प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने हर्कत नगर्न सरकारलाई चेतावनी दिएको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सरकारले प्रस्तुत गरेको केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफलमा सरकारलाई सचेत गराएका हुन्।
प्रतिनिधिसभाभित्र दुईखाले सांसद हुने अवस्था आउने गरी सो विधेयक अघि बढाए आफ्नो पार्टीलाई मान्य नहुने उनको अडान छ। निर्वाचनमा उम्मेदवारहरूको मनोनयन हुने दिन प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल सकिने भएकाले सो व्यवस्था मात्रै एमालेलाई मान्य हुने उनले प्रस्ट पारेका छन्।
‘निर्वाचनपछि पनि यसको कार्यकाल यथावत् राख्ने कुरा कति विरोधाभासपूर्ण हुन्छ, एकछिन अनुमान गरौँ त। मंसिर ४ गतेपछि लौ ५ गते नै कुनै निर्वाचन क्षेत्रको परिणाम आयो। एउटा भर्खरै जनताले मतदान गरेर जितेको सांसद हुन्छ। अर्को एउटा सांसद हुन्छ पाँच वर्षअघि जितेको। तर, लोगोचाहिँ उसैसँग हुन्छ। जनताले एउटै निर्वाचन क्षेत्रमा दुइटा सांसद हेर्नुपर्ने अवस्था हुन्छ। यस्तो खालको विरोधाभास कुरा कसरी परिकल्पना गर्छ यो सरकार ? कसरी कानुनमन्त्रीज्यूले यो परिकल्पना गर्नुभयो ?’ भट्टराईले प्रश्न गरे।