प्रदेश र प्रतिनिधिसभाको आसन्न निर्वाचनमा ‘गुन्डानाइके’, भ्रष्टाचारका आरोपी, थुनामा रहेकादेखि उद्योगी–व्यापारीसम्म उम्मेदवार बन्ने दौडमा
पार्टी राजनीतिमा वर्षौँ बिताएका दलका नेता–कार्यकर्ता मात्र होइन, आसन्न निर्वाचनका लागि कारागारभित्र रहेका, भ्रष्टाचारको मुद्दा खेपेका, गुन्डानाइकेदेखि ठेकेदार, व्यापारी तथा कला क्षेत्रका दर्जनौँ व्यक्ति उम्मेदवारको दौडमा छन् । जिल्ला–जिल्लाबाट सिफारिस भएका उनीहरू अब टिकटका लागि शक्तिकेन्द्र प्रभावित पार्ने प्रयासमा छन् । जब कि एमाले, कांग्रेस, माओवादीलगायत दलले उम्मेदवार छनोटको मापदण्ड निकै राम्रा बनाएका थिए । शुरोजंग पाण्डे र अनिल यादवको रिपोर्ट ।
गुन्डा नाइकेदेखि भ्रष्टाचारका आरोपीसम्म सिफारिसमा
‘संविधानले, विधानले वर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दा छाती ठोकेर हामीले गरेको हो भनेर भन्न नसक्ने कुनै पनि निर्णय हामी भएको ठाउँबाट हाम्रो पार्टीले गर्दैन, यत्ति कुरा तपाईंलाई आश्वस्त पार्दछु,’ एक साताअघि कांग्रेस महामन्त्री गगन थापाले विवादित व्यक्ति उम्मेदवार नबनाउने दाबी गर्दै थिए ।
तर, कांग्रैसबाटै धमाधम त्यस्ता विवादित व्यक्ति उम्मेदवार सिफारिस भइरहेका छन् । प्रदेश र प्रतिनिधिसभा चुनावका लागि कांग्रेसबाट गुन्डा नाइकेदेखि जघन्य अपराधमा फसेका व्यक्ति उम्मेदवारका लागि सिफारिस भएका छन् । विज्ञहरू गलत मान्छेले चुनावमा टिकट पाए त्यसको असर राज्य संयन्त्रको कार्यसम्पादनमा पर्ने बताउँछन् ।
- सिफारिस भएका गुन्डा नाइके
- मिलन गुरुङ (चक्रे मिलन), एमाले
- परशुराम बस्नेत, एमाले
- बलराम सापकोटा (बले), कांग्रेस
- राजु गोर्खाली, कांग्रेस
- गणेश लामा, कांग्रेस
- शुक्रराज तामाङ (शुक्रे), कांग्रेस
- दीपक मनाङे, स्वतन्त्र
- जेलमा रहेका/सजाय पाएका
- अफ्ताब आलम, कांग्रेस
- रेशम चौधरी, नागरिक उन्मुक्ति पार्टी
- रामशंकर यादव, एमाले
- भ्रष्टाचार अभियोग लागेका
- विजय गच्छदार, कांग्रेस
- टेकबहादुर गुरुङ, कांग्रेस
गुन्डा नाइके गणेश लामा, बलराम सापकोटा (बले), राजु गोर्खाली र शुक्रराज तामाङ कांग्रेसबाट उम्मेदवार सिफारिस भएका छन् । अघिल्लोपटक पराजित गणेश लामा यसपटक पनि काभ्रे १ को (ख) बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् । कांग्रेस केन्द्रीय सदस्यका रूपमा निर्वाचित लामा विजय गच्छदारनिकट मानिन्छन् । गुन्डागर्दी पृष्ठभूमिका उनी कुनै वेला दीपक मनाङेका प्रतिस्पर्धीका रूपमा समेत चिनिन्थे ।
कांग्रेसबाट सांसद बन्ने दाउमा छन्, अर्का गुन्डा नाइके बलराम सापकोटा (बले) । उनी काभ्रे १ को प्रदेश सभा (क) बाट समानुपातिक कोटामा सांसद सिफारिसमा परेका छन् । एमालेमा रहेका उनी सांसद बनाउने सर्तमै एकाएक कांग्रेस प्रवेश गरेका छन् । कुनै वेला काठमाडौंको क्यासिनोभित्र नेपाली भित्र्याउन उनको सक्रिय भूमिका मानिन्छ ।
गुन्डा नाइके राजु गोर्खाली पनि प्रतिनिधिसभाका लागि कांग्रेसबाट उम्मेदवार सिफारिसमा परेका छन् । कांग्रेस सिन्धुपाल्चोक जिल्ला समितिले उनको नाम क्षेत्र नम्बर २ सिफारिस गरेको छ । कुनै वेला काठमाडौंको चाबहिल क्षेत्र उनको गुन्डागर्दीको इलाका मानिन्थ्यो । बालुवा ठेक्कामा कब्जा जमाएका उनी रात्रिकालीन व्यवसायमा संलग्न थिए । राकेश लिम्बूको हत्या अभियोगमा दोषी ठहर भएपछि लामो समय फरार भएका उनी पछि काठमाडौंबाटै पक्राउ परेका थिए । कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत निर्वाचित भएका उनले पनि यसपटकको चुनावमा टिकट पाउने सम्भावना बढी छ ।
