१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २३ बिहीबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २३ बिहीबार o६:२५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१ असोजदेखि दसैँका लागि टिकट बुकिङ खुला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २३ बिहीबार o६:२५:oo

दसैँमा घर जान चाहनेहरूलाई लक्षित गरेर १ असोजबाट सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । बुधबार यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सडक विभाग, उपभोक्ता मञ्च र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको हो । हाललाई काठमाडौंबाट बाहिरिने र बाहिरका जिल्लाबाट उपत्यका आउने यात्रुलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरिएको यातायात व्यवस्था बिभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूले बताए । अन्तरप्रदेश, प्रदेश राजधानी तथा जिल्लास्तरको टिकट बुकिङ पनि छिट्टै खुलाउने तयारी भएको छ ।

दसैँ मनाउन घटस्थापनापछि काठमाडौंबाट दैनिक लाखौँ सर्वसाधारण बाहिरिने गर्छन् । यात्रुहरूले गाडी तथा टिकट नपाएर हैरानी व्यहोर्नु नपरोस् भनेर अग्रिम टिकट बुकिङ खुला गरिएको उनको भनाइ छ । व्यवसायीहरूले अनलाइनमार्फत टिकट बुकिङको व्यवस्था गर्ने पनि सहमति भएको छ । अनलाइन टिकट बुकिङ गर्ने यात्रुले छुट वा सहुलियत पाउनेछन् ।   अनधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिहरूबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतया निरुत्साहित गर्न अनलाइन उपयुक्त माध्यम भएको उनले बताए । 

यातायात आवागमनमा सहज बनाउन अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेकका ठूला सवारीसाधनलाई नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने सहमति भएको छ । यस्तै, यात्रुवाहक सवारीसाधनको रुट पर्मिट घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी खुला गर्ने सहमति पनि भएको छ । 

 प्रदेशस्तरको टिकट बुकिङ छिट्टै 
व्यवसायीहरूले हाललाई काठमाडौंबाट बाहिरिने यात्रुलाई लक्षित गरेर अग्रिम टिकट खुलाउने निर्णय गरेको हो । अन्तरप्रदेश, प्रदेश र जिल्लास्तरमा हुने यातायातको टिकट बुकिङ पनि छिट्टै खुलाइने अध्यक्ष स्वाँरले बताए । ‘बुधबार हामीबीच जे निर्णय भएको छ, सोही निर्णयसहित महासंघले आफ्नो प्रदेश तथा जिल्लाका शाखालाई अग्रिम टिकट खुलाउन पत्रचार गर्नेछौँ,’ उनले भने, ‘त्यसपछि प्रदेश र जिल्लास्तरमा पनि अग्रिम टिकट बुकिङ खुला हुन्छ ।’

 गाडी थप्ने छैन योजना 
यसअघि दसैँका वेलामा यातायात कम्पनीले करिब आठ सय नयाँ गाडी थप्दै आएका थिए । तर, यसपालि गाडी थप्ने योजनामा अधिकांश व्यवसायी छैनन् ।  अधिकांश कम्पनी गाडी थप्ने योजना नभएको महासंघका अध्यक्ष स्वाँर बताउँछन् ।कोभिडपछि यातायात व्यवसाय भर्खर माथि उठ्दै छ । तर, पछिल्लो समय अर्थतन्त्रमा देखिएको विभिन्न समस्याबाट यातायात व्यवसायी पुनः प्रभावित छन् ।  बैंकिङ क्षेत्रमा तरलता अभाव भएका कारण ऋण लिएर पनि गाडी किन्ने अवस्था छैन ।

‘दसैँमा हुने मागअनुुसार हामी गाडीको व्यवस्था गर्छौँ, यात्रु कम हुने रुटको गाडी लिएर हुन्छ वा अन्य कुनै माध्यमबाट मागअनुसारको आपूर्ति हुन्छ,’ उनले भने, ‘तर, नयाँ गाडी थप्न सक्ने अवस्था भने छैन । यद्यपि, एक रुटको गाडी अर्काे रुटमा चलाएर भए पनि हामी यात्रुलाई सहज रूपमा गन्तव्यमा पुर्‍याउन तयार छौँ ।’ दसैँमा नयाँ वर्षपार्कबाट मात्रै दैनिक १५ सय बस बाहिरिन्छन् । नागढुंगा नाकाबाट दैनिक ३५ सय सार्वजनिक गाडी बाहिरिन्छ । त्योबाहेक चोभार, साँगा नाकाबाट पनि धेरै गाडी बाहिरन्छन्, त्योअनुसार दसैँको वेला काठमाडौंबाट पाँच हजारभन्दा बढी गाडी बाहिरिन्छ ।

गाडी भाडा नबढ्ने 
दसैँको समयमा सार्वजनिक यातायातको भाडा नबढाउने सहमतिसमेत भएको छ । सार्वजनिक यातायातको भाडा कायम गर्न स्वचालित प्रणाली लागू भइसकेको छ । इन्धनको मूल्य बढेमा भाडा बढ्ने र घटेमा भाडा पनि स्वतः घट्ने प्रणालीको विकास भइसकेको छ । त्यहीअनुसार दसैँैंकै लागि भनेर छुट्टै भाडा नबढ्ने महासंघ अध्यक्ष विजयबहादुर स्वाँरले बताए ।