मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २१ मंगलबार ०७:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भारतीय सेनाध्यक्ष नेपाली सेनाका मानार्थ महारथी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २१ मंगलबार ०७:०६:००

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छिन् । राष्ट्रपति भवन शीतलनिवासमा सोमबार आयोजित औपचारिक समारोहमा भण्डारीले उनलाई मानार्थ महारथीबाट सुशोभित गरेकी हुन् । राष्ट्रपति भण्डारीले भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको महारथीको दर्ज्यानी चिह्न, खड्‍ग तथा प्रमाणपत्र प्रदान प्रदान गरेकी छिन् ।

‘नेपाल–भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्बन्धका साथै मित्रवत सैनिक सम्बन्धको निरन्तरतास्वरूप दशकौँदेखि नेपाली सेनाका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रहिआएको छ,’ नेपाली सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

भारत र नेपालबीच एक–अर्काका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन सात दशकदेखि रहिआएको छ । सन् १९५० मा भारतीय सेनाका सेनापति जनरल केएम करिअप्पालाई पहिलोपटक नेपाली सेनाकोे मानार्थ दर्जा प्रदान गरिएको थियो । गत वर्ष नोभेम्बरमा प्रधानसेनापति प्रभुराम शर्मालाई पनि भारतीय राष्ट्रपति रामनाथ कोविन्दद्वारा नयाँदिल्लीमा आयोजित एक समारोहमा भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो । 

भारतीय स्थल सेनाध्यक्ष पाण्डेले नेपाली सेनालाई २२ करोड ३८ लाख ३८ हजार तीन सय १० रुपैयाँबराबरका सैन्य सामग्री हस्तान्तरण गरेका छन् । मेडिकल उपकरण, माइन्ट प्रोटेक्टिभ भेइकल्स एउटा, चारवटा घोडचढी तथा मर्मतका सामान भारतीय सेनाध्यक्षले हस्तान्तरण गरेका हुन् । भारतीय सेनाले नेपाली सेनालाई ६० प्रतिशत मिनाहा गरेअनुसार नेपाली सेनाले यी सैनिक सामग्रीमा आठ करोड ९५ लाख रुपैयाँ तिरेको छ ।