१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २१ मंगलबार
  • Wednesday, 23 October, 2024
२o७९ भदौ २१ मंगलबार o९:५o:oo
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

बाँके क्षेत्र नं. २ मा बहालवाला मन्त्री र पूर्वमेयरबीच टक्कर हुने

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २१ मंगलबार o९:५o:oo

बाँके कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार हो । योसँगै यी दुई प्रदेशको व्यापारिक, शैक्षिक तथा स्वास्थ्य उपचार गर्ने केन्द्र पनि हो  बाँकेको नेपालगन्ज । नेपालगन्जमा क्षेत्रीय विमानस्थल भएकाले कर्णाली र सुदूरपश्चिम प्रदेश जाने वेला देशका मुख्य नेताहरू केहीबेर रोकिने स्थान पनि हो नेपालगन्ज । 

त्यसैले बाँकेको अन्य निर्वाचन क्षेत्रभन्दा नेपालगन्जसमेत रहेको २ नं. क्षेत्रलाई ठूला, साना दलले विशेष चासोका साथ हेर्ने गरेका छन् । तीनवटा संघीय र ६ वटा प्रदेश क्षेत्र रहेको बाँकेमा क्षेत्र नंं. २ मा मधेसी तथा मुस्लिम समुदायको बाहुल्य छ । 

यो क्षेत्रमा नेपालगन्ज उपमहानगरपालिकाका १४ वटा वडा र डुडुवा गाउँपालिका पर्ने भएकाले अन्य क्षेत्रको तुलनामा क्षेत्र नं. २ को मत कता जान्छ भन्ने सहजै अनुमान गर्न सकिने अवस्था रहँदैन । 

हरेकपटकको मत परिणाम फरक–फरक आउने गरेकोले पनि यहाँका मतदाताले राजनीतिक आस्थाभन्दा व्यक्तिकेन्द्रित भएर भोट दिने गरेको स्पष्ट हुन्छ । यहाँको मत स्थिर नभई अस्थिर छ । 

०४८ सालको आमनिर्वाचनमा बाँकेको तीनवटै क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । त्यसपछि ०५१ सालको निर्वाचनमा तीनवटै क्षेत्रमा राप्रपाका उम्मेदवारले बाजी मारे । 

०६४ सालको संविधानसभा निर्वाचनमा क्षेत्र नं. १ बाट तिलक परियार, क्षेत्र नं. २ बाट मधेसी जनअधिकार फोरमका इस्तियाक अहमद राई र क्षेत्र नं. ३ बाट सोही पार्टीका सर्वदेव ओझा र क्षेत्र नं. ४ बाट माओवादी केन्द्रबाट पूर्णाकुमारी सुवेदी विजयी भएका थिए । ओझाले कांग्रेसका उपसभापति सुशील कोइरालालाई पराजित गरेका थिए । तर, उनै ओझा ०७० सालको निर्वाचनमा एक सय ७६ मतमा खुम्चिए । 

०७४ सालको निर्वाचनमा क्षेत्र नं. १ बाट एमाले–माओवादी केन्द्र गठबन्धनको तर्फबाट माओवादी केन्द्रका महेश्वर गहतराज, क्षेत्र नं. २ बाट संघीय समाजवादी फोरमका मोहम्मद इस्तियाक राई र क्षेत्र नं. ३ बाट एमाले–माओवादी केन्द्र गठबन्धनको तर्फबाट एमालेका नन्दलाल रोकाय विजयी भएका थिए । 

क्षेत्र नं. २ मा एमाले–माओवादी र कांग्रेस–राप्रपाबीच गठबन्धन भए पनि यो क्षेत्रमा तत्कालीन संघीय समाजवादी फोरमका अगाडि गठबन्धनको कुनै सीप चलेन । फोरमका राईले २१ हजार पाँच सय ७५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमाले–माओवादी गठबन्धनका पशुपतिदयाल मिश्रले १५ हजार नाै सय ५१ मत पाएका थिए । त्यसैगरी, कांग्रेस–राप्रपा गठबन्धनका ओमप्रकाश आजादले ११ हजार ६ सय २२ मतमा चित्त बुझाएका थिए ।

मोहम्मद इस्तियाक राई

अहिले पनि जनता समाजवादी पार्टीबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री मोहम्मद इस्तियाक राई चर्चामा छन् । उनी जसपाबाट बाँके क्षेत्र नं. २ बाट एकल सिफारिस भएका छन् । उनी नै यस क्षेत्रको निर्विकल्प उम्मेदवार भएको भन्दै जसपाले उनको नाम मात्र सिफारिस गरी केन्द्रमा पठाएर प्रचारप्रसार अभियान सुरु गरिसकेको छ । 

राप्रपाबाट नेपालगन्ज उपमहानगरका निवर्तमान मेयरसमेत रहेका महामन्त्री डा. धवलशमशेर राणा चुनाव लड्ने पक्काजस्तै छ । राप्रपाबाट पनि राणा एक मात्र दाबेदार हुन् । एमाले–राप्रपा गठबन्धन भएको खण्डमा पनि राणाले टिकट पाउने भएपछि यो क्षेत्रमा जसपाका राई र राणाबीच मुख्य प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ ।

पटक–पटक मन्त्रीको जिम्मेवारी सम्हालेका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री राईको लोकप्रियता नेपालगन्जमा मात्र नभई बाँकेको अन्य क्षेत्रमा पनि चुलिएको छ । कसैसँग नरिसाउने उनी विकासप्रेमी नेताको रूपमा परिचित छन् ।

