विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्र आउने पर्यटकलाई विनाटिकट प्रवेश गराउने पथप्रदर्शक र होटेल व्यवसायीलाई कारबाहीको दायरामा ल्याइने भएको छ।
पथप्रदर्शक र होटेल व्यवसायीको मिलेमतोमा विनाटिकट पर्यटक छिराएको तथ्य फेला परेपछि बौद्धनाथ क्षेत्र विकास समितिले कारबाहीको दायरामा ल्याउन लागेको हो। कारबाहीका लागि पहिलो चरणमा चुच्चेपाटीबाट जोरपाटी क्षेत्रमा रहेका होटेलको सूची तयार पार्न थालिएको समितिका कार्यकारी निर्देशक नयनकुमार लामाले जानकारी दिए।
समितिको टिकट काउन्टर बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने गरेको छ। होटेलमा आउने पर्यटक ५ बजे आएर राति बस्ने बिहान बौद्धनाथ क्षेत्रमा छिर्दा टिकट नलिने गरेको पाइएको समितिले जनाएको छ। होटेल व्यवसायी, पथप्रदर्शक र टिकट काउन्टरमा खटिने कर्मचारीको मिलेमतोमा समेत टिकट नलिएका पर्यटकलाई बौद्धनाथ क्षेत्रमा प्रवेश गराउने गरिएको छ।
होटेल, पथप्रदर्शक र टिकट काउन्टरका कर्मचारीको निगरानी गरी सुरक्षाकर्मीले जाँच गरेका वेला पर्यटकसँग टिकट माग्दा नपाएमा पथप्रदर्शक र पर्यटक बस्ने होटेललाई कारबाहीको दायरामा ल्याउनका लागि पहिलो चरणमा होटेल व्यवसयायीसँग समितिले छलफलसमेत गरेको छ ।
समितिले सार्क मुलुकका पर्यटकसँग रु. एक सय र सार्कबाहिरका पर्यटकसँग रु. चार सय शुल्क लिने गरेको छ। बौद्ध क्षेत्रमा मासिक हजारौँ पर्यटक अवलोकनका लागि आउने गरेका छन्।