विश्वव्यापी तापमानलाई १.५ डिग्री सेन्टिग्रेटको लक्ष्यमै सीमित गर्दासमेत सन् २१०० सम्ममा यस क्षेत्रको एकतिहाइ हिमच्यादर बिलाइसकेको हुनेछ
हामीले यो गर्मीमा पाकिस्तानमा जे देख्यौँ, त्यो जलवायु प्रकोपभन्दा कम छैन । पहिले प्रारम्भिक तापलहर चल्यो, जसले वसन्तको अन्त्य गरिदियो, कृषिउपज घटायो र हिमनदी पग्लने दर बढायो । त्यसपछि कैयाैँ दिन बर्सिएको मनसुनले देशैभर तहसनहस निम्त्यायो । अहिले पनि एकतिहाइ पाकिस्तान पानीमुनि छ । बाह्र सयभन्दा धेरै मानिसको ज्यान गइसकेको छ भने तीन करोड ३० लाखभन्दा धेरै मानिस प्रभावित भएका छन् । यो विनाशकारी मनसुन अझै सकिएको छैन ।
अरब सागरको तापक्रम औसतभन्दा बढी भएकाले भारी वर्षा भएको बताउँछन् विज्ञहरू । देशको आधा खाद्यान्न उत्पादन गर्ने सिन्ध प्रान्तमा ९० प्रतिशत बाली नष्ट भएको छ । पाकिस्तानको आधा भूभाग ओगटेको बलुचिस्तानको ७५ प्रतिशत भौतिक संरचना आंशिक या पूरै क्षतिग्रस्त भएका छन् । मानिसका घरबास र खेतबारी डुबेका छन् । बाढीग्रस्त क्षेत्रका ६ लाख ५० हजार गर्भवती महिलामध्ये ७३ हजारले यसै महिना बच्चा जन्माउँदै छन् । उनीहरूले अकल्पनीय कठिनाइको सामना गर्दै छन् ।
म्यानमारदेखि अफगानिस्तानसम्म फैलिएको विशाल हिमाली क्षेत्रलाई ‘तेस्रो ध्रुव’ पनि भनिन्छ । यो चिसो हिमपर्खालले चीनसहित दक्षिण एसियाका पाकिस्तान, भारत, बंगलादेश, नेपाल, भुटानलगायत सात देशलाई छुट्याउँछ । यो क्षेत्र विश्वकै अग्ला हिमशिखर र अनगिन्ती हिमतालको क्षेत्र हो । पाकिस्तानको राजधानी इस्लामावादबाट सुदूर उत्तरी सहर गिलगिट र स्कार्दु धेरैमा एक घन्टाको उडान दूरीमा छन् । पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक आर्थिक समस्यामा पर्नुअघिका सुदिनहरूमा उसले एअर सफारी भनिने साप्ताहिक उडान चलाउँथ्यो । झ्यालको सिट पाउँदा तपाईं भाग्यमानी ठहरिनुहुन्थ्यो, मनमोहक दृश्यावलोकनको मजा उठाउने सौभाग्य प्राप्त हुन्थ्यो ।
ती उडानले यात्रुलाई आरामदायी सिटबाटै हिमाच्छादित आठ हजार मिटरभन्दा अग्ला हिमाल र हिमतालको दर्शनयात्रा गराउँथे । पाकिस्तानमा आठ हजार मिटरमाथिका पाँच हिमाल छन् । ध्रुवीय क्षेत्रपछि धेरै हिमताल पाकिस्तानमै छन् । हाई अल्टिच्युडमा खासै केही उब्जिँदैन । तर, तेस्रो ध्रुवले पानी भण्डारणको काम गर्छ । यिनै हिमशृंखलाबाट १० ठूला नदीहरू तल्लो क्षेत्रमा प्रवाहित हुन्छन्, जसले एक अर्ब ५० करोड मानिसको तिर्खा मेटाउँछन् । जब तपार्इं यो कुरा बुझ्नुहुन्छ, तपाईंले यी हिमशृंखला, उपत्यका र निरन्तर प्रवाहित जलप्रवाह र नदीहरूलाई फरक आलोकमा देख्न थाल्नु हुनेछ । यो अद्भूत, विस्मयकारी दृश्य कालान्तरमा नाङ्गो चट्टानमा परिणत हुनेछ भन्ने भविष्यवाणी साँच्चै भयानक लाग्छ ।
