१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २१ मंगलबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २१ मंगलबार o७:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
विश्व प्रिन्ट संस्करण

लिज ट्रस बेलायतकी नयाँ प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २१ मंगलबार o७:oo:oo

मार्गरेट थ्याचर र थेरेसा मेपछि प्रधानमन्त्री हुने तेस्रो महिला

कन्जरभेटिभ पार्टीको नयाँ नेता चुनिएसँगै लिज ट्रस बेलायतको प्रधानमन्त्री बन्ने भएकी छिन् । ट्रसले मंगलबार वर्तमान प्रधानमन्त्री बोरिस जोनसनलाई विस्थापित गरेर देशको कार्यकारी पद सम्हाल्नेछिन् । मार्गरेट थ्याचर र थेरेसा मेपछि उनी प्रधानमन्त्री हुने तेस्रो महिला हुनेछिन् ।

कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि भएको चुनावमा ४७ वर्षीया ट्रसले पूर्वअर्थतन्त्री ऋषि सुनकलाई पराजित गरेकी थिइन् । जुलाईमा सुनकले अर्थमन्त्रीबाट राजीनामा दिएपछि जोनसनको सरकार अल्पमतमा परेको थियो । त्यससँगै नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु भएको थियो । 

मंगलबार स्कटल्यान्डस्थित बालमोरल दरबारमा बिदामा रहेकी महारानी एलिजाबेथ द्वितीयासँग भेटेपछि ट्रस औपचारिक रूपमा प्रधानमन्त्री हुनेछिन् । त्यसअघि जोनसनले महारानीसामु राजीनामा पेस गर्नेछन् । एलिजावेथ द्वितीयाको ७० वर्षे लामो शासनमा ट्रस पन्ध्रौँ प्रधानमन्त्री हुनेछिन् । कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि पहिले ट्रससँगै आठजना उम्मेदवार थिए । ट्रसले सुरुदेखि नै आफू प्रधानमन्त्री भए करको दर कटौती र सानो सरकारको वाचा जनाउँदै आएकी छिन् । 

नेतृत्व दौडामा अन्तिम चरणमा ट्रससँग प्रतिस्पर्धामा रहेका ऋषि सुनकले मुद्रास्फीति नियन्त्रणमा नआएसम्म करको दर कटौती नगर्ने वाचा गरेका थिए । तर, सुनकको वाचाले नेतृत्वको चुनावका लागि मत हाल्ने एक लाख ६० हजार पार्टी सदस्यलाई तान्न सकेन । धेरै सदस्यहरू जोनसनको सरकार बहिर्गमनमा सुनकको भूमिकाप्रति उनीसँग रुष्ट थिए । सुनक र साजिद जाभिदले राजीनामा दिएपछि उत्पन्न परिस्थितिले जोनसनको पद धरापमा परेको थियो । 

लिज ट्रस कैयौँ राजनीतिक घुम्ती पार गरेर कन्जरभेटिभ पार्टीको नेतृत्वमा पुगेकी हुन् । वामपन्थी परिवारमा हुर्किएकी ट्रसका पिता गणितज्ञ थिए । उनकी आमा नर्स तथा शिक्षिका थिइन् । अक्सफोर्ड विश्वविद्यालयमा अध्ययनरत रहँदा उनी वैचारिक रूपमा मध्यमार्गी पार्टी लिबरल डेमोक्रेट्सकी सक्रिय सदस्य थिइन् । त्यसवेला उनले देशको राजतन्त्र अन्त्य गर्ने विषयमा जनमतसंग्रहको मागसमेत गरेकी थिइन् ।

तर, विश्वविद्यालयको अध्ययन सकिएलगतै उनी कन्जरभेटिभ पार्टी प्रवेश गरिन् । सन् २०१० मा पहिलोपटक संसद् प्रवेश गरेकी ट्रस डेभिड क्यामरुन, थेरेसा मे तथा बोरिस जोनसनको सरकारमा मन्त्री रहिन् । सन् २०१६ मा युरोपेली संघको सदस्यता त्याग्ने नत्याग्ने विषयमा भएको जनमतसंग्रहमा उनले संघभित्रै रहनुपर्ने पक्षमा अभियान चलाएकी थिइन् ।

मतपरिणाम संघबाट बेलायत छुट्टिनुपर्ने पक्षमा आएपछि उनले कित्ता परिवर्तन गरिन् र कडा ब्रेक्जिट पक्षधर भएर निस्किइन् । देशले अहिले दशकौँ यताको गम्भीर आर्थिक कठिनाइ सामना गरिरहेको समयमा प्रधानमन्त्री हुन लागेकी ट्रसको कार्यकाल कठिन हुने विज्ञको प्रक्षेपण छ ।

ad
ad
ad
ad