म्यानमार सरकारको दमनका कारण त्यहाँबाट भागेका रोहिंग्या शरणार्थी नेपालका लागि ठूलो चुनौती बन्ने अवस्था देखिएको छ । खुला सिमानाको फाइदा उठाउँदै भारतबाट नेपालमा रोहिंग्या शरणार्थी प्रवेश गर्ने क्रम बढिरहेको छ । पछिल्लो अगस्ट महिनामा मात्रै १२ रोहिंग्या भारत हुँदै नेपाल आएको सुरक्षा निकायको रिपोर्ट छ । नेपालमा रोहिंग्याको संख्या करिब पाँच सय पुगिसकेको छ । नेपालले शरणार्थीको मान्यता नदिए पनि यहाँ आएर उनीहरू क्याम्पकै शैलीमा समूहगत रूपमा बस्दै आएका छन् ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (युएनएचसिआर) नेपालको तथ्यांकअनुसार पछिल्लो १० महिनामा सयभन्दा धेरै रोहिग्या थपिएका छन् । हाल तीन सय ७० जनाले युएनएचसिआरबाट सहरी शरणार्थीका रूपमा परिचयपत्र पाइसकेका छन् भने थप एक सय २३ जनाले यसका लागि निवेदन दिएका छन् । संख्या बढेसँगै उनीहरू काठमाडौंका बाहिरी क्षेत्रमा जग्गा भाडामा लिएर बस्ने तयारीमा छन् । सुरक्षा निकायबाट प्राप्त विवरणअनुसार पछिल्लो समय आएकाहरू ललितपुरको टीकाथली तथा भक्तपुरको बाहिरी क्षेत्रमा जग्गा खोजिरहेका छन् । मानवीयताका आधारमा नेपालले उनीहरूलाई सहज रूपमा बस्न दिएको छ । सोही कारण पनि भारतबाट नेपाल आउने क्रम बढेको एक प्रहरी अधिकारी बताउँछन् । सीमामा गुप्तचर संयन्त्र बलियो हुन नसक्दा पनि यसरी शरणार्थी आउने क्रम बढेको ती प्रहरी अधिकारी बताउँछन् ।
गत वर्ष रोहिग्याको एक समूह अवैध रूपमा काठमाडौं आइपुगेपछि गृह मन्त्रालयले सीमामा कडाइ गर्ने जनाएको थियो । तर, खुला सीमाका कारण लुकिछिपी भारतबाट नेपाल आइरहेका छन् । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल खुला सीमाका कारण अवैध शरणार्थी रोक्न समस्या भइरहेको बताउँछन् । ‘सीमामा भारतीय भनेर छिर्ने गर्छन्, भारतीय र रोहिग्या उस्तै हुन्छन्,’ पोखरेल भन्छन्, ‘अवैध शरणार्थीको बढ्दो संख्याप्रति गृह मन्त्रालय गम्भीर र सचेत छ । सीमामा थप कडाइ गर्न भनेका छौँ ।’ धेरैजसो रोहिग्या कपनको राममन्दिर क्षेत्रमा टहरा बनाएर बसेका छन् । ज्यामीदेखि विभिन्न काममा आबद्ध छन् । त्यहाँ ठाउँ नपुगेपछि उनीहरू अन्यत्र खुला क्षेत्रमा भाडा लिएर बस्ने तयारीमा छन् ।
छिमेकी देश भारतमा करिब ४० हजार रोहिग्या शरणार्थी रहेको त्यहाँको ह्युमन राइट वाचनामक अन्तर्राष्ट्रिय संस्थाको विवरण छ । भारतमा भन्दा नेपालमा बस्न सहज हुने ठानेर त्यहाँबाट नेपाल आउने क्रम बढेको हो । विगतमा कपितय समूहले लाखौँ पैसा असुलेर रोहिग्या समूहलाई नेपालमा ल्याएकोसमेत खुलेको थियो । दुई वर्षअघि बंगलादेशी समूहलाई पक्राउसमेत गरेको थियो । त्यतिवेला अनुसन्धान हुँदा नेपाल हुँदै तेस्रो देश लैजाने भनेर कतिपय रोहिग्यालाई नेपाल ल्याइएको खुलेको थियो ।
राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख गणेश अधिकारी शरणार्थी तथा अवैध रूपमा नेपालमा बसोवास गर्ने विदेशी नागरिकका कारण राष्ट्रिय सुरक्षा चुनौती क्रमशः जटिल बन्दै गइरहेको बताउँछन् । ‘भूराजनीतिक जोखिम र खुला सीमाका कारण बढ्दो सीमा अपराध तथा अन्तर्राष्ट्रिय आतंकवादी प्रभावसमेत बढ्दै गइरहेको परिप्रेक्ष्यमा शरणार्थी तथा अवैध रूपमा बसोवास गर्ने विदेशी नागरिकका कारण राष्ट्रिय सुरक्षा चुनौती क्रमशः जटिल बन्दै गइरहेको अवस्था छ,’ उनले भने, ‘खासगरी शरणार्थीका राजनीतिक गतिविधि, अतिवादी तथा आतंकवादी संगठनसँगको संलग्नता, नेपाली नागरिकसरह सुविधा पाउनुपर्ने पछिल्ला माग र ती मागमा अन्तर्राष्ट्रिय सहयोग संस्थाहरूको समर्थन तथा सहयोग गम्भीर चिन्ताको विषय हो ।’
रसियन र युक्रेनी नागरिक पनि शरण खोज्दै
रसिया–युक्रेन युद्धका कारण ती देशका केही नागरिकले पनि नेपालमा शरणार्थीका रूपमा बस्न खोजेका छन् । युक्रेनका दुई तथा रसियाका एक नागरिकलले शरणार्थीको हैसियतमा बस्नका लागि भनेर युएनएचसिआरमा निवेदन दिएका छन् । युद्धका कारण आफ्नो देश फर्कन नसक्ने अवस्था भएकाले यही बस्न दिन उनीहरूले आग्रह गरेका छन् । पहिलेदेखि नै बस्दै आएका ती देशका नागरिकले नेपालमा बस्न दिन आग्रह गरेको अध्यागमन विभागका निर्देशक अञ्जन न्यौपानेले बताए । शरण खोजेका एक रसियन युवकले स्वदेश फर्किए आफूलाई सेनामा भर्ना गरेर युद्धमा पठाउने भएकाले नेपालमै बस्न चाहेको बताएका छन् । पर्यटक भिसामा एक वर्षमा एक सय ५० दिनभन्दा लामो अवधि बस्न पाइँदैन । त्यो अवधि पूरा गरेपछि पनि कतिपय फर्कन मानेका छैनन् ।
नेपालमा एसिया मात्र नभई अफ्रिकादेखिका नागरिक शरणार्थीको हैसियतमा बस्दै आएका छन् । गृह मन्त्रालयबाट प्राप्त पछिल्लो विवरणअनुसार रोहिग्याबाहेक पाकिस्तानका एक सय ८७, अफगानिस्तानका ५२, सोमालियाका २१, श्रीलंकाका १९, बंगलादेशका पाँच र इराककका एकजनाले नेपालमा युएनएचसिआरबाट परिचयपत्र लिएर बसेका छन्् । यसरी नेपालमा अवैध रूपमा बस्दै आएका सहरी शरणार्थीलाई युएनएचसिआरले तेस्रो मुलुकमा पठाउने गरेको छ । त्यही लोभमा कतिपय देशका नागरिक नेपाल आउने र पासपोर्ट फालेर युएनएचसिआरमा पुग्ने प्रवृत्ति छ । यसले नेपालमा भने सुरक्षा चुनौती बढेको प्रहरी अधिकारी बताउँछन् । गत महिना मात्र यसरी अवैध रूपमा बस्दै आएका शरणार्थीले संयुक्त राष्ट्रसंघको कार्यालय तथा युएनएचसिआरको कार्यालयअघि प्रदर्शन गरेका थिए । तिब्बती शरणार्थीले वेलावेलामा चीनविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।
नेपाल सरकारले तिब्बती र भुटानी शरणार्थीलाई मात्र औपचारिक मान्यता दिएको छ । १२ हजार पाँच सय ४० तिब्बती तथा ६ हजार तीन सय ६५ भुटानी शरणार्थी नेपालमा छन् । तिब्बती शरणार्थीको पुनः गणनाका लागि पश्चिमा देश तथा अन्तर्राष्ट्रिय संघसंस्थाले नेपाल सरकारलाई दबाब दिँदै आएका छन् । पछिल्लो समय सरकारले भुटानी शरणार्थीलाई बैंक खाता खोल्ने, व्यापार–व्यवसाय गर्नेलगायत सुविधा दिन लागेकोमा सुरक्षा अधिकारीले त्यसमा असन्तुष्टि जनाएका छन् । यो नजिरले भोलिका दिनमा अन्य देशका शरणार्थीले पनि त्यस्तै सुविधा खोज्ने र देशलाई समस्या हुन सक्ने राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारीको भनाइ छ ।
चुनौती क्रमशः जटिल बन्दै गएको छ
गणेश अधिकारी, पूर्वप्रमुख, राष्ट्रिय अनुसन्धान विभाग
भूराजनीतिक जोखिम र खुला सीमाका कारण बढ्दो सीमा अपराध तथा अन्तर्राष्ट्रिय आतंकवादी प्रभावसमेत बढ्दै गइरहेको परिपे्रक्ष्यमा शरणार्थी तथा अवैध रूपमा बसोवास गर्ने विदेशी नागरिकका कारण राष्ट्रिय सुरक्षा चुनौती क्रमशः जटिल बन्दै गइरहेको अवस्था छ । खासगरी शरणार्थीका राजनीतिक गतिविधि, अतिवादी तथा आतंकवादी संगठनसँगको संलग्नता, नेपाली नागरिकसरह सुविधा पाउनुपर्ने पछिल्ला माग र ती मागमा अन्तर्राष्ट्रिय सहयोग संस्थाहरूको समर्थन र सहयोग गम्भीर चिन्ताको विषय हो ।
यसबारे गृह मन्त्रालय गम्भीर छ
फणीन्द्रमणि पोखरेल, प्रवक्ता, गृह मन्त्रालय
भारतीय नागरिक र रोहिंग्या उस्तै हुन्छन्, त्यही कारण सीमामा रोक्न समस्या भइरहेको छ । रोहिंग्याको संख्या बढेकोमा गृह सचेत र गम्भीर छ । सीमामा कडाइ गर्न भनेका छौँ ।