कतिपय ठाउँमा कांग्रेसले ‘स्वतन्त्र’ चुनाव लड्न चाहेका गुन्डा नाइकेसम्म पनि सहकार्य गर्ने सहमति गरेको छ । गण्डकी प्रदेशका खेलकुदमन्त्री दीपक मनाङे कांग्रेससँग तालमेल गरेर चुनाव लड्ने तयारीमा छन् । मन्त्री हुँदा पनि गुन्डा नाइकेको छवि मेटिएको छैन ।
उनी ०७४ को निर्वाचनमा मनाङ प्रदेश (ख)बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए । आउँदो प्रदेश सभा निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट कांग्रेसको समर्थनमा चुनाव उठ्ने पक्का भइसकेको छ । ०७४ मा एमालेले टिकट नदिएपछि स्वतन्त्र उठेका उनले यसपटक प्रतिनिधिसभामा कांग्रेसलाई सघाउने र प्रदेश सभामा आफू लड्ने सहमति गरेका छन् ।
प्रहरीले गुन्डा नाइकेका रूपमा हेर्ने मिलन गुरुङ उर्फ चक्रे मिलन र परशुराम बस्नेत उम्मेदवार सिफारिसमा परेका छन् । चक्रे मिलनलाई एमाले क्षेत्रीय कमिटीले गोरखा २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा सिफारिस गरेको छ । कुनै वेला काठमाडौंको चक्रपथ क्षेत्र उनको ‘इलाका’का रूपमा परिचित थियो । सो क्षेत्रमा आपराधिक गतिविधिमा संलग्न भएको, अकुत सम्पत्ति कमाएको आदि आरोपमा उनी पटक–पटक पक्राउ पर्दै छुटेका थिए । गुन्डा नाइकेविरुद्ध प्रहरीले इन्काउन्टर अभियान नै चलाउन थालेपछि निष्क्रिय बनेका उनी पछिल्लो समय गोरखा क्षेत्रमा सक्रिय छन् ।
त्यस्तै, विराटनगरमा गुन्डा नाइकेको परिचय बनाएका बस्नेत पनि प्रदेश सभा निर्वाचनमा सिफारिस भएका छन् । एमालेले मोरङ क्षेत्र नम्बर ६ (ख)बाट उनलाई उम्मेदवार सिफारिस गरेको हो । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा बनेको निर्वाचन परिचालन सचिवालयको सदस्यसमेत रहेका उनको नाम सिफारिस सूचीको पहिलो नम्बरमा छ । सम्पत्ति शुद्धीकरणको मुद्दामा सफाइ पाएका उनी ओलीनिकट मानिन्छन् । ०६९ मा पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गरेको आरोपमा उनी पक्राउ परेका थिए ।
जघन्य अपराधमा मुछिएका पनि सिफारिस
जघन्य अपराधमा मुछिएर हाल थुनामा रहेका मोहम्मद अफ्ताब आलम रौतहट २ बाट कांग्रेसको उम्मेदवार सिफारिस भएका छन् । बम विस्फोटमा संलग्न रहेको र घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएको गम्भीर आरोप खेपिरहेका उनलाई उम्मेदवार सिफारिस गरेपछि विवादसमेत भएको छ । ०६४ को निर्वाचनमा शेख इद्रिसको घरमा बम विस्फोट हुँदा २४ वर्षका त्रिलोकप्रताप सिंह र २२ वर्षका ओसी अख्तरले ज्यान गुमाएका थिए । आलमविरुद्ध उक्त घटना लुकाउन विस्फोटका घाइतेलाई इँटाभट्टामा जिउँदै जलाएको आरोप छ । उनको मुद्दा अहिले अदालतमा विचाराधीन छ ।
त्यस्तै, भ्रष्टाचारको आरोप खेपेका पूर्वमन्त्री टेकबहादुर गुरुङ पनि कांग्रेसबाट प्रतिनिधिसभातर्फ उम्मेदवार सिफारिस भएका छन् । मनाङ कांग्रेसको जिल्ला कमिटीले गुरुङलाई एकल र सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गरेको हो । तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारमा श्रममन्त्री रहेका वेला उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको अभियोगमा मुद्दा परेको थियो । भृकुटीमण्डपको ६० रोपनी जग्गा भाडा लगाउँदा ३१ करोड ५२ लाख १७ हजार अनियमितता भएको दाबी गर्दै पूर्वश्रममन्त्री र गुरुङसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघमा ०७५ मा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । यद्यपि मुद्दाको छिनोफानो भएको छैन, तर उनी उम्मेदवार बन्ने पक्का भएको छ ।
