काभ्रेको बनेपामा नियन्त्रित औषधिसहित मेडिकल सञ्चालक पक्राउ परेका छन्। उनलाई डाक्टरको प्रेस्क्रिप्सनविनै नियन्त्रित औषधि बिक्री–वितरण गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार बिहीबार बनेपा नगरपालिका– ८ स्थित उदय मेडिकल हलका सञ्चालक सत्यश्वर मकै नियन्त्रित औषधिसहित पक्राउ परेका हुन्। उदय मेडिकल हलमा नियन्त्रित औषधि विनाप्रेस्क्रिप्सन बेचबिखन भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले मकैलाई पक्राउ गरेको प्रनाउ न्यौपानेले जानकारी दिए।
उक्त मेडिकल हलबाट नियन्त्रित औषधि मोकोन–पी ६५ थान ट्याबलेट, कोफ्टाब ३१ थान ट्याबलेट, डिसी क्लोमिन ट्याबलेट बिपी स्पास्मो एन्टिस्पास्मोडिक एक हजार उक सय २० थान, गाबावेल–१५० चार सय चार थान, स्टागन–२५ एक हजार ६ सय ४३ थान र डी–कोफ एक हजार दुई सय ८० थान ट्याबलेट प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका मेडिकल सञ्चालकलाई थप अनुसन्धान र कारबाहीका लागि औषधि व्यवस्था विभाग बिजुली बजार काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।