विश्वले विश्वव्यापी तापमानलाई १.५ सेन्टिग्रेटको लक्ष्यमै सीमित गर्न सक्दासमेत सन् २१०० सम्ममा यो क्षेत्रको एकतिहाइ हिम च्यादर पग्लिएर बिलाइसकेको हुनेछ । तर, तापक्रम त्यसभन्दा बढी नै हुँदै छ, त्यसले विनाशको दिनलाई नजिक्याउँदै लगेको छ । पाकिस्तानले भोगेको बाढी यो संकटको प्रारम्भिक संकेतमध्ये एक हो । जलवायु विपत्ति अहिले सबैले देख्न सक्ने गरी प्रकट भएको छ ।
यसका बाबजुद प्रमुख अर्थतन्त्रहरू कार्बन उत्सर्जन कटौतीको सहमतिमा पुग्न असफल छन् । अनगिन्ती शिखर सम्मेलन र अन्तर्राष्ट्रिय बैठकका बाबजुद अझै पनि हामी सन् २०५० सम्ममा उत्सर्जनलाई शून्यमा झार्ने लक्ष्यको मार्गमा छैनाैँ । पाकिस्तानजस्ता जलवायु परिवर्तनको सबैभन्दा जोखिममा रहेका देशका लागि हरेक असफल जलवायु शिखर बैठक दुःखद समाचार हुन् । धनी देशले उत्सर्जन कटौतीको विषयमा एकअर्कासँग झगडा गरिरहेको हेर्नु हाम्रा लागि निराशाजनक स्थिति हो । जबकि हामी जीवन र जीविकोपार्जनको मूल्य पहिलेभन्दा धेरै तीव्र दरमा भुक्तान गरिरहेका छौँ ।
पश्चिमा देशहरूको अकर्मण्यता र उदासीनताको प्रतिफल अहिले प्रकट हुँदै छ । पाकिस्तानको विश्वव्यापी उत्सर्जनमा योगदान एक प्रतिशतभन्दा पनि कम छ, जबकि जलवायु परिवर्तन र विश्वव्यापी तापमानको सबैभन्दा जोखिमपूर्ण मुलुकमध्ये यो एक हो । कोप–२७ यो वर्ष इजिप्टमा आयोजना हुँदै छ, तर त्यो पनि अपेक्षा पूरा गर्न सफल हुनेछैन । हामी त कोप–२६ मा पनि छौँ, तर जलवायु संकटको दरमा प्रतिक्रिया जनाउन मुख्य प्रदूषक देश असफल भएका छन् । फेरि पनि यही प्रवृत्ति दोहोरियो भने पाकिस्तानजस्ता देशका लागि सन्देश स्पष्ट हुनेछ : सबैभन्दा ठूला प्रदूषकहरू, लु, खडेरी र बाढीजस्ता घातक प्रतिकूल जलवायु घटनाहरूको बढ्दो प्रमाणका बाबजुद अझै पनि आर्थिक विकासमा सम्झौता गर्न अनिच्छुक छन् । उनीहरू आर्थिक विकासका लागि यो ग्रहलाई नष्ट गर्न उद्यत् छन् ।
यस्तो अवस्थामा पाकिस्तानजस्ता हरितगृह ग्यास उत्सर्जनमा खासै ठूलो हात नभएका, तर सबैभन्दा ठूलो जोखिममा रहेका देशले मिलेर धनी प्रदूषणकारीलाई जलवायु विपत्तिसँग जुझ्न कोष बनाउन दबाब दिन कोपभित्र दबाब समूह गठन गर्नेतर्फ विचार गर्नुपर्छ । जलवायु विपत्तिका प्रभावसँग जुझ्न र क्षतिहरूको भर्पाई गर्न गरिब देशलाई मद्दत गर्नका लागि कोष स्थापना गराँै भनेर हामी लामो समयदेखि आह्वान गरिरहेका छाँै । पाकिस्तानमा पछिल्लो जलवायु विपत्तिमा लाखौँ जीवन नष्ट भएको छ । हजारौँ परिवार पुनः गरिबीको रेखामुनि धकेलिएका छन् । कैयाैँ बालबालिकाले विद्यालय जान छोड्नुपर्ने भएको छ । थुप्रै आमाहरू प्रसूतिका बखत मर्नेछन् । यो बाढीको असर दीर्घकालीन र विपत्तिकारी हुनेछ । अहिले हामी संकटमा बाँचिरहेका छौँ, जुन हाम्रो सिर्जना होइन ।
(खोकर पाकिस्तानका सिनेट हुन्)
द गार्जियनबाट