेपालमा प्रत्येक वर्ष जुटखेती घट्दो छ । अर्बौंको जुटका लागि चाहिने कच्चा पदार्थ अर्थात् जुट भने भारतबाट आयात भइरहेको छ । जुटमिलका लागि चाहिने कच्चा पदार्थ प्रत्येक वर्ष तीन अर्बसम्मको आयात भइरहेको मेची भन्सार कार्यालयको तथ्यांक छ । पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष ०७५/७६ मा दुई अर्ब २४ करोड ४७ लाख एक हजार २५८ रुपैयाँको दुई करोड ९५ लाख ४२ हजार १९२ केजी जुट भारतबाट नेपाल आयात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।
आर्थिक वर्ष ०७६/७७ मा दुई अर्ब २६ करोड ५३ लाख एक हजार २७ रुपैयाँको दुई करोड ८७ लाख ८३ हजार ४२३ केजी जुट नेपाल भित्रिएको थियो । यस्तै, आर्थिक वर्ष ०७७/७८ मा दुई अर्ब ८३ करोड ५९ लाख ९ हजार ९९० रुपैयाँ मूल्यको दुई करोड ६७ लाख ५३ हजार २० केजी जुट आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ । यसैगरी, आर्थिक वर्ष ०७८/७९ मा भने तीन अर्ब ७८ करोड ७६ लाख ६५ हजार ७३३ रुपैयाँ मूल्यबराबरको तीन करोड १२ लाख ४३ हजार ३४९ केजी जुट नेपाल भित्रिएको मेची भन्सार कार्यालयले जनाएको छ ।