बाँकेको विकासमा अतुलनीय योगदान पुर्‍याएकाले उनले मतदातामाझ राम्रो इमेज बनाएका छन् । सामान्य जीवनबाट राजनीतिमा आएका उनले मन्त्री भएको वेला विकासका धेरै योजना ल्याएर समुन्नत बाँके बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । 

सहरी विकासमन्त्री भएका वेला उनले भेरी अस्पतालको अत्याधुनिक नयाँ भवनका लागि बजेट विनियोजन गरे । अहिले उक्त भवन निर्माण पूरा भई सञ्चालनको तयारीमा छ । पुरानो भवन भत्काएर सुविधासम्पन्न नयाँ भवन निर्माणका लागि उनकै पहलमा ६ अर्ब रुपैयाँ विनियोजन भएको छ । 

उनले आइसियूका लागि उपकरणको व्यवस्था गर्नुका साथै नेपालगन्जको बाइपासलगायत २२ वटा सडक कालोपत्रे गर्न बजेट ल्याइसकेका छन् । धम्बोझी–गुलरिया सडक चार लेनका लागि बजेटको व्यवस्था गरेका उनले बैजापुर–कालाकाँटे जोड्ने हुलाकी सडकका लागि पनि बजेट विनियोजन गरेको बताए । 

त्यसैगरी, जमुनाह–राँझा सडक स्तरोन्नतिका लागि पनि उनले बजेट ल्याएका छन् । उक्त सडक अस्फाल्ट प्रविधिबाट कालोपत्रे गर्न बजेट विनियोजन भई ठेक्का प्रक्रियामा गइसकेको छ । नेपालगन्ज र कोहलपुरको पाँच ठाउँमा आकाशे पुल निर्माणको प्रक्रिया पनि अगाडि बढिसकेको उनले बताए । ‘म बाँकेमा जन्मिएँ । बाँकेमा हुर्किएँ । जे गर्छु बाँकेकै लागि गर्दै आएको छु र गर्नेछु,’ उनले भने । 

डा. धवलशमशेर राणा

उता, दुईपटक मेयर भएका राणाले नेपालगन्जको विकासमा उत्कृष्ट काम गरेको दाबी गर्दै आएका छन् । उनले आफू मतदातामाझ लोकप्रिय भएको बताएका छन् । नेपालगन्ज उपमहानगरको मेयर भएका वेला नेपालगन्जको विकासले फड्को मारेको भान नेपालगन्जवासीलाई परेको उनको बुझाइ छ।

एसियाली विकास बैंकको सहयोगमा नेपालगन्जका अधिकांश सडक कालोपत्रेसँगै  निर्माण भएकाले सर्वसाधारण मतदाताको मनमस्तिष्कमा राणाले इमानदार र विकासप्रेमी नेताको रूपमा छाप पारेको मान्ने गरिन्छ । 

पदमा बसेका वेला पनि राणाले पदको दुरुपयोग र भ्रष्टाचार नगरेको दाबी गर्दै उनले सरकारबाट पाउने पारिश्रमिकसमेत गरिब, दुःखी, असहाय र विभिन्न धार्मिक तथा सामाजिक संस्थालाई दिएकोले अरूभन्दा आफ्नो लोकप्रियता बढी भएको उनको बुझाइ छ । आफ्नो पालामा नेपालगन्जमा ल्यान्डफिल साइट निर्माण भई सञ्चालनमा आएको पनि उनले दाबी गर्दै आएका छन् । 

दिवाकर शर्मा खनाल

बाँके क्षेत्र नं. २ का अर्का बलिया उम्मेदवार हुन् दिवाकर शर्मा खनाल । नेपालगन्जका पुराना व्यापारीसमेत रहेका नेता दिवाकर खनालले पनि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनी शिव सेना नेपालनिकट मानिन्छन् । शिव सेनाको बलमा नै उनले उम्मेदवारी दिन लागेको जानकारहरू बताउँछन् । 

०५४ सालको स्थानीय निर्वाचनमा उनी एमालेका धवलशमशेर राणासँग झिनो मतान्तरले पराजित भएका थिए । उनले औसतमा शिव सेना र हिन्दू धर्ममा आस्था राख्ने र पहाडी मूलका मतदाताको मत पाउने भएपछि यसको धक्का राप्रपाका उम्मेदवार डा. धवलशमशेरलाई लाग्ने देखिन्छ । 

उम्मेदवारी घोषणासँगै उनले शिव सेना र हिन्दू मतदातासँगको दूरी नजिक बनाउँदै लगेका छन् । गेरु बस्त्र धारण गरेर हिँड्ने गरेका उनले हिन्दू राष्ट्र पुनर्स्थापनालाई मुख्य एजेन्डा बनाएका छन् ।

नेपालगन्जमा होटेल व्यवसाय सञ्चालन गर्दै आएका खनाल व्यापारी माझ लोकप्रिय मानिन्छन् । ‘प्रतिनिधिसभा सदस्यका लागि दिवाकर खनालको उम्मेदवार परे यसको असर राप्रपाका डा. धवलशमशेर राणालाई ठूलो असर पर्नेछ । यसको प्रत्यक्ष फाइदा जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद इस्तियाक राईलाई पुग्नेछ,’ नेपालगन्जका एक राजनीतिक विश्लेषकले भने ।