त्यस्तै, भ्रष्टाचार मुद्दा खेपिरहेका विजयकुमार गच्छदारलाई पनि कांग्रेसले उम्मेदवार बनाउँदै छ । सुनसरी ३ को क्षेत्रीय कार्यसमितिले सर्वसम्मत रूपमा उनको मात्रै नाम उम्मेदवारका रूपमा सिफारिस गरिसकेको छ । बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा पास गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसहितका व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । मुद्दाको टुंगो लागेको छैन । तर, सुनसरी कांग्रेसबाट उम्मेदवारको सिफारिस सूचीमा उनको नाम एकल परेको छ ।
त्यस्तै, एमालेले प्रहरी जवानको हत्या अभियोगमा अदालतबाट सर्वस्वसहित जन्मकैद सजाय पाएका रामशंकर यादव पनि उम्मेदवार बनाउने भएको छ । स्वर्गीय कांग्रेस नेता प्रदीप गिरिको निर्वाचन क्षेत्र मानिएको सिराहा १ बाट उनी एकल उम्मेदवार सिफारिस भएका हुन् । यादव प्रहरी जवान हत्या गरेको अभियोगमा सजायसमेत पाइसकेका व्यक्ति हुन् । प्रहरीले ०६९ मा पक्राउ गरेर जेल चलान गरेको थियो । तर, संविधान दिवसका अवसरमा ०७६ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाएर जेलमुक्त भएका थिए ।
त्यस्तै, ०७२ भदौको टीकापुर हत्याकाण्डमा मुछिएका निलम्बित सांसद रेशम चौधरी पनि बर्दिया २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् । उनी हाल डिल्लीबजारस्थित कारागारमा छन् । नागरिक उन्मुक्ति पार्टीले सर्वसम्मत रूपमा उनलाई उम्मेदवार सिफारिस गरेको हो । ०७४ को निर्वाचनमा कैलाली १ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका चौधरी यसपटक जेलबाटै नयाँ पार्टी खोलेर चुनावमा होमिँदै छन् ।
के छ कानुनमा ?
प्रतिनिधिसभा ऐन, २०७४ मा विभिन्न १० वटा अवस्थामा उम्मेदवार हुन अयोग्य रहने उल्लेख छ । जसको चौथो बुँदामा ‘भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री–वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा २० वर्ष वा सोभन्दा बढी कैद सजाय पाई त्यस्तो फैसला अन्तिम भएको अवस्था’मा उम्मेदवार बन्न नपाइने उल्लेख छ । त्यस्तै, पाँचौँ बुँदामा संगठित अपराधसम्बन्धी कसुरमा कैद सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैद सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पूरा नभएको व्यक्ति पनि उम्मेदवार हुन अयोग्य भनिएको छ । त्यस्तै, नवौँ बुँदामा कैदमा बसेकोमा कैद बसेको अवधिभर उम्मेदवार नपाउने प्रावधान छ ।
यस्ता मान्छे आउँदा सरकारी संयन्त्रको कार्यसम्पादनमै असर पर्छ : हेमन्त मल्ल, पूर्वडिआइजी
दलहरूले गुन्डा चरित्रका, आपराधिक पृष्ठभूमिका, मुद्दा खेपिरहेका र जेलमा रहेका व्यक्ति लिएर चुनावमा जान खोज्नु साँच्चै डरलाग्दो हो । यसले मतदातामाझ पक्कै राम्रो सन्देश जाँदैन ।
खासगरी यस्ता व्यक्ति आफू सुरक्षित हुन र शक्ति बढाउन चुनावमा होमिन खोज्छन् । सांसद नहुँदै त उनीहरू आपराधिक गतिविधिमा संलग्न हुन्छन् भने झन् शक्तिमा पुगेपछि तिनको रवाफ के होला ? तिनले गर्ने कामकारबाही कस्तो होला ? दलहरूले गम्भीर भएर सोच्नुपर्ने पक्ष हो यो ।
सुरक्षा निकाय या सरकारी संयन्त्रकै कुरा गर्ने हो भने हिजो जसको गतिविधिविरुद्ध हामी सशक्त उभियौँ, अनुसन्धान गर्यौँ, मुद्दा चलायौँ, आज तिनैलाई सलाम ठोक्नुपर्ने अवस्था आउनु भनेको के हो ? यस्तो अवस्थामा सरकारी संयन्त्रले कुन मनोविज्ञानमा काम गर्ने ? मलाई लाग्छ, यस्ता मान्छे संसद् र सत्तामा आउनु भनेको सरकारी संयन्त्रको कार्यसम्पादनमै असर पुग्नु हो । आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई नै दलहरूले उम्मेदवार बनाउनु भनेको एक हिसाबले सुरक्षा निकाय र न्यायिक प्रक्रियामा खटिने कर्मचारीमाथि नै गरेको प्रहार हो ।
चुनावमा कलाकार : ‘रिल’बाट ‘रियल’तिर
‘रिल’बाट ‘रियल’तिर प्रवेश गर्न खोजेका कलाकार कतिपय पार्टीबाट सिफारिस भएका छन् भने केहीले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् ।
चुनावी मौसममा कला क्षेत्र पनि तातेको छ । कैयौँ कलाकार आफैँ उम्मेदवार बन्ने दौडमा छन् । ‘रिल’बाट ‘रियल’तिर प्रवेश गर्न खोजेका कलाकार कतिपय पार्टीबाट सिफारिस भएका छन् भने केहीले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् ।
एक समय थियो जतिवेला कलाकार दलहरूको चुनावी प्रचार गर्ने हतियार मात्रै हुन्थे । पार्टीले उनीहरूलाई उम्मेदवार बनाउने आश्वासन त दिन्थ्यो, तर अन्त्यमा जिल्ल बनाउँदै भोट माग्न खटाउँथ्यो । तर, आसन्न निर्वाचनमा कैयौँ कलाकार आफैँ मैदान उत्रँदै छन् ।
कांग्रेस, एमाले र राप्रपाले केही क्षेत्रबाट कलाकार उम्मेदवारका रूपमा सिफारिस गरेका छन् । केही क्षेत्रमा कलाकर्मी ‘हेभिवेट’ उम्मेदवारविरुद्ध नै स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारीमा छन् ।
एमालेबाट राष्ट्रिय सभा सदस्य भइसकेकी गायिका कोमल वली यसपटक दाङ ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएकी छिन् । एमाले क्षेत्रीय कमिटी बैठकले उनीसहित उपाध्यक्ष युवराज ज्ञवाली र केन्द्रीय सदस्यद्वय घनश्याम पाण्डेको नाम सिफारिस गरेको छ ।
राप्रपा छाडेर एमाले प्रवेश गरेकी वलीले राजनीतिमै सक्रिय हुनका लागि रेडियो नेपालको जागिर छाडेकी थिइन् । उनलाई एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय सभा पुर्याएका थिए । हाल उनी एमालेको केन्द्रीय सदस्य छिन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य अभिनेत्री रेखा थापा चुनाव लड्ने पक्का भएको छ । उनी मोरङ ३ बाट प्रत्यक्षतर्फ सिफारिस भएकी छिन् । उनको घर पनि यही क्षेत्रभित्र पर्ने सुन्दरहरैँचामा छ । यहाँबाट थापासँगै अम्बिकाप्रसाद अधिकारीको नाम पनि सिफारिस भएको छ ।
पहिलो नम्बरमा सिफारिस भएकी रेखा नै उम्मेदवार हुने सम्भावना बलियो रहेको मोरङका केन्द्रीय कमिटी नेता विवेक क्षेत्रीले बताए । ‘रेखाको नाम त्यताबाट सिफारिस भएर केन्द्रीय कमिटीमा आइसकेको छ । उनले चुनाव लड्ने सम्भावना बलियो छ,’ उनले भने ।
०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा मोरङ ३ बाट एमाले नेता भानुभक्त ढकालले जितेका थिए । त्यतिवेला ढकालसँग कांग्रेस उम्मेदवार सुनील शर्मा थोरै मतान्तरले पराजित भएका थिए ।
हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ कांग्रेसबाट उम्मेदवार सिफारिस भएका छन् । उनी सर्लाही ४ को ‘क’बाट प्रदेश सभा समानुपातिकतर्फ सिफारिस भएका हुन् । उनको नाम एक नम्बरमा राखेर सिफारिस गरिएको छ । रिजाल स्वयंले फेसबुकमार्फत आफू सिफारिसमा परेको जानकारी दिएका छन् ।
कांग्रेसनिकट सांस्कृतिक संघमा आबद्ध रिजाल यसअघिको चुनावमा पनि उम्मेदवार बन्ने प्रयत्नमा थिए । तर, त्यतिवेला अन्तिम समयमा टिकट नपाएका उनी यसपटक भने सिफारिसमा परेका हुन् । फेसबुकमा उनको घोषणाले चुनाव लड्ने सम्भावना छ ।
फिल्म ‘कालो पोथी’ निर्देशन गरेर नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन सफल निर्देशक मीनबहादुर भाम पनि संसदीय निर्वाचनमा कांग्रेसतर्फबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन् । मुगुको छायाँनाथ–रारा नगरपालिका– ४ का भामलाई कांग्रेसले पिछडिएको क्षेत्र र खस–आर्यतर्फको क्षेत्रबाट सर्वसम्मत सिफारिस गरेको हो ।
०५४ देखि ०५६ सम्म नेविसंघ मुगुमा बसेर काम गरेका उनी ०७८ मा पार्टीको सूचना तथा सञ्चार विभागको केन्द्रीय समितिमा समेत सदस्य थिए । नयाँ फिल्म ‘चिसो वर्ष’को छायांकन तयारी गरिरहेका उनी यहीबीचमा उम्मेदवार सिफारिस भएका हुन् ।
त्यस्तै, चलचित्र निर्माता रोज राणा पनि कांग्रेस प्युठानबाट प्रदेश सभा सदस्य उम्मेदवारमा प्रत्यक्षतर्फ सिफारिस भएका छन् । कांग्रेसका क्षेत्रीय सभापतिसमेत रहेका उनको नाम सिफारिसको पहिलो नम्बर छ । प्युठानको प्रदेश सभातर्फ (ख) क्षेत्रका लागि राणासहित मेनका घिमिरे र शालिकराम पण्डितको पनि नाम सिफारिस भएको छ ।
विगतमा पनि कलाकारले चुनावी मैदानमा उत्रने मन बनाएका थिए । तर, कसैलाई पार्टीले पत्ताएन, कसैको मतदाता नामावलीमा नाम नै भेटिएन । दोस्रो संविधानसभा चुनावमा एमालेले भुवन केसीलाई काठमाडौं १ बाट उम्मेदवार बनाउने चर्चा थियो, तर पछि टिकट अर्कैले पाए । त्यसपछि एमाले त्यागेर हालै मात्र कांग्रेस प्रवेश गरेका केसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका छन् ।
प्रचण्डसँग कम्मर मर्काएर चर्चामा आएकी रेखा थापा पनि कुनै वेला माओवादीबाट पर्सा १ को उम्मेदवार बन्ने चर्चा थियो । तर, पछि ‘प्राविधिक कारण’ भन्दै उनी उठ्न सकिनन् । खासमा उनको नाम मतदाता नामवली सूचीमा थिएन।
ओली र बाँस्कोटाविरुद्ध स्वतन्त्र उम्मेदवारी
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको चुनावी क्षेत्रबाट हास्यकलाकार कुमार कट्टेल ‘जिग्री ब्रो’ले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । झापा ५ बाट उनले उम्मेदवारी दिने तयारी गरेका हुन् । सामाजिक अभियन्ता सुमन सायमीले नेतृत्व गरिरहेको स्वतन्त्र उम्मेदवारको लौरो अभियानअन्तर्गत नै उनी उम्मेदवार बन्न लागेका हुन् ।
त्यस्तै, यही अभियानअन्तर्गत काठमाडौं ५ बाट हास्य कलाकार मधुसूदन पाठकले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । हास्य सिरियल ‘सक्किगोनी’मा ‘सिते बा’को चरित्रमार्फत उनी दर्शकमाझ प्रिय छन् ।
त्यस्तै, ‘दासढुंगा’, ‘वधशाला’, ‘द ग्रेटर नेपाल’जस्ता राजनीतिक मुद्दामा फिल्म बनाएर चर्चामा आएका फिल्म निर्देशक मनोज पण्डित पनि यसपटक प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा छन् । पण्डितले संघीय संसद्को चुनावमा एमाले नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाविरुद्ध काभ्रे २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी स्थानीय निर्वाचनकै वेलादेखि घरदैलो अभियानमा समेत जुटिसकेका छन् । बाँस्कोटाको ७० करोड भ्रष्टाचार गरेको आरोपलाई उनले चुनावी मुख्य एजेन्डा बनाएका छन् ।
तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री हुँदा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा उनलाई ७० करोड भ्रष्टाचारको आरोप लागेको थियो । त्यसपछि पदबाट राजीनामा दिएका उनले एक सार्वजनिक कार्यक्रममा ‘७० करोड मात्रै हो र, ७० अर्ब हान्देको, निजी खाइदिएको हो र ?’ भन्ने अभिव्यक्ति दिएपछि आफू उम्मेदवारी दिने मनसायमा पुगेको निर्देशक पण्डितले बताएका छन् । ‘बाँस्कोटाको धम्कीपूर्ण अभिव्यक्तिले नागरिकलाई गिज्याएको महसुस भयो । त्यसैले संसदीय निर्वाचनमा यो प्रवृत्तिविरुद्ध उम्मेदवारी दिने घोषणा गरेको हुँ । एक भोट नै किन नआओस्, चुनाव लड्छु । जित्नका लागि भन्दा पनि मुद्दाका लागि लड्दै छु, खराब राजनीतिक प्रवृत्तिविरुद्ध लड्दै छु,’ पण्डितले भने ।
एमालेबाट पनि थुप्रै ठेकेदार र व्यवसायी उम्मेदवार सिफारिस
एमालेबाट पनि प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकमा ठेकेदार र व्यावसायिक पृष्ठभूमिका थुप्रै व्यक्ति उम्मेदवार सिफारिस भएका छन् । चर्चित मेडिकल व्यवसयी दुर्गा प्रसाईंदेखि उद्योगपति मोतीलाल दुगडसम्म एमालेबाट उम्मेदवारको दौडमा छन् ।
एमाले केन्द्रीय सदस्यसमेत रहेका प्रसाईं झापा– ३ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भइसकेका छन् भने अहिले समानुपातिक सांसद रहेका प्रसाईं मोरङको कुनै क्षेत्रबाट उम्मेदवारी दिने योजनामा छन् । त्यस्तै, अल्फाबिटाका सञ्चालक द्विराज शर्मा सिवाकोटी काठमाडौं– १ बाट एमालेबाट सिफारिस भएका छन् ।
त्यस्तै, रसुवाबाट निर्माण व्यवसायी जनार्दन ढकाल प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने तयारीमा छन् । उनी ०७० मा रसुवाबाट निर्वाचित भए पनि ०७४ को निर्वाचनमा पराजित भएका थिए । झापा– ४ बाट वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष लालप्रसाद (एलपी) साँवा लिम्बू सिफारिस भएका छन् । एमालेनिकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको अध्यक्षसमेत रहेका उनी अहिले पनि प्रतिनिधिसभाका सांसद हुन् ।
त्यसैगरी, मनाङमा दक्षिण एसियाकै ठूलो स्याउ फार्म खोलेका प्रतिनिधिसभाका सांसद पोल्देन छोपाङ गुरुङ पुनः उम्मेदवारका लागि सिफारिस भएका छन् । त्यस्तै, पर्सा १ बाट नेसनल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारी, २ बाट व्यवसायी तथा वीरगन्ज उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष विजय सराबगी उम्मेदवार सिफारिस भएका छन् ।
दोलखाबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्माण व्यवसायी सहदेव खड्का, प्रदेश सभा (क)मा अर्का निर्माण व्यवसायी विदुर शर्माको नाम सिफारिस भएको छ । त्यस्तै, रामेछापबाट प्रतिनिधिसभाका लागि निर्माण व्यवसायी रत्न गौतमको नाम सिफारिस भएको छ ।
कांग्रेसबाट सिफारिस व्यवसायी
कांग्रेसबाट व्यवसायी उद्योगी पृष्ठभूमिका राज्यमन्त्री उमेश श्रेष्ठदेखि चर्चित उद्योगपति विनोद चौधरीसम्मका व्यक्ति प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् ।
श्रेष्ठ चितवन– १ र चौधरी नवलपरासी– १ र नवलपुरको १ र २ नम्बरसहित तीनवटा क्षेत्रबाट सिफारिस भएका छन् । ०७० मा एमालेबाट समानुपातिक सांसद बनेका चौधरी ०७४ मा दल फेरेर कांग्रेसबाट समानुपातिकबाट सांसद बनेका थिए । चौधरी नवलपुर– २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने सोचमा रहेको बताउँदै आएका छन् ।
अघिल्लोपटक समानुपातिक सांसद रहेका लिटिलएन्जल स्कुलका संस्थापक श्रेष्ठ यसपटक भने प्रत्यक्षतर्फ नै उम्मेदवार बन्ने तयारीमा छन् । उनी पनि कांग्रेसका केन्द्रीय सदस्य छन् । चर्चित निर्माण व्यवसायी जिपछिरिङ लामा दोलखाबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् । उनी दुईपटक समानुपातिकबाट सांसद भइसकेका छन् । लामाले यसपटक आफू प्रत्यक्षतर्फ इच्छुक नरहेको बताउँदै आएका छन् ।
निर्माण व्यवसायसँगै राजनीतिमा उदाएका मकवानपुरका इन्द्र बानियाँ कांग्रेसको बागमती प्रदेश सभापति छन् । अहिले मकवानपुर २ (ख) बाट प्रदेश सभा सांसद रहेका उनी सोही क्षेत्रबाट प्रतिनिधिसभाका लागि सिफारिस भएका छन् ।
त्यस्तै, निर्माण व्यवसायी भीमबहादुर साउद, घरजग्गा व्यवसायी इच्छाबहादुर वाग्ले, मेडिकल कलेज व्यवसायी सुनील शर्मा, शिक्षा व्यवसायी तेजुलाल चौधरी, निर्माण व्यवसायी मोहन आचार्य, वीरगन्जका व्यवसायी अनिल रुंगटा, निर्माण व्यवसायी अमरसिंह पुन, पर्यटन व्यवसायी राजेन्द्र बजगाईंदेखि होटेल व्यवसायी दीपक खड्कालगायत कांग्रेसबाट उम्मेदवारका लागि सिफारिस भएका छन् । होटेल व्यवसायी खड्का संखुवासभाबाट सिफारिस भएका छन् । उनी अघिल्लोपटक पनि उम्मेदवार बनेर पराजित भएका थिए ।
निर्माण व्यवसायी पृष्ठभूमिका भीमबहादुर साउद डडेल्धुराबाट प्रदेश सभामा सिफारिस भएका छन् । होटेल व्यवसायी तथा घरजग्गा व्यवसायी संघका अध्यक्षसमेत रहेका इच्छाबहादुर वाग्ले बारा– ३ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् ।
म्यानपावर व्यवसायी पृष्ठभूमिका तिलक रानाभाट कास्कीबाट प्रदेश सभाको प्रत्यक्षतर्फ सिफारिस भएका छन् । ‘क’ वर्गको निर्माण व्यवसायी मोहन आचार्य रसुवाबाट पुनः प्रतिनिधिसभाका लागि सिफारिस भएका छन् । उनी अहिले पनि प्रतिनिधिसभाका सांसद हुन् ।
उद्योगपति अनिल रुंगटालाई कांग्रेसले पर्सा– १ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उठाउने तयारी गरेको छ । पर्यटन व्यवसायी राजेन्द्र बजगाईं गोरखा– १ बाट प्रतिनिधिसभाबाट सिफारिस भएका छन् । त्यस्तै, दोलखाको प्रदेश (ख)मा प्रदेश सभाको प्रत्यक्षतर्फ निर्माण व्यवसायी पृष्ठभूमिका युधिष्ठिर खड्का उम्मेदवार बनेका छन् । सिन्धुपाल्चोक– १ को प्रदेश सभा (ख) मा यातायात व्यवसायी पृष्ठभूमिका केदार क्षेत्री कांग्रेसबाट सिफारिस भएका छन् ।
अख्तियारमा मुद्दा चलेका विध ल्याबका सञ्चालक माओवादीबाट सिफारिस
माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेका पूर्वनायब सुब्बा भीमकान्त भण्डारीलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको छ ।
गुल्मी– २ बाट सिफारिसमा परेका भण्डारीलाई गत ३ असारमा आयोगले ६ करोड रुपैयाँभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
उनी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुढी, झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायकका रूपमा कार्यरत थिए । उनी हाल विध ल्याबका सञ्चालकसमेत हुन् । १ साउन ०७७ मा भण्डारी सरकारी सेवाबाट बाहिरिएका थिए ।
प्रचण्डको क्षेत्रमा विक्रम पाण्डेको तयारी
राप्रपा महामन्त्री विक्रम पाण्डे चितवन– ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्दै छन् । निर्माण व्यवसायीसमेत रहेका पाण्डे माओवादी अध्यक्ष प्रचण्डसँग प्रतिस्पर्धा गर्ने तयारीमा छन् । ०७४ मा वाम गठबन्धनका उम्मेदवार प्रचण्डसँग पराजित पाण्डे यसपटक भने एमालेसँगको तालमेलमा उम्मेदवारका रूपमा अगाडि आउँदै छन् ।
विवेकहीन र स्वार्थले गाँजेको राजनीतिमा यस्तै हुन्छ : लोकराज बराल राजनीतिक विश्लेषक
