नेपाल भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् । उनी प्यानलसहित विजयी भएका हुन् । बिहीबार बिहान मत परिणाम सार्वजनिक भएको हो । चन्द पक्षबाट उम्मेदवारी दिएका रोशन श्रेष्ठ महासचिवमा विजयी भए । काठमाडौंमा बुधबार सुरु भएको चुनावी साधारणसभाबाट बिहीबार बिहान मात्रै नयाँ अध्यक्ष पाएको थियो ।
अघिल्लो कार्यकाल महासचिव रहेका चन्दले उपाध्यक्षसमेत रहेकी निरोज मास्केलाई पराजित गरेका हुन् । निर्वाचनमा एक सय २८ मतमध्ये चन्दले ७६ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी मास्केले ५० मत पाइन् । यस्तै, महासचिवमा निर्वाचित भएका श्रेष्ठले मनवीर छन्त्याललाई ८५–३९ मतअन्तरले हराए । संघको उपाध्यक्ष पदमा बागमती प्रदेशबाट गौतमप्रसाद लासिवा विजयी भए । उनले ज्योति केसीलाई पछि पारेका छन् ।
गण्डकीबाट यमबहादुर गुरुङ, मधेस प्रदेशबाट उपेन्द्रकुमार यादव, सुदूरपश्चिम प्रदेशबाट हर्कसिंह धामी, प्रदेश नम्बर १ बाट मदन खड्का, लुम्बिनी प्रदेशबाट भीम ओली उपाध्यक्षमा निर्विरोध निर्वाचित भए । भरतबहादुर शाहको उम्मेदवारी नै बदर भएको थियो । कोषाध्यक्षमा श्यामकृष्ण श्रेष्ठ विजयी भए । श्रेष्ठले मास्के समूहकी रिता कोइरालालाई पराजित गरे । सचिवमा सोमबहादुर श्रेष्ठ, महम्मद फिरोज, श्रीधर शर्मा, गणेशसिंह ठगुन्ना र सुनकेशरी माली निर्विरोध भए । यस्तै, झकबहादुर मिदुन र विनोद सुवेदी विजयी भएका छन् ।
यस्तै, सदस्यमा अञ्जु श्रेष्ठ, चन्द्रबदना राई, राजकुमार गुरुङ, जुनु पुनमगर, जितेन्द्र श्रेष्ठ, गंगा थापा श्रेष्ठ, कुमार राई, राजबहादुर खड्का, दीपक लामा, प्रवीण श्रेष्ठ, दिनेश श्रेष्ठ चार वर्षका लागि निर्वाचित भए । संघको कार्यसमिति ४१ सदस्यीय हुनेछ । जसमा २८ जना निर्वाचिन प्रक्रियाबाटआउँदा पूर्वअध्यक्षसहित १३ जना मनोनीत हुनेछन् ।