सिद्धान्ततः आपराधिक पृष्ठभूमिबाट आएका विवादस्पद व्यक्तिलाई कहीँ पनि लिनुहुँदैन भन्ने हो । तर, दक्षिणा एसियामा भन्नुस् या भारतमै, यस्ता सांसदको संख्या धैरे छ । यस्तै मान्छे मन्त्री छन्, सांसद छन् । हामीकहाँ पनि अहिले देखिएको यो प्रवृत्ति त्यसकै प्रभाव हो । यस्तै मान्छेले पार्टीलाई अनेक हिसाबले प्रभावित पारेका हुन्छन् ।
आर्थिक हिसाबले पनि उनीहरूबाटै पार्टीले फाइदा उठाइरहेको हुन्छ । पार्टीका नेताको मनोविज्ञान जसरी पनि चुनाव जित्नुपर्छ, सिट संख्या बढाउनुपर्छ भन्ने हुन्छ । त्यसैले उनीहरू यस्ता पृष्ठभूमिका व्यक्तिलाई सांसद बनाउन तयार देखिएका हुन् ।
विवेकहीन र स्वार्थको राजनीतिमा यस्तै हुन्छ । जसले जित्छ, जसले पैसा खर्च गर्न सक्छ, उसैले टिकट पाउने राजनीतिमा नैतिकता र विवेक हुँदैन । यो राम्रो हुँदै होइन । तर, अहिलेको राजनीतिक नेतृत्वबाट यो विकृत रोकिएला भन्ने अपेक्षा गर्न सकिँदैन ।
अनुचित प्रभाव पर्छ भन्ने लाग्दैन : राधेश्याम अधिकारी कानुनविद् तथा राष्ट्रिय सभा सांसद
निर्माण व्यवसायी र व्यापारी उम्मेदवार सिफारिस भएर राजनीतिमा आउनेलाई नराम्रो मान्नुहुन्न । यसलाई व्यवसायी पनि देश निर्माणमा संलग्न छन् भनेर पनि बुझ्नुपर्छ ।
यदि जनताले निर्वाचित गरे भने संसद्मा उनीहरूको सम्मानजनक सहभागिता इन्कार गर्नुहुँदैन । उनीहरू संसद्मा हुँदा अनुचित प्रभाव पर्छ भन्ने लाग्दैन । मुख्य कुरा सरकारका नियामक निकायले ठीक ढंगले काम गर्न नसक्दा समस्या भएको हो ।
ती व्यक्ति संसद्मा आउँदैमा समस्या हुने होइन । नियामक निकायलाई बलियो बनाउँदा जोसुकै व्यवसायी उम्मेदवार भए पनि, निर्वाचित भए पनि केही प्रभाव पर्दैन । सरकारी नियामक निकाय बलियो बनेको अवस्थामा बरु व्यावसायिक पृष्ठभूमिका मान्छे सांसद भए पनि उनीहरूको नकारात्मक प्रभाव कटौती हुँदै जान्छ ।
अभियोग लागेका व्यक्ति पनि सिफारिस भए भन्ने जहाँसम्म सवाल छ, अहिले उनीहरूलाई अभियोग मात्र लागेको छ । कानुनको विधिशास्त्रबाट हेर्दा अभियोग लाग्दैमा कोही–कसैलाई दोषीका रूपमा हेर्न मिल्दैन । फैसलाबाट दोषी करार भएको अवस्थामा मात्र उनीहरूलाई अर्को दृष्टिबाट हेर्नुपर्ने हुन्छ । अभियोग लागेको व्यक्ति पनि लोकप्रिय छ भन्ने पार्टीलाई लागेको अवस्थामा उम्मेदवारका रूपमा अगाडि सार्न सक्छन्, तर उनीहरूलाई जनताले तिरस्कार गर्न सक्छन् ।
कांग्रेसमा टिकट किनबेच भएको पूर्वराष्ट्रपतिको आरोप
पूर्वराष्ट्रपति डा. रामवरण यादवले कांग्रेसमा विधि र आदर्शको पालना हुन छाडेको बरु टिकट किनबेच हुन थालेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहमा यादवले कांग्रेसकोे अवस्था रामराम भन्नुपर्ने रहेको सुनाए । ‘बिपीको जेल डायरी, बिपीको आत्मवृत्तान्त र बिपीले बोलेका राजनीति विषय कांगे्रसीलाई पढ्न फुर्सद छैन । सोझै कांग्रेस छिर्छन्, किनकि टिकट किन्ने कांग्रेसी बनेको छ । कांग्रेसमा लागेकालाई फुर्सद छैन, पैसामा टिकट बेचिरहेको छ,’ उनले भने ।
यादवले कांग्रेसमा योगदान गर्नेभन्दा अवसरवादीको मूल्यांकन बढी हुँदै गएको बताए । कांग्रेसले पुर्खाको योगदान बिर्सिएर जनतामा जान गठबन्धन गर्नु जायज नभएको उनको टिप्पणी छ । ‘कांग्रेसको त्यस्तो पुर्खा भएर पनि अहिले अंशबन्डा गरिरहेको छ । जनताबीच जान पनि अरू पार्टीसँग अंशबन्डा गरिरहेको छ । कांग्रेसबारे रामराम भन्ने वेला भइसकेको छ,’ उनको भनाइ